झापा । मेचीनगर नगरपालिकाले खाद्यन्न, उपचार र अन्य कुनै समस्या भए नगरपालिकामा सोझै सम्पर्क गर्न आग्रह गरेको छ । नगर प्रमुख विमल आचार्यले शनिबार प्रेस विज्ञप्ति जारी गरी समस्या परे सम्पर्क गर्न फोन नम्बर सार्वजनिक गर्नुभएको हो ।
उहाँले नगरबासीलाई घरभित्रै सुरक्षित बस्न आग्रह गर्दै समस्या परे नगरपालिकामा सम्पर्क गर्न नम्बर सार्वजनिक गर्नु भएको हो । खाद्यान्न र अत्यावश्यक स्वास्थ्य सेवा आवश्यक भए तत्काल नगरपालिकाको स्वास्थ्य शाखाको फोन नम्बर ९८४२६३८३२९ र विपत् व्यवस्थापन समितिका संयोजकको ९८०११०६०८५ मा सम्पर्क गर्न विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न र पूर्वीनाकामा कडाइ गर्न नगरपालिकाले सक्रियतापूर्वक विभिन्न कार्य गरिरहेको पनि जानकारी गराइएको छ।
मेचीनगर ७ स्थित सतिघट्टामा माइती नेपालको भवन, वडा नं ११ को धाइजनस्थित स्वास्थ्यचौकी, वडा नं ३ को वडाखालस्थित पशुपति माध्यमिक विद्यालय र वडा नं ४ सरस्वती माध्यमिक विद्यालय क्वारेन्टाइन बनाइएको नगरप्रमुख आचार्यले जानकारी दिनुभएको छ । क्वारेन्टाइनमा भारतलगायत विभिन्न मुलुकबाट फर्किएकालाई उचित प्रबन्धसहित राखिएको बताइएको छ ।
मेचीनगरका १५ वटै वडामा निसंक्रमणका लागि स्प्रे तयारी गरिएको र केही वडामा स्प्रे प्रारम्भ भइसकेको विज्ञप्तिमा उल्लेख छ । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीका लागि ५०० थान मास्क, ६० थान पिपिई र २० लि स्यानिटाइजर वितरण गरिएको, सबै वडामा रहेका स्वास्थ्य केन्द्र र एकाइका जनशक्तिलाई परिचालन गरिएको, नगर क्षेत्रका दुई एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको टोली आपत्कालीन अवस्थाका लागि परिचालन गरिएको र अन्तरराष्ट्रिय सीमा काँकरभिट्टाबाट नेपाल प्रवेश गरेका ८५ हजारभन्दा बढी यात्रुको इन्फ्रारेड थर्मामिटरबाट हेल्थ डेस्कमा ज्वरो स्क्रिनिङ गरिएको नगरप्रमुख आचार्यले जानकारी दिनुभएको छ ।
लकडाउनपछि नेपालका विभिन्न स्थानमा जाने यात्रुलाई गन्तव्य स्थानसम्म पु¥याउन सहजीकरण गरिएको र टोल विकास संस्थालाई परिचालन गरिएको विज्ञप्तिमा जनाइएको छ । नगरवासीलाई कहीँ कतै कुनै समस्या भए प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ (९८५२०५६६०१), वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती (९८५२६७२७५८) र खाद्य विश्लेषक दीपेन्द्र कार्की (९८५२६७७६७) सँग सोझै सम्पर्क गर्न सकिनेसमेत विज्ञप्तिमा उल्लेख छ ।