शम्भु दाहाल झापा । कोरोना भाइरसको संक्रमणका कारण बिश्व नै आतंकित भैरहेको अवस्थामा झापाका निजी अस्पतालले अस्पताल पुगेका बिरामीलाई उपचार गर्नुको साटो थर्काएर गेटैबाट फर्काउने गरेको खुलेको छ ।
देशैभरी लगडाउनका कारण हिडडुल समेत बन्द भइरहेको अवस्थामा झापाको बिर्तामोडमा संचालित अधिकाशं निजी अस्पतालले बिरामीलाई उपचारै नगरी फर्काउन थालेका हुन् ।
झापाको बिर्तामोडमा संचालित बिएण्ड सि, मनमोहन, बिर्तासिटी, अञ्जली, ओमसाई पाथिभरा र भद्रपुरको सरकारी अस्पताल मेची अञ्चल अस्पतालले आकस्मिक उपचारका निम्ति अस्पताल पुगेका बिरामीलाई गेटबाटै फर्काएका छन् ।
समान्य अवस्थामा नेपालकै सर्वोत्कृष्ट अस्पताल भन्दै प्रचार गर्ने बिर्तामोडस्थित बि एण्ड सि अस्पतालले निजी सुरक्षाकर्मी ‘मार्सल’ लगाएर थर्काउदै उपचारार्थ त्यहाँ पुगेका बिरामीलाई फिर्ता गरेको पीडितका आफन्तले बताएका छन् । अर्जुनधारा ११ का डेढ वर्षीय आश्वीन भारतीलाई झापाका कुनै अस्पताले उपचार नगरेपछी सिकिस्त अवस्थामा घरमै राखिएको उनका अभिभावकले बताए । उपचारका लागि भन्दै बुधबार उनीसहित उनका अभिभावकले झापाका बिभिन्न अस्पताल चारेपनि अस्पतालले भित्र पस्न समेत नदिएको उनीहरुको भनाई छ ।
त्यस्तै घरबाट लडेर बेहोस अवस्थामा रहेका बिरामीलाई समेत सोमबार मेची अञ्चल अस्पताल, भद्रपुरकै ओमसाई अस्पताल र मंगलबार बी एण्ड सी अस्पतालले प्रारम्भीक उपचार समेत नगरी फर्काएका छन् । बिहीबार कन्काई नगरपालिका वडा नम्बर १ का चित्रबहादुर दर्जी अचेत अवस्थामा घरमै रहेको पाइएको छ ।
त्यस्तै बी एण्ड सी र मनमोहनले समेत चिकित्सक नभएको निऊ बनाउदै बिरामीको प्रारम्भिक उपचार समेत नगरी गेटबाट फर्काइदिएको बिरामीका आफन्तले बताए । उनीहरुले यस्तो हिडडुलै बन्द भएको अवस्थामा कहाँ गएर उपचार गर्ने भन्दै आक्रोस पोखे ।
अस्पतालका संचालकहरुको यस्तो मनोमानी कार्यशैलीको बिरोध गर्दै झापा क्षेत्र नम्बर ३ का सासंद राजेन्द्र लिङ्देनले समेत सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । तर अस्पताल सञ्चालकहरु भने चिकित्सक र चिकित्सकको सुरक्षाका लागि आवश्यक सामाग्री (पीपीई) अभाव भएका कारण बिरामी लिन नसकिएको बताउछन् ।
संकटका बेला आम नागरिकलाई सहयोग गर्नुपर्ने जिम्मेबारी बोकेका निजी अस्पतालको यस्तो मनोमानीको समयमै नियमन गर्नु जरुरी छ ।