बन्दना पोखरेल पाल्पा । पूर्वखोलामा बाहिरबाट भित्रिएका नागरिकलाई शुक्रबारदेखि क्वारेन्टाइनमा राख्न थालिएको छ । पूर्वखोला गाउँपालिका-१, सिलुवा स्थित जनमार्ग माध्यमिक विद्यालयमा तयार पारिएको क्वारेन्टाइन कक्षमा १९ जनालाई राखिएको छ ।
आवश्यकता अनुसार प्रत्येक वडामा क्वारेन्टाइनकाे व्यवस्थापन गरिएको छ । गाउँपालिकाले निर्माण गरेको क्वारेण्टाइन कक्षमा भारतीय मुलुकबाट पूर्वखोला भित्रिएका नागरिकलाई सिधै क्वारेण्टाइन कक्षमा राखिएको छ । पूर्वखोलाका प्रत्येक वडामा १० वटाका दरले क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ भने वडा नम्बर-१ सिलुवामा ३० बेडको कक्ष निर्माण गरिएको छ ।
क्वारेण्टाइन कक्षमा राखिएका कसैलालाई पनि अहिलेसम्म कुनै त्यस्तो लक्षण नदेखिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकाले जानकारी दिनुभएको छ । तत्कालका लागि ८० शैयाको क्वारेन्टाइन कक्ष तयार पारिएको पालिका प्रमुख नुन बहादुर थापाले बताउनुभएको छ ।
गाउँपालिकाका प्रत्येक वडा वडामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहितको टोलि परिचालन गरिएको र बाहिरबाट रामपुर आएका नागरिकलाई सिधै क्वारेन्टाइनमा ल्याएर राखिने पालिका प्रमुख थापाले जानकारी दिनुभएको छ । केही दिन अघि भारत लगायत विभिन्न मुलुकबाट वडामा भित्रिएका नागरिकलाई स्वास्थ्य परीक्षण गरेर होम क्वारेण्टाइनमा बस्न सुझाव दिइएको वडा अध्यक्ष निलकण्ठ भट्टराईले बताउनुभएको छ ।
जनप्रतिनिधि समाजसेबी तथा स्वास्थ्यकर्मीसहितको टोलीले क्वारेण्टाइन कक्षको व्यवस्थापन, सरसफाई लगायतका कामहरु सम्पन्न गरेपछि शुक्रबार दिउँसोबाट क्वारेन्टाइन कक्षमा नागरिकलाई राख्न थालिएको हो ।
पूर्वखोला क्षेत्रमा हालसालै भारत लगायत विभिन्न मुलुकबाट करिव एक सय एघारजना नागरिक भित्रिएका छन् ।तानसेन नगरपालिकाको जनप्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइन कक्षमा राखिएका २६ जनामध्ये पूर्वखोला गाउँपालिकाका २२ जना र चारजना बाग्लुङ्ग जिल्लाका नागरिक रहेका छन् । नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।
विभिन्न सीमा नाकाहरु बन्द गरिएको छ । सवारी साधन ठप्प छ भने मानिस पनि घरबाट बाहिर कोही निस्किएका छैनन् ।