सुर्खेत । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको संख्या बढेको छ । जिल्ला प्रशासनले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण संकलन कार्यलाई तीब्र बनाएको छ । पछिल्लो जानकारीअनुसार भारतबाट दैलेख आउनेको संख्या ९ सय ४ पुगेको छ ।
जिल्लाको आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले नगरपालिकामा ४५० नागरिक भारतबाट आएको बताउनुभयो । सङ्ख्या अझै बढ्नसक्ने उहाँको भनाइ छ । ज्वरोका बिरामीको सङ्ख्या बढेसँगै सर्तकता पनि बढाइएको उपाध्यायले जानकारी दिनुभयो । पालिकाका सबै वडामा किटनाशक औषधि छर्कने, वडा अध्यक्षमार्फत स्वास्थ्य अवस्थाको जानकारी लिने, मास्क लगाउने, घरबाट बाहिर नजाने भन्दै जनचेतना फैलाउने काम तीब्र पारिएको उहाँले बताउनुभयो ।
नारायण नगरपालिकामा १ सय ३०, डुगेश्वर गाउँपालिकामा ४७, भगवतीमाई गाउँपालिकामा ३५, चामुण्डा बिन्द्रासैनीमा ४९, गुराँस गाउँपालिकामा २७, ठाँटीकाँधमा १ सय ५६, महावुमा ९ जना भारतबाट फर्किएका छन् । अन्य पालिकाको विवरण अझै आउन बाँकी छ । दैलेखमा चार नगरपालिका र सात गाउँपालिका छन् ।
भारतमा रोजगारी गर्नेहरु दैलेखमा धेरै भित्रिएका कारण जिल्लामा सुरक्षा तयारी तीब्र पारिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो । आठवीस नगरपालिकाका एकै परिवारका १६ जनालाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ । परिवारका २ जनालाई निरन्तर ज्वरो आएपछि आइसोलेसनमा राखिएको र परिवारका बाँकी १४ लाई क्वारेन्टाइनमा राखिएको हो । दुई जनाको कोरोना जाँचका लागि नमूना पठाइएको छ ।
अन्य सबैलाई पालिकास्तरमा रहेका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा राख्ने प्रशासनले निर्देशनदिएको भए पनि चुनौती बढ्न सक्ने भन्दै स्थानीयवासी त्रसित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा १ सय ३८शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार ३३ आइसोलेसन शैया र ३ हाइकेयर युनिट तयार भएकोे छ ।