छवि चापागाँईपाँचथर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण मजदुरहरुको खानपानमा समेत समस्या भएको छ ।
मजदुरलाई यस्तो समस्या भएपछि पाँचथरको फिदिम नगरपालिकाले खानपानको व्यवस्था गर्नको लागि लगत संकलन शुरु गरेको मेयर ओनाहाङ नेम्बाङले जानकारी दिनुभयो । जिल्लाका फिदिम नगरपालिकासहित अन्य पालिकाहरुले कोरोना नियन्त्रण तथा उपचारका लागि कोष बनाएर विभिन्न तयारीको काम गरिरहेका छन् ।
त्यस्ता कोषहरुमा कतिपय पालिकाका जनप्रतिनिधिहरुले आफ्नो सेवा सुविधाबाट रकम जम्मा गर्ने बताएका छन् भने सहयोगका लागि सबैलाई आग्रह समेत गरिएको छ ।
हिलिहाङ गाँउपालिकाका जनप्रतिनिधिहरुले आफ्नो सेवासुविधाबाट १५ दिनको रकम विपद् कोषमा जम्मा गर्ने भएका छन् । हिलिहाङले २५ शैयाको क्वारेन्टाइन बनाएको छ ।
तुम्बेवा गाउँपालिकाले पालिकाकै लगानीमा पालिकामै मास्क उत्पादन गरी पालिकाबासीलाई निशुल्क वितरण गरिरहेको पालिका अध्यक्ष होम थापाले बताउनुभयो । मिक्लाजुङ र कुमायक गाउँपालिकाले पनि निशुल्क मास्क वितरण गरिरहेका छन् ।
फाल्गुनन्द गाउँपालिकाले एक महिनाको सेवासुविधाबाट विपद् व्यवस्थापन कोषामा जम्मा गर्ने भएका छन् । साथै पालिकाले सेवाक्षेत्र भित्रका विपन्न, मजदूर, असहाय, अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न वितरण गर्ने तयारी थालिने पालिका अध्यक्ष विरबहादुर कुरुम्बाङले बताउनुभयो ।
यस्तै पालिकाहरुले विभिन्न शहर तथा बिदेशबाट पछिल्लो समय गाउँ आएकाहरुको निगरानी बढाइरहेका छन् । उनीहरुले केही समय सुरक्षित भएर छुटै बस्न आग्रह गरिरहेका छन् । पालिकाहरुले हात धुने, मास्क लगाउने, मानिस बीच दुरी कायम गर्ने जस्ता अनुरोध गरिरहेको छ ।
गाउँघरमा खेतीलगायतका काम भयरहेको भएपनि समूहमा काम नगर्न र समूह भेला भएर नहिड्न पनि पालिकाहरुले अनुरोध गरिरहेका छन् । सबै पालिकाहरुले क्वारेन्टाइन तथा आइसोलेशन वार्ड निर्माण गरेपनि आवश्यक उपरकण तथा औषधीको भने अभाव देखिएको छ । भाईरसको संभावित बिरामीको जाँच तथा उपचारका लागि स्वास्थ्यकर्मीले लगाउने पिपीई तथा मास्क, पञ्जा, सेनिटाइजर लगायतको अभाव रहेको समर्पित अस्पतालका व्यवस्थापक शिशिर आङबोले बताउनुभयो ।
जिल्लामा लकडाउनको पालना भइरहेको प्रहरीले जनाएको छ । यातायात ठप्प जस्तै छ भने पसलहरु समेत बन्द रहेका छन् । लकडाउनको पालना नगर्ने केहीलाई कारबाही गरिएको र धेरैजसोले पालना गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी सिद्धाराज न्यौपानेले बताउनुभयो ।