फाइल तस्बिर
छवि चापागाँई पाँचथर । जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) सक्रमणको जोखिम न्यूनिकरण गर्न विदेशबाट फर्किएकाहरुलाई स्थानीय स्तरमा निर्मित क्वारेन्टइनमा राख्न शुरु गरिएको छ ।
चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिहरुको विवरण यहाँका स्थानीय तहहरुले सङ्कलन गरेका छन् । सङ्कलित विवरणका आधारमा उनीहरुलाई क्वारेन्टाइनमा राख्ने काम शुरु भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख एवम् कोभिड–१९ जोखिम न्यूनिकरण एवम् समन्वय समितिका सूचना अधिकारी नारदमुनि सुवेदीले जानकारी दिनुभयो ।
जिल्लाका स्थानीय तहहरुले १ सय २९ जना व्यक्ति विदेशबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् । प्राप्त विवरणका आधारमा उनीहरुलाई क्वारेन्टाइनमा राख्ने काम शुरु गरिएको तथा थप विवरण सङ्कलन गर्ने काम जारी रहेको प्रमुख सुवेदीले वताउनुभयो ।
चैत १ गतेपछि विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय भएसँगै उनीहरुलाई क्वारेन्टाइनमा राख्न थालिएको हो । क्वारेन्टाइननमा राखिएकामध्ये अधिकांश खाडी देशबाट फर्किएका छन् ।
आइतबार साँझसम्म ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सबैभन्दा बढी याङ्वरक गाउँपालिकामा ११, फिदिम नगरपालिकामा १०, हिलिहाङ गाउँपालिकामा ६, कुम्मायक गाउँपालिकामा ४, तुम्बेवा गाउँपालिकामा २ र मिक्लाजुङ गाउँपालिकामा २ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
यस्तै ३ जनालाई पाँचथर अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिँदैछ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसअघि विदेशबाट आएका यहाँका दुई जनालाई मोरङको मिक्लाजुङमा रहेको क्वारेन्टाइनमा पठाइएको थियो ।