हुम्ला । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी घर गएर बसेका छन्। सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा चैत महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भएका हुन् ।
कोरोना भाइरसको सङ्क्रमण नेपालमा देखिएपछि सरकारले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएका बेला हुम्लामा ठिक त्यसको उल्टो भएको छ । अहिले डाडाफया स्वास्थ्यचौकीमा औषधिको नाममा एक सिटामोल र करारमा खटिएका एक अनमी मात्रै छन् । अन्य सरकारी स्वास्थ्यकर्मी स्वास्थ्य संस्था छाडेर निजी काममा व्यस्त देखिएको स्थानीयवासी बताउँछन्।
स्वास्थ्यचौकीमा दुई अहेब, एक स्वास्थ्यचौकी इन्चार्ज (एचए), तीन अनमी र एक कार्यालय सहयोगी गरी सात जनाको दरबन्दी रहे पनि अहिले करारमा रहेका एक अनमीले मात्रै स्वास्थ्यचौकी थेग्नुपरेको छ । यही चैत ८ गतेदेखि स्वास्थ्यचौकी संयोजकसहित अन्य स्वास्थ्यकर्मीविहीन बनेको स्थानीयवासी टसी विकले बताए ।
अहिले डाडाफयाका स्थानीयवासी सामान्य उपचारका लागि स्वास्थ्य चौकी पुगे पनि औषधि र कर्मचारी नहुँदा रित्तो हात फिर्ता हुनुपर्ने अवस्था आएको स्थानीयवासी बाँचु शाहीकाे गुनासो छ । करारमा रहेकी अनमी सङ्गीता रोकायाले बिहानदेखि बेलुकासम्म स्वास्थ्यचौकी सम्हाल्दै आएको उनले बताइन् । पहिला गाउँको स्वास्थचौकीमै औषधि पाइन्थ्यो, अहिले सिटामोलसमेत पाउन मुस्किल भएको शाहीकाे भनाइ छ ।
स्वास्थ्यचौकीमा केही मात्रामा औषधि भए पनि बालबालिकाका लागि प्रयोग गरिने औषधि केही पनि नभएको अनमी रोकायाले बताउनुभयो । कार्यालय सहयोगीलाई औषधि ल्याउनका लागि सदरमुकाम पठाए पनि औषधि लिएर आइनपुगेको उहाँको भनाइ थियो । स्वास्थ्यचौकीका संयोजकलाई फोन गर्दा फोन नउठेको उहाँले बताउनुभयो ।
यता सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराले शनिबार हाजिर गर्न नमिल्ने र बिदामा पनि नबस्न सरकारले ह्वीप जारी गरेका बेला त्यस्तो गरेको पाइए कारबाही गरिने बताउनुभयो । आइतबार मात्रै औषधि अभाव भएको खबर आएपछि डाडाफया स्वास्थ्यचौकीलाई आवश्यक पर्ने औषधि पठाइसकेको संयोजक बोहराले बताउनुभयो ।