झापा । जिल्लामा गौरादह नगरपालिका तथा गौरीगञ्ज र बाह्रदशी गाउँपालिकाका किसानले लकडाउन अवधिमा दूध सित्तैमा बाँड्न थालेका छन् । लकडाउनका कारण दुध बिक्न छोडेपछि किसानले निःशुल्क बाँड्न थालेका हुन् । डेरीले दुध संकलन गर्न छोडेपछि गाउँलेले सित्तैमा दिन थालिएको कृषक राजु साहले जानकारी दिनुभयो ।
साहले दैनिक ७५ लिटर दूध उत्पादन गर्नुहुन्छ । पाथीभरा कृषि फर्म दर्ता गरेर पशुपालन शुरु गर्नुभएका कृषक साहको मुख्य आयश्रोत नै दूध हो । ३ वर्ष अघिदेखि तीन उन्नत जातका गाई पालन गरेर उहाँले यो व्यवसाय शुरुवात गर्नुभएको हो। गौरादह नगरपालिका – ८ थापा चोक निवासी नारायणप्रसाद गौतमले गौशाला कृषि फर्म दर्ता गरेर उन्नत जातका गाई पाल्नु भएको छ । दैनिक ५० लिटर दूध विक्री गर्ने उहाँको पनि समस्या उस्तै छ । साह र गौतम जस्ता किसानले उत्पादन गरेको दुध नबिक्नु अहिलेको साझा समस्या हो । अधिकांश व्यवसायिक पशुपालक किसानले दैनिक ५० लिटर भन्दा बढी दुध निःशुल्क गाउँलेलाई बाढ्दै आएका छन् ।
‘दुध गाउँमा बाँडेरर पनि सकिँदैन, दुई चार लिटर भए पो बल्लो गाउँ पल्लो गाउँमा दिँदा सकिन्छ र’ ‘ग्रामीण क्षेत्रका अधिकांशले पशुपालन गरेका छन् । प्रायजसो घरैपिच्छे दुध हुन्छ उनीहरुले लाँदैनन् जसले पशु पालेको छैन उनीहरुले मात्र लाँदा हामीले उत्पादन गरेको दुध सकिँँदैन । गोरस हो, फाल्नु पनि त भएन नि ।’गौरीगञ्ज–खजुरगाछी क्षेत्रका किसानले उत्पादन गरेको दुध खजुरगाछीको आठमौजा बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको चिश्यान केन्द्रले खरिद गर्दै आएको थियो । आठमौजा सहकारी संस्थाले संकलन गरेको दुध रितिका डेरी उद्योगले खरिद गर्ने गरेपनि अहिले रितिका डेरी उद्योगले दुध लिन छाडेको सहकारीका अध्यक्ष अर्जुन दंगालले बताउनुभयो ।
सहकारीले दैनिक १ हजार लिटर दुध संकलन गर्ने गरेकोमा १ सय ५० लिटर दुधस्थानीय ठाउँमा बिक्री हुने र बाँकी दुध रितिका डेरी उद्योगलाई बिक्री गर्ने गरेको आठमौजा सहकारीका दुध संकलन कर्ता जयप्रसाद ढकाल बताउनुहुन्छ । एनएमसी डेरी उद्योगका सञ्चालक रामचन्द्र उप्रेतीले काम गर्ने कर्मचारी नै आउन छाडेपछि किसानको दुध सङकलन गर्न नसकेको जानकारी दिनुभयो । ‘कर्मचारीले बरु जागिर छाड्छौं भन्छन् तर काममा आउदैनौं भनेपनि किसानको दूध उठाउन नसकिएको हो’उहाँले भन्नुभयो – ‘अहिले उद्योगको उत्पादन २५ प्रतिशत पनि छैन ।’
मेचीनगरपालिकामा अवस्थित एनएमसी डेरी उद्योगले दैनिक १४ हजार लिटरदुध संकलन गर्दै प्रशोधित दुध र यसका परिकार झापासहित मोरङ र सुनसरीका विभिन्न बजारमा एकसाता अघिसम्म बिक्री बितरण गर्दै आएको थियो । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै एक सातादेखि लकडाउन गरेसँगै डेरी उद्योगले दुध सङ्कलन गर्न छाडेको छ ।
नेपाल वहुउद्देश्यीय सहकारी संस्था मार्फत सञ्चालन गरिएको डेरी उद्योगले आफ्ना २९ वटा चिस्यान केन्द्र मार्फत दैनिक चारसय किसानको घर – घरमा पुगेर दुध संकला गर्दै आएपनि अहिले उद्योगले दुध सङकलन गर्न छाडेपछि किसानले उत्पादन गरेको दुध बिकेको छैन । उद्योग नजिकै रहेका पशुपालकले भने उत्पादित दुध उद्योगमा पुर्याउने गरेका छन् ।