काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्ने भएको छ ।कोरोना संक्रमणको पछिल्लो अवस्था हेरेर सरकारले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्ने रणनीति लिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले संक्रमण फैलावटको प्रकृति हेरेर सरकारले अनिवार्य क्वारेन्टाइनको व्यवस्था कडाईका साथ पालना गराउने विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो । हाल देखिएका संक्रमित सबै मुलुकभित्रका नभई बाहिरबाट आएका व्यक्ति भएको र उनीहरुबाट परिवार लगायत नजिकको सम्पर्कमा आएका अन्यमा सरेको नदेखिएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले विदेशबाट आएकालाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न सकेमा संक्रमण फैलनबाट सजिलै रोक्न सकिने बताउनुभयो । त्यसैगरी शंकास्पदहरुको नमूना परीक्षणको दायरा बढाउनुको साथै अस्पतालको व्यवस्थापन तयारी, फिबर क्लिनिक, आवश्यक जनशक्ति र व्यक्तिगत सुरक्षा सामाग्री को पर्याप्ततालाई पनि सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
उहाँले संक्रमण रोक्नका लागि लकडाउन नै प्रभावकारी उपाय भएकाले लकडाउलाई प्रभावकारी बनाउने तर्फ सरकार कडा रुपमा प्रस्तुत हुने बताउनुयो । कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकारले गरेका आदेशको प्रभावकारी कार्यान्वयन गराउन गठन भएको कोभिड १९ क्राइसिम म्यानेजमेण्ट सेन्टर (निर्देशक समिति)ले विभिन्न ४ वटा समिति बनाएर काम शुरु गरिसकेको उहाँले जानकारी दिनुभयो । पाटन र वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तीनै जना बिरामीको नमूना परीक्षण को रिपोर्ट नेगेटिभ आएको जानकारी दिदै उहाँले ज्वरोका विरामी देख्ने वित्तिकै नडराउन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । उहाँले ज्वरोका विरामीले आवश्यक उपचार नपाउँदा जटिल अवस्था हुनेतर्फ सजग हुन सबैलाई आग्रह गर्नुभयो ।
ज्वरोको विरामी देख्ने वित्तिकै डराउने प्रवृत्ति रहेको छ । ज्वरोका विरामीलाई नहेरिदिंदा थप जटिलतामा जाने र मृत्यु पनि हुन सक्ने हुन्छ’ उहाँले भन्नुभयो, ‘त्यसैले ज्वरोको विरामीलाई नहेर्ने काम नगरिदिनुहुन अनुरोध छ । ज्वरो लगायत कोरोनाका लक्षण देखिएका विरामीलाई अस्पतालले नहेर्ने विषयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यन्तै गम्भीरता पूर्वक हेरेको छ ।’ उहाँले हरेक प्रदेशमा १ हजार ३ सय देखि २ हजार ५ सय सम्म पिपिई मौज्दात रहेको तथा स्वास्थ्य सेवा विभागमा पनि यथेष्ट मात्रामा पिपिइ मौज्दात रहेकाले उपचारमा कुनै कमी नहुने स्पष्ट पार्नुभयो । उहाँले कोरोना भाइरस संक्रमणका नया आयाम तथा उपचार पद्धतिमा अपनाउनुपर्ने सर्तकता लगायत आवश्यक प्राविधिक परामर्श लिनका लागि पाटन अस्पतालबाट छिमेकी मुलुकमा रहेका प्राविधिकसँग टेलिकन्फरेन्स गर्ने कामको शुरुवात भएको जानकारी दिनुभयो । प्रवक्ता देवकोटाका अनुसार, कोरोना संक्रमणको स्वाव परीक्षण गर्नका लागि प्रदेशहरुमा प्रयोगशाला विस्तार हुने क्रममा रहेको छ । पोखरामा परीक्षण सुरु हुने क्रममा,धनगढीमा आवश्यक समान पुगेको, बुटवल र सुर्खेतमा जाने क्रममा र जनकपुरमा जादै रहेको तथा हेटौडामा त्यहाँ रहेकै मेसिन प्रयोग गर्ने गरि आवश्यक सामान पठाइएको छ ।
प्रवक्ता देवकोटाले मंगलबारसम्म १ हजार ६० वटा नमूना परीक्षण गरिएको ,टेकु अस्पतालमा १० जना सहित सबै प्रदेशमा गरि ७७ जना आइसोलेसमा राखिएको र आइसोलेसनमा रहेका सबै विरामीको स्वाव परीक्षण गरिने जानकारी दिनुभयो । अहिले सम्म कोरोना संक्रमण देखिएका मध्ये २ वटा पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ सकिएको र पछिल्लो २ वटाको पनि ८० प्रतिशत काम सकिएको जानकारी पनि उहाँले दिनुभयो । स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहाकार डा खेम कार्कीले व्यक्तिगत सुरक्षा सामाग्रीको सही ढंगले प्रयोग गर्न चिकित्सकलाई आग्रह गर्नुभयो । पिपिइ लगाएर स्वास्थ्यकर्मीले सामूहिक तस्बिर खिचाएको फोटो सामाजिक सञ्जालमा आएको उल्लेख गर्दे उपचारमा अत्यन्तै महत्वपूर्ण सामाग्रीको गलत ढंगले प्रयोग नगर्न पनि उहाँकाे सुझाव छ ।
५ मिनेटमा नै कोरोना परीक्षण गर्न सकिने भन्दै प्रचार गरिएको र्यापिड टेस्ट किट विश्वसनिय नभएको भन्दै विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्नु भनेर निर्देशन दिएको उल्लेख गर्दै उहाँले त्यस्ता भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न पनि आग्रह गर्नुभयो । कोरोना संक्रमणबाट बच्चका लागि लकडाउन गरिएको समयमा खेतीपाती गर्ने कि नगर्ने भन्ने दुविधा आएको उल्लेख गर्दै उहाँले सामाजिक दूरी कायम गरेर घरनिर्माण, खेतीपाती, घाँसपात र गाइवस्तु चराउन मिल्ने स्पष्ट पार्नुभयो । चिकित्सक र नर्सलाई घरधनले कोठा छोड्न भनेको भन्ने सुन्नमा आएको भन्दै उहाँले त्यस्तो भएमा स्थानीय प्रशासनलाई जानकारी गराउन आग्रह गर्नुभयो ।