पोखरा । असिनापानीले तरकारी र फलफूल बालिमा क्षति पुर्याएको छ । बुधबार परेको असिनापानीले बारीमा लगाइएका घिरौला, काक्रा, बोडी, फर्सी, लौकालगायतका लहरे तरकारी र सुन्तला, कागती, मेवा, नासपति, लिचिजस्ता फलफूलका बोटमा भर्खरै लागेका फूल झारेर क्षति पुर्याएको हो ।
बुधबार दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरीसहित परेको असिना पानीले लेखनाथका केही स्थानसहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास तथा घारीपाटन, रातोपैह्रा विरौटा, भरतपोखरी, निर्मलपोखरीलगायतका स्थानमा लगाइएको तरकारी बालीमा ठूलो नोक्सान गरेको छ ।
त्यस्तै असिनापानीले तनहुँको दुलेगौडा, ढोरफिर्दीलगायतका स्थानमा पनि ठूलै क्षति पुगेको स्थानीयबासी उमादेवी भट्टराईले जानकारी दिनुभयो । भर्खरै फुलेका सुन्तला, कागती, नासपतिलगायतका बोटका फूल झार्नुका साथै उम्रदै गरेका घिरौला, काक्रालगायतका लहरे बालीमा पनि असिनाले ठूलो क्षति पुर्याएको उहाँको दुखेसो छ ।