यतिबेला देशभर कोरोना भाइरसको संक्रमण फैलन नदिन उच्च सतर्कता अपाइएको छ । संघ र प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि विभिन्न तयारी तथा व्यवस्थापनका काम गरिरहेका छन् । स्थानीय सरकारहरु पनि क्वारेन्टाइन निर्माण, चिकित्सकको व्यवस्था तथा राहत कोष स्थापना गर्ने कार्यमा निकै सक्रिय बनेर लागिरहेका छन् । यही शिलशिलामा पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका मेयर भीम बहादुर थापा क्षत्री ले कोरोना रोकथामको लागि भन्दै आफूले प्राप्त गर्दै आइरहेको ३ महिनाको सेवा सुविधा राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । प्रस्तुत छ, मेयर क्षत्रीले नगरमा कोरोना भाइरस फैलन नदिन जारी राखेका पहलकदमीबारे व्यक्त गर्नुभएका भनाइहरु समेटेर जनता समाचार डट कम का लागि नरेश न्यौपाने र अनिल यादव ले तयार पारेको कुराकानीको संक्षिप्त अंश ।
यहाँले नगरपालिकामा कोरोना भाइरस फैलन नदिनका लागि आफ्नो ३ महिनाको सेवा सुविधा राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ, त्यो भनेको कति रकम हाे ? त्यो भनेको मैले ३ महिनामा बुझ्ने १ लाख ३ हजार ९ सय ५० रुपैयाँ हुन्छ ।
तर पछिल्लो समय सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले पाउँदै आएको सेवा/सुविधा अर्को फैसला नगरूञ्जेलसम्म रोक्का गरेको छ नि ?सम्मानित सर्वोच्च अदालतले त्यसरी रोक्का गर्ने निर्णय गर्नुभन्दा अघिको श्रावण, भदौ र असोज महिनाको मैले पाउने सुविधा कोषमा जम्मा गर्ने सोच बनाएको हुँ । यो उपलब्ध भइसकेको छैन र अब उपलब्ध हुँदा कोषमा जम्मा गरिन्छ ।
नगरमा तपाइँले जसरी अन्य व्यक्तिले पनि सहयोग घोषणा गरेका छन् ? कोषमा थप रकम कसरी र कहाँबाट जुटाउँदै हुनुहुन्छ ?यसमा हाम्रै नगरपालिकाका उपप्रमुखलगायत अन्य सबै जनप्रतिनिधिहरुले आफ्नो १५ दिनको सुविधा जम्मा गर्ने घोषणा गर्नुभएको छ । त्यसैगरी नगरपालिकाका कर्मचारी र शिक्षक साथिहरुले एक दिनको तलब उपलब्ध गराउने भन्नुभएको छ । नगरपालिकाले विशेष दैवी प्रकोप राहत कोष स्थापना गरेको छ र कोषमा बुधबारसम्म करिब १४ लाख रकम संकलन भइसकेको छ ।
हामिले दैनिक मजदुरी गर्ने र दिनभरी कमाएको पैसा साँझ खाने जुन वर्ग छ, त्यो वर्गका मानिसका लागि १३ वटै वडाबाट तथ्यांक संकलन गरिरहेका छौं । त्यसका लागि चामल, दाल, नुन, तेल र सोया प्याकिंग गरेर ८/१० दिनसम्म पुग्नेगरी खानाको व्यवस्था गर्ने हाम्राे साेच छ ।
कोषको परिचालन कसरी गर्नुहुन्छ ? अहिले नगरमा कोरोना भाइरस संक्रमण फैलिन नदिन तपाइँहरुले अन्य के/के योजना बनाउनु भएको छ ?पहिले त अघि भनिएझैं नगरभित्रका अति विपन्न वर्गको तथ्यांक संकलन गर्दैछौं । नगरपालिकाले प्रहरी युक्ति तालिम महाविद्यालयसँगकाे सहकार्यमा स्थापना गरेको १ सय बेडको क्वारेन्टाईनमा आवश्यक सामान खरिद गर्छौं । कोषमा आर्थिक सहयोग जुटाउन विभिन्न संघ-संस्था र उद्योगी तथा व्यवसायिलाई अनुराेध गरेका छौं । हामिले यही कोषबाट पीपीई खरिद गरेका छौं । आफ्नै लगानिमा पीपीई खरिद गरेको अवस्था छ । त्यस्तै ज्वरो नाप्ने यन्त्रहरु, सेनिटाइजर तथा मास्क बनाएर वितरण गरिरहेका छौं । यो सबै हामिले कोषबाट नै खर्च गर्छौं ।
कोरोना रोकथामका लागि नगरलाई संघ वा प्रदेश सरकारले कुनै सहयोग उपलब्ध गराएका छन् ? अहिलेसम्म कोरोनाको सन्दर्भमा नेपाल सरकार र प्रदेश सरकारबाट हामीलाई कुनैपनि आर्थिक सहयोग भएको छैन् । स्थानिय सरकार जनताको नजिकको पहुँचमा भएकोले हामिले संघीय सरकार तथा प्रदेश सरकारको आशमा बस्नुभन्दा पनि आफ्नो कोष खडा गरेर काम गर्ने र पुगेन भने नगरपालिकाको कुनै बजेटबाट रकमान्तर गरेर भएपनि कोरोना रोकथाममा लाग्नुपर्छ भन्ने सोचिरहेका छौं ।
अनि नगरमा चिकित्सक र अस्पतालको अवस्था कस्तो छ ?हाम्रो नगरपालिकामा अस्पताल छैन् । हामिकहाँ १३ वटै वडामा स्वास्थ्य चौकी र उप-स्वास्थ्यचौकी तथा अधारभुत स्वास्थ्य चौकी भर्खरै प्राप्त भएको अवस्था छ । जसमा १० वटा वडामा चौकी रहेका छन् । अहिले हामिले जुन ठाउँमा क्वारेन्टाइन निर्माण गरेका छौं, त्यही ठाँउमा प्रहरी युक्ति तालिम महाविद्यालय र सुनवल नगरपालिकाको आर्थिक सहयोगमा सर्प दंश उपचार केन्द्र गतवर्ष नै निमार्ण गरेका थियौं । जसलाई नेपाल प्रहरीका महानिरीक्षक र मैले संयुक्तरुपमा उद्घाटन गरेका थियौं । त्यहाँ डाक्टरहरुको स्वास्थ्य टिम छ र त्यही टिम र सुनवल नगरपालिकाको स्वास्थ्य टिम मिलेर अहिले क्वारेन्टाइन सञ्चालन गरिएको हो । क्वारेन्टाइनका लागि आवश्यक भौतिक पुर्वाधार सबै निर्माण गरेका छौं । त्यसमा इन्टरनेटको व्यवस्था पनि गरेका छौं । एम्बुलेन्सहरु पनि तयारी अवस्थामा छन् । क्वारेन्टाइन सञ्चालनका लागि अवलम्बन गर्नुपर्ने सबै काम गरेका छौं ।
क्वारेन्टाइनमा बसिरहेकाहरु स्वास्थ्य परीक्षण पनि गराउने गरिएको छ ? कति जना हुनुहुन्छ क्वारेन्टाइनमा ?क्वारेन्टाइनमा २६ जना हुनुहुन्छ । सबैकाे स्वास्थ्य अवस्था एकदम राम्रो छ । उहाँहरुको स्वास्थ्यमा अहिलेसम्म त्यस्तो केही अफ्ठ्यारो देखिएको छैन् ।
अन्य वडाहरुमा तपाइँहरुले घर-घरमा गएर स्वास्थ्य जाँच गर्नुहुन्छ वा वहाँहरु आफै आउनुहुन्छ ? हामिले पछिल्लो समय तेस्रो मुलुक वा भारतबाट आएका नेपालीहरुको डाटा नै राखेर उहाँहरुको निगरानि गरिराखेको अवस्था छ । उहाँहरुको स्वास्थ्य अवस्थाबारे घर-घरमा गएर बुझ्ने र नेपाल आएको कति दिन भयो ? हेर्ने र अलिकति 'सेन्सेटिभ' अवस्था देखिए तुरुन्तै सरकारले बनाएको आइसोलेसन वाडमा पठाउने गरेका छौं ।
जस्तो केहीदिन अघि बाग्लुङ्गकी एकजना बहिनी बाहिरबाट जसरी आउनुभयो र त्यसरी आएका कोही व्यक्तिहरु भए उहाँहरुलाई लगेर क्वारेन्टाइनमा राख्ने र अलिकति केही जटिल लक्षण देखियो भने तुरुन्त प्रदेश सरकारको आइसुलेसन वाडमा पठाउँछौ । अहिले पनि बाहिरबाट आएको कोही देखियो भने होम क्वारेन्टाइनमा परिवारसँग बस्न भनेका छौं र छिमेकिलाई पनि निगरानिमा राख्न अनरोध गरेका छौं । तर जसलाई होम क्वारेन्टाइनमा बस्न सुरक्षित छैन उहाँहरुलाई हामिले बनाएको क्वारेन्टाइनमा राख्न सकिने व्यवस्था गरेका छौं ।
जताततै कोरोना भाइरसको संक्रमण हुने डर र त्रासका बिचमा स्थानीयलाई उपभोग्य वस्तुको आपुर्तिको सन्दर्भमा कत्तिको समस्या हुने गरेको छ ? यस्तो समस्या समाधान गर्न कसरी अघि बढिरहनुभएको छ ? कोरोना भाइरस यस्तो समस्या हो, जुन हामिलाई थाह छ कि, विश्वको सबैभन्दा ठुलो राष्ट्र अमेरिका र इटाली जस्ता देशहरु समेत काबुमा आउन सकिरहेका छैनन् । यस्तो अवस्थामा हामीले खाद्यान्नकाे भन्दा पनि राम्रो स्वास्थ्य समाग्री कसरी उपलब्ध गराउने भन्नेतर्फ बढी ध्यान दिनुपर्छ । यसर्थ सबै नगर र देशबासीलाई यस्तो बेलामा जस्तो छ, जे छ, त्यसैले गुजारा गर्नुपर्छ भन्न चाहान्छु ।
स्वास्थ्यको सन्दर्भमा तपाइँले भनेको ठिक हो, तर बिहान बेलुका मानिसहरुले छाक त टार्नैपर्छ र दैनिक उपभोग्य समानको अनिवार्यता हुन्छ नि ? यस्तो अवस्थामा कुनै राहत वितरण योजना बनाउनुभएको छैन् ? हामिले दैनिक मजदुरी गर्ने र दिनभरी कमाएको पैसा साँझ खाने जुन वर्ग छ, त्यो वर्गका मानिसहरुका लागि १३ वटै वडाबाट तथ्यांक संकलन गरिरहेका छौं । त्यसका लागि चामल, दाल, नुन, तेल र सोया प्याकिंग गरेर ८/१० दिनसम्म पुग्नेगरी खानाको व्यवस्था गर्नेगरी लागिरहेका छौं । यसका लागि समग्री खरिद गर्न सबै व्यवसायिलाई समानको दर र रेट ई-मेलमार्फत पठाउन सार्वजनिक सूचनाबाट आह्वान गरेका छौं । त्यो तथ्यांक आइसकेपछि हामिले १३ वटै वडाका लागि सामान खरिद गरेर घर-घरमै पुर्याउँछौं । खाद्यान्नको सवालमा हुनसक्ने कालोबजारीलाई पनि हामीले निकै निगरानी गरिरहेका छौं । यो बेलामा मौकाको फाइदा उठाएर कालोबजारी गर्नेहरुलाई तुरुन्त कानुनी कारबाही गर्न प्रहरी प्रशासन, संघ/संस्था, राजनितिक दललगायतसँग यहाँका हामी सबै जनप्रतिनिधि मिलेर काम गरिरहेको अवस्था छ । त्यत्तिकै पनि सुनवलमा खाद्यान्नको अभाव हुँदैन् ।
जिल्लामा पनि जिल्ला दैवी प्रकोप कोष पनि होला, त्यो कोषको सक्रियता कत्तिको छ ? यहाँहरु सँगको समन्वय र सहकार्य कसरी भइरहेको छ ? जिल्लामा सिडिओको संयोजकत्वमा जिल्ला दैवी प्रकोप समिति छ । जसको दिनहुँ बैठक भइरहेको हुन्छ । तर अहिले सबै स्थानीय तहहरु पनि आफै सक्षम छन् । यस्तो बेला स्थानीय तहहरुले आफैले बढी सक्रियता देखाउनुपर्छ भन्ने बुझाई पनि छ । सरकारले सबै स्थानीय तहलाई क्वारेन्टाइन बनाउनुपर्छ भनेकोले सबैले त्यसैगरी काम गरिरहेको अवस्था छ । कहीं राम्रो हुने त कतै राम्रो हुन नसकेको भएपनि सबै मिलेर कोरोना भाइरसको रोकथाममा लाग्नपर्छ भन्ने मान्यताबाट काम भइरहेको छ । नवलरासीमा दैवी प्रकोप समिति एकदमै सक्रिय छ ।
ग्रामिण जनतामा कोरोना भाइरस संक्रमणको त्रास कस्ताे छ ? सरकारले गरेको पहिलो चरणको लकडाउनमा जनतामा खासै त्रास देखिदैनथ्याे तर पछि फेरि लकडाउनको अवधि थपिएपछि आम मानिसमा डरको मात्रा बढेको देखिन्छ । त्यस्तै कोरोनासँग सम्बन्धित एक दुई ठाँउमा छिटफुट मान्छेको मृत्यु भएका घटनाहरु सार्वजनिक भएपछि मान्छेमा केही त्रास बढेको जस्तो नै देखिन्छ । फेरि कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकाहरुमा त्यसको रिपोर्ट नेगेटिभ आएपछि भने विस्तारै त्रास न्युनिकरण भएको पनि देखिन्छ ।
नगरपालिकाभित्र कोरोना भाइरस संक्रमण फैलन सक्ने संभावित र संवेदनशील ठाउँहरु कुन - कुन हुन् ? हाम्रो नगरपालिका सीमासँग जोडिएको नभएपनि सीमासँग जोडिएका अन्य पाल्हिनन्दन, सरावल, र सुस्ताजस्ता स्थानीय तहसँग जोडिएका वडामा त्यसको संभावना रहन्छ । तर त्यस्ता सबै स्थानमा नेपाल प्रहरी र त्यहाँका सबै वडाका साथिहरु मिलेर व्यवस्थित गरिएको छ । खुला सिमाना भएको ठाउँबाट व्यवसायिक प्रयोजनमा मानिसहरु लुकिछिपी जान सक्ने विषयमा हामी संवेदनशील छौं । कोही कतैबाट लुकेर त्यसरी आउने/जाने गरेको पाइएमा स्थानीय जनतालाई हामीलाई खबर गर्न भनेका छौं । नागरिकस्तरमा जनचेतना बढ्दै गइरहेकाले त्यस्तो ठूलो समस्या हुँदैन् ।
सरकारले गरेको पहिलो चरणको लकडाउनमा जनतामा खासै त्रास देखिदैनथ्याे तर पछि फेरि लकडाउनको अवधि थपिएपछि आम मानिसमा डरको मात्रा बढेको देखिन्छ । त्यस्तै, कोरोनासँग सम्बन्धित एक दुई ठाँउमा छिटफुट मान्छेको मृत्यु भएका घटना सार्वजनिक भएपछि मान्छेमा केही त्रास बढेको जस्तो नै देखिन्छ । फेरि कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकाहरुमा त्यसको रिपोर्ट नेगेटिभ आएपछि भने विस्तारै त्रासको न्युनिकरण भएको देखिन्छ ।
नगरमा बाहिरबाट आवत-जावत गर्नेहरुको अवस्था कस्तो छ ? अहिले हामिकहाँ पछिल्लो समय त्यस्तो कुनै रेकर्ड छैन् । हामीकहाँ बाहिरबाट अघिल्लो महिनाको २५ गतेसम्म तेस्रो मुलुक र भारतबाट घर आएकाहरुको तथ्यांक छ । हामिले सरकारले घोषणा गरेको जारी लकडाउनको अवस्थालाई मध्यनजर गर्दै नगरभित्र विस्तारै भित्रि हिसाबमा खुल्ला भएर जाने हाेकी भन्नेबारे सोचिरहेका छौं ।
त्यसो भए तपाइँहरुले नगरभित्र मात्रै लकडाउन खोल्नेबारे छलफल अघि बढाइरहनुभएको हो ? हामी सरकारले घोषणा गरिरहेको लकडाउनको अवस्था हेर्छौं । नगरका १३ वटै वडाको अवस्था बुझ्छौं । त्यसपछि सरकार कसरी अगाडी बढ्छ । नेपालमा कोरोनाका बिरामीको अवस्था कस्तो हुन्छ ? हेरेर त्यस्तो निर्णय गर्छौं । हामिले हाललाई अस्पतालबाहेक अन्य केही खोलेका छैनौं । अब दैनिक उपभोग्य समाग्रीको आपुर्तिका लागि खोल्यौं भने भिडभाड बढ्ने हुनाले नगरपालिकाले ९८/९९ प्रतिशत सम्म लकडाउन गरेको अवस्था छ । यसमा जनताको पनि साथ छ । तर यसरी कोरोनाका बिरामी नभएको अवस्थामा विस्तारै वातावरण सहज बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । यसबारे हाम्रो बीचमा छलफल शुरु भएको छ । उपयुक्त अवस्था देखिए विस्तारै लकडाउन खोल्ने सोचिरहेका छौं ।
तपाइँहरुलाई प्रदेश र संघ सरकारले कोरोना रोकथामका लागि यो बिचमा के कस्ता सहयोग गरे ? आजसम्म प्रदेश र संघ सरकारले यससम्बन्धमा गरेका निर्णय र कामहरुलाई कसरी लिनुभएको छ ? सरकारले यस्तो अवस्थामा लकडाउन घोषणा गरेर ठिक गरेको छ । तर जसरी हामिले चीनमा संक्रमण फैलन नपाउँदै बेलैमा जसरी सचेत हुनुपर्थ्याे, त्यस्तो हुन भने सकेन । चीनमा दुई महिना अगाडि नै कोरोना भाइरसको संक्रमण देखिँदै गर्दा हाम्रोजस्ता औषधी तथा उपकरणमा कमजोर मुलुकले पुर्वतयारी गरिहाल्नुपर्थ्याे । तथापी पछिल्लो समय प्रदेश सरकारले भिडियो कन्फ्ररेन्स गरेर सबै जिल्लाको वस्तुस्थिति बुझ्ने काम गर्ने कुरा र केन्द्र सरकारले विभिन्न प्रभावकारी काम गर्नु राम्रो कुरा हो । समयमै सरकारले स्थानिय तहरुलाई आवश्यक सामग्री उपलब्ध गराउनमा भने ढिलाई भइरहेको छ । अब यसमा ध्यान दिनुपर्छ ।