कविता खड्का भोजपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणप्रति सतर्कता अपनाउन भइरहेको लकडाउको कारण जिल्लाका विभिन्न आयोजनामा अलपत्र परेका मजदुरको उद्धार गरिएको छ ।लकडाउनका कारण अलपत्र परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर आ आफ्ना गृहस्थानतर्फ घर पठाएको हो ।
जिल्लाका विभिन्न आयोजनामा काठमाडौ, बाँके, बर्दिया, दाङ र कैलाली, लगायत ठाउँका मजदुर कार्यरत थिए । सदरमुकाममा सञ्चालन भइरहेको तिनभंगाले खानेपानी आयोजनामा काम गर्ने, ७९ मध्येपहाडी लोकमार्गमा काम गर्ने ९५ जनासहित विभिन्न आयोजनाका करिब २ सय ५० मजदुरलाई उद्धार गरेर आ आफ्नो स्थानतर्फ घर पठाएको जिल्ला प्रशासनले जनाएको छ ।
मुलुकमा लकडाउन भएपछि उनीहरु निर्माण स्थलमा रहेका थिए । मजदुर पुरयाएर फर्केको बसमा भोजपुर घर भई काठमाडाैं, इटहरी, धरान लगायत ठाउँमाबस्दै आएका ६१ जनाको स्वास्थ्य परिक्षण गरेर अवस्था सामान्य पाइएपछि छाडिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभयो । उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।
‘हामीले विभिन्न आयोजनामा काम गरिरहेको मजदुरलाई उद्धार गरेर सतर्कताका साथ पठाएका छौं’ उहाँले भन्नुभयो, ‘साथै त्यस बसमा फर्केकाहरुलाई स्वास्थ्य परिक्षणपछि होम क्वारेन्टाइनमा बस्नको लागि अनुरोध गरेर छाडेका छौं ।’ उनीहरुलाई भोजपुरको देउरालीमा रहेको क्वोरन्टाइनमा स्वास्थ्यकमी टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पुरीले जिल्लामा तीन महिनालाई पुग्ने खाद्यान्न रहेको जानकारी समेत दिनुभएको छ । ‘जिल्लामा ३ महिनालाई पुग्ने खाद्यान्न छ, आत्तिनु पर्दैन’ उहाँले भन्नुभयो, खाद्यान्न स्टक छ, अन्य तेल, नुन र पेट्रोलियम पदार्थ अभाव हुँदैन ।’