सनिउल्ला धोबीकपिलवस्तु । यहाँको महाराजञ्ज नगरपालिका -७ कुशहवामा राहत वितरण कार्यमा अवरोध गरिएको छ । लकडाउनमा गरिब तथा विपन्नको लागत संकलन गरि वडा कार्यालयले राहत वितरण गर्दै गरेको अवस्थामा कुशहवाका केही स्थानीयले अवरोध गरेका हुन्।
वडाध्यक्ष अब्दुल समद मुसलमानले वडाका कर्मचारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा राहत वितरण गरिरहेको अवस्थामा बिहिबार अवरोध गरिएको जनाइएको छ ।
आफूलाई नेकपाका कार्यकर्ता बताउने कुशहवाकै रामस्वरुप बढाई, बुद्दिसागर शुक्ला, हरि यादव, राम बुझारथ यादव र राम अचल केवटले विवाद सिर्जना गरि अवरोध गरेका हुन् । वडाका कर्मचारीलाई समेत उनिहरुले दुर्व्यवहार गरेका छन् ।
शुक्ला र यादवको समूहले लकडाउनको विरोध गर्दै सयौं मान्छेसहित वडा कार्यालयमा ताल्चा लगाई अवरोध गरेकाे हाे। वडाअध्यक्ष मुसलमान, सदस्य शान्ती चमार, मंगल यादव, कल्लु यादव र फुला अहिरले गाउँ-गाउँमा राहत संकलनपछि वितरण गरिरहेको अवस्थामा अवरोध भएको थियो ।
वडाध्यक्ष मुसलमानले सबैको सल्लाह अनुसार राहत पाउने सूचि बनाई वितरण गरिएको बताउनु भयो । मुसलमानले भने , 'कसै/कसैले राहत वितरणमा राजनीति गर्न खोजेर आफुलाई आलोचित बनाउन खाेजिरहेका छन् ।'
कसैको नाम छुटेको भए थप गर्ने अनुरोध गर्दागर्दै पनि उनिहरुले अवरोध गरेको मुसलमानको भनाइ छ । वडाका ७ गाउँ मध्ये ३ गाउँमा राहत वितरण भइसकेको बताइएको छ ।