काठमाडौं । लकडाउनको कारण तरकारी नपाएर चिन्तित हुनुहुन्छ ? अब पिर मान्नु पर्दैन । तरकारी लिन तपाई अब पसलसम्म पुग्नु पर्दैन । किसाले नै तपाईके घरमा तरकारी ल्यानेछन् । किसानले बारीबाट टिपेर सिधै घरमा ल्याएको तरकारी आहा कति ताजा ? मूल्य पनि पसलमा जस्तो महंगो नपर्ने निकै सस्तो । लकडाउनको बेला यस्तो कार्यमा जुटेका छन् भक्तपुरका केही किसान ।
भक्तपुरका अगुवा कृषकहरु यतिबेला किसानको बारीमा गएर तरकारी संकलन गर्ने र उपभोक्ताको घर घरमा पुर्याउने काममा व्यस्त बनेका छन् । उनीहरुलाई प्रत्येक दिन बिहान किसानको खेतमा गई तरकारी संकलन गर्ने , संकलित तरकारीलाई प्याकेजिङ गर्ने र उपभोक्ताको घर घरमा पुर्याउने काम भ्याइनभ्याई छ । आफूहरुले टोल टोल पुगेर विक्री गर्ने तरकारी बजार मूल्य भन्दा ३० प्रतिशत सम्म सस्तो पर्ने दाबी पनि उनीहरुको छ । तरकारी प्याकेजिङ गर्दै गरेका किसान प्रचण्ड प्रधान कालिमाटीको तरकारी बजारको मूल्यलाई आधार बनाई हरेक दिन कृषकबाट तरकारी किनेर ढुवानी र ज्याला खर्च थप गरी सिधै उपभोक्ताकोमा पुर्याउने गरेको बताउँछन् । ‘भक्तपुरका स्थानीय वासिन्दा तथा कृषकले उत्पादन गरेका तरकारीह हामीले संकलन गर्छौ’ उनले भने, ‘अनि सय÷पचास कति कति हुन्छ । हाम्रो ढुवानी भाडा पनि जोड्छौ ज्याला पनि जोड्छौ । अनि खुद्रा पैसाको जोहो गर्न नपर्ने गरी ठिक्क पचासको, सयको प्याकेट बनाउँछौ ।’
खेर जाने हरियो तरकारीमा २५ देखि ३० र खेर नजाने आलु प्याज जस्तो तरकारीमा १० देखि १२ प्रतिशत मार्जिन राखेर यी युवाले उपभोक्ताको हातसम्म तरकारी पुर्याउने गरेका छन् । अहिले चाँगुनारायण र सूर्य विनायक नगरपालिका तथा वडाका पदाधिकारीसँग समन्वय गरेर तरकारी टोलटोलमा पुर्याउने गरिएको बताए । लकडाउनको निर्णय संगै किसानको तरकारी बारीमा नै कुहिने, उपभोक्ताले खान नपाउने विषय परिस्थिति उत्पन्न भएपछि किसानको बारीबाट सिधै उपभोक्ता समक्ष पुर्याउने अवधारणा विकास भएको अर्का अगुवा कृषक कुलबहादुर नेमाफुकीले बताए ।
‘देशको स्थिति र किसानले भोगेको समस्या सुन्दा, उपभोक्ता र किसानकोबीचमा हामीले पुलको काम गर्नुपर्छ भन्ने सोच्यौ’ उनले भने, ‘ किसानहरुको बिग्रन लागेको तरकारी लाई चलेको भाउमा किनेर घरबाट निस्कन नपाउने मान्छेहरुलाई , कोरोनाको त्रास भईराखेको अवसथमा उहाँहरुको घर दैलो, चोक चोकमा तरकारी लान हाम्रो भूमिका हुनसक्छ भन्ने हाम्रो ठम्याई भयो ।’
तरकारी बोकेको गाडी स्थानीय पदाधिकारी र स्वयम सेवकसँगको समन्वयमा टोलटोलमा पुग्छ । अनि १ ÷१ मिटरको दूरीमा रहेका उपभोक्तालाई प्याकेजिङ गरेको तरकारी दिने गरिन्छ । बिहान साँझ उपभोक्ताको घर घरमा पुर्याउने तरकारी वितरणमा पनि यो समुहले थप सर्तकता अपनाएको छ । तरकारीमा बिषादी छर्दा लगाउने रेनकोट जस्तो पोशाक, पञ्जा, मास्क लगाएर तरकारी वितरण गर्ने गरिन्छ । गत बर्ष कृषि ज्ञान केन्द्रले विषादी छर्ने बेला लाउने गरि दिएको पोशाक नै किसानसंग मागेर अहिले तरकारी वितरणका बेला लगाउने गरिएको नेमाफुकीले बताए । अगुवा कृषक प्रेम नारायण अधिकारीले टोल टोलमा तरकारी पुराउने कामले किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्यबीचको अन्तरलाई कम गर्नुको साथै दुवै पक्षलाई फाइदा पुगेको बताए ।
तरकारी टोल टोलमा पुर्याउने कामको नेतृत्व गरेको जिल्ला कृषि सहकारी संघका अध्यक्ष शनिस लागेजुले संकटलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने निष्कर्षका साथ उपभोक्ताको हातहातमा तरकारी पुर्याउने काममा जुटेको बताए । कोरोना भाइरसको संक्रमणको त्रास सर्वत्र भइरहेका बेला अन्य कर्मचारी राख्दा आउन सक्ने समस्या र टिकाटिप्पणीका कारण संस्थाका अध्यक्षदेखि पदाधिकारी यो काममा खटिएको उनले बताए । ‘हामीले पहल गर्नुपर्छ । पहल नगरेर हो । यहाँ संभावना छ’ उनले भने, ‘हामीले यहाँ समस्यै समस्या मात्रै देखिरहेका छौ । समस्या संगसंगै अवसर पनि छ । किसानले उत्पादन गरेका कुराहरुलाई हामीले बजार खोज्ने हो भने कुनै व्यवसायी वा व्यापारीलाई भन्नुपर्ने अवस्था छैन । यो संकटले हामी नै गर्न सक्छौ भन्ने शिक्षा दिएको छ । ” आफ्नै टोलटोलमा ताजा तरकारी पाएपछि उपभोक्ता पनि खुशी देखिएका छन् । भक्तपुरका केही स्थानबाट शुरु गरिएको यो सेवालाई सबै तर्फ र सधै पुर्याउने व्यवस्था मिलाउन सक्ने हो भने तरकारीमा रहेको बिचौलियाको बिगबिगी सधैका लागि अन्त्य हुनुको साथै किसान र उपभोक्ता दुवै लाभान्वित हुनेछन् ।