काठमाडौं । नेपालसँग सीमा जोडिएका भारतीय नाका सिल गरिए पनि पश्चिम नवलपरासीमा अन्य बाटो प्रयोग गरी सीमा क्षेत्रमा हुँदै आएको तस्करी भइरहेको छ। दिनभर लकडाउनको राम्रै प्रभाव परे पनि रात परेसँगै भारतसँग जोडिएका सीमा नाका झुलनीपुर, वहुवार, धर्मौली, बसहिया लगायतका नाका आसपासमा चहलपहल बढ्ने गर्छ ।
रातको ९ बजेपछि भारततर्फबाट नाका बन्द भए पनि खेत तथा खोला र नहरको बाटो प्रयोग गरेर भारतीय बजारबाट आलु, प्याज, लसुन, दाल लगायतका खाद्यपदार्थ नेपालतर्फ भित्राउने क्रम करिब विहानको ३ बजे सम्म चल्ने गरेको सीमा क्षेत्रका स्थानीयको भनाइ छ। तस्करले खेतको बाटो प्रयोग गरेर सामान भित्र्याउने गरेका छन्। कोरोना संक्रमणको जोखिम उच्च भएको समयमा सीमानाकामा हुने तस्करीसँगै हुने आवतजावतले जोखिम अझै बढाएको छ। रातको समयमा नेपालबाट पनि भारततर्फ मदिरा तस्करी हुने गरेको छ ।
शुक्रबार प्रतापपुर गाउँपालिका–६ गुठी प्रसौनीमा भारततर्फ लैजाँदै गरेको करिब १०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर विओपीका सशस्त्र प्रहरीको टोलीले नष्ट गरेको छ। सीमा क्षेत्रका स्थानीय अहिले पनि दैनिक उपभोग्य वस्तु खरिद गर्न भारतीय बजारमा जाने गरेका छन्। जिल्लाका मुख्य नाकामा सुरक्षाकर्मी परिचालित भए पनि खेत, खोला र नहरको बाटो प्रयोग गरेर भारत आउजाउ गर्ने र भारतीयहरु पनि नेपाल प्रवेश गर्ने गरेको सुस्ता गाउँपालिका–५ रतनगञ्जका मानबहादुर गुरुङले बताउनुहुन्छ ।
भारतियहरु साइकल र मोटरसाइकलमा दैनिक उपभोग्य वस्तु बेच्नका लागि सीमावर्ती क्षेत्रमा आउने गरेको गुरुङको भनाइ छ। भारतीय आउने क्रम नरोकिएपछि स्थानीयहरु आफैं सक्रिय भएर उनीहरुलाई फर्काउने र भारतबाट नेपाल फर्किने नेपालीहरुलाई सिधै क्वारेन्टाइनमा पठाउने गरेको उनले बताए।
पश्चिम नवलपरासीको सीमा क्षेत्रसँगै जोडिएको भारतको उत्तर प्रदेशको महाराजगंजमा कोरोना संक्रमित फेला परेको अवस्थामा सीमा क्षेत्रबाट हुने आवतजावत पूर्ण रुपमा नरोकिए नवलपरासीमा कोरोना संक्रमण फैलन सक्ने जोखिम झनै बढि देखिएको छ। रातको समयमा सुरक्षा गस्ती नहुँदा पनि तस्करले निर्वाध रुपमा सामान ओसारपसार गर्ने गरेको सीमाक्षेत्रकै स्थानीयले बताएका छन्।