सुखिलाल चौधरीउदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–19) को आशंका गरिएका उदयपुरका पाँच जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षणका लागि पठाइएका ९ जना बिरामीमध्ये ५ जनाको नतिजा नेगेटिभ आएको हो ।
बाँकी चार जनाको आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । विदेशबाट आएका त्रियुगा नगरपालिकाका चार जना, बेलका नगरपालिकाबाट एक जना र लिम्चुङबुङ गाउँपालिकाका चार जनाको स्वाब परीक्षणका लागि धरानस्थित बिपी स्वास्थ्य प्रतिष्ठान पठाइएको थियो । लिम्चुङबुङ गाउँपालिकाका बाहेकका सबै बिरामीको नतिजा नेगेटिभ आएकाले जिल्लामा संक्रमण देखा नपरेको हो ।
जिल्लामा होम क्वारेन्टाइनमा बस्नेको संख्या दुई सय ४५ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी बेलका नगरपालिकामा एक सय ५९, त्रियुगामा ७९ र ताप्लि गाउँपालिकामा ७ रहेको छ । विदेशबाट आएका तर केही बिरामी नदेखिएका उनीहरुलाई स्थानिय प्रशासनले १४ दिनसम्म घर बाहिर ननिस्कने गरी होमक्वारेन्टाइनमै राखेको हो ।
‘सर्वसाधरणको बुझाइमा अझै पनि कमी छ, छिमेकी जिल्लाबाट प्रवेश गरिरहेकाले केही भन्ने अवस्था छैन’ सुवेदीले भन्नुभयो, ‘तर पनि अहिलेसम्मको नतिजाले हामी ढुक्क छौँ, तर चुप लागेर बस्ने अवस्था भने छैन, प्रवेश गर्ने सम्भावना अधिक रहेको छ ।’
प्रमुख मोहन सुवेदीका अनुसार जिल्लाका ८ स्थानिय तहमध्ये ५ स्थानिय तहमा ८ जना महिलासहित ६२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । महिलातर्फ कटारी नगरपालिकामा ४ र लिम्चुङबुङ गाउँपालिकामा ४ जना रहेको बताइएको छ । त्यस्तै पुरुषतर्फ कटारी नगरपालिकामा २२, त्रियुगामा ८, वेलकामा ९, रौतामाईमा ७ र लिमचुङ्गबुङ्गमा ८ गरी ५४ जना रहेका छन् । आइसोलसनमा भने जिल्ला अस्पतालमा दुई जना महिला राखिएको छ ।