काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र बसोवास गर्दै आएका असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्नेहरु पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई तीबैता दिएको छ । केही दिन अघि मात्रै कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी मापदण्ड–२०७६ पारित गरेको काठमाडौँ महानगरपालिकाले राहत वितरण र लागत संकलन कार्यलाई तीब्रता दिएको हो । महानगरपालिकाले ३२ वटै वडाबाट शनिबारसम्म १० हजार ५ सय २३ जनालाई राहत वितरण गरेको छ ।
सबै वडाले उपलब्ध गराएको तथ्याङ्क अनुसार २२ हजार ६ सय ४२ जनाको विवरण संकलन गर्ने काम सम्पन्न भएको छ,’ प्रशासन विभाग प्रमुख नमराज ढकालले भन्नुभयो, ‘अभिभावक नभएका, आफ्नो आयश्रोत नभएका अरुको सहयोग एवं सहारामा बस्ने, आन्दामीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजार गर्न धौ–धौ भएका र सम्वन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई हामीले राहत दिने मापदण्ड बनाएका छौँ ।’ संगठित संस्थामा काम गर्ने बाहेक काठमाडौँ महानगरमा विगतदेखि दैनिक रुपमा ज्यालामजदुरी गर्दै आएका, भरियालगायत पनि मापदण्ड भित्र रहेको उहाँले जानकारी दिनुभयो । महानगरपालिकाले हालै विदेशबाट आएकाहरुको विवरण संकलनलाई पनि तीब्र रुपमा अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको त्रिचालिसौँ नगर कार्यपालिका बैठकले विवरण संकलनका लागि एकै प्रकारको फारम ३२ वटै वडालाई वितरण गरेको थियो । त्यसैका आधारमा विवरण संकलनको कामलाई तीब्रता दिएको उहाँले बताउनुभयो । वडाले क्वारेन्टाइनका निर्माणको कामलाई पनि तीब्र दिएका छन् । वडा नम्बर–४ का अध्यक्ष मोहन बिष्टले बागमती कलेज सुकेधारालाई २७ शैयाको क्वारेन्टाइन बनाएको जानकारी दिनुभयो । उक्त वडाले करीब २ हजारलाई राहत वितरण गर्ने योजना बनाएको छ । अध्यक्ष विष्टका अनुसार आज मात्रै ५ सय ३७ जनाले राहत प्राप्त गरेका छन् । ती वडाले ६ स्थानबाट राहत वितरण गर्दै आएको छ । वडा १० ले पनि एक हजार बढीलाई राहत वितरण गरेका जानकारी दिएको छ । वडा १८ ले १२ सय भन्दा बढीलाई वितरण गरेको जानकारी दिएको छ । वडा २७ ले पनि समस्यामा परेका करिब ७ सयलाई खाना खुवाउने काम गरेको छ ।
त्यसैगरी वडा ५ ले ९ सय बढी र वडा ११ ले ६ सय बढीलाई राहत वितरण गरेको छ । वडा १४ ले पनि ७ सय बढीलाई राहत वितरण गरेको छ । यता वडा ३१ ओम बाडेश्वर मन्दिरबाट आसपासका का १ सय १५ परिवारलाई, त्यसैगरी इन्द्रधनुष स्कूल र भ्याली भ्यू स्कुलबाट १ सय १९ परिवारलाई राहत दिएको छ । आलोकनगरमा ३० परिवार र देउराली क्लबबाट ५० परिवारलाई पनि राहत दिइएको वडासचिव सुरेश साहुले जानकारी दिनुभएको छ ।
वडा १३ को राहत वितरण कार्यक्रममा महानगरका प्रमुखशाक्य अनुगमनका लागि पुग्नु भएको थियो । संघीय संसद, जीवनराम श्रेष्ठ, प्रदेशसभा सदस्य राजेश शाक्य, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र वडाध्यक्ष ध्रुवनारायण मानन्धर पनि राहत वितरण कार्यक्रममा सहभागी हुनुभएको थियो । त्यो वडा कालीमाटी तरकारी बजार भएको क्षेत्र हो । त्यो वडामा एकै दिन २ सय ५० बढीले राहत लिएका थिए । महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलको वडा १५ ले पनि ६ सयलाई राहत वितरण गरिसकेको छ । प्रवक्ता डंगोलले करिब १३ सयको विवरण संकलन गरेको जानकारी दिनुभयो । मेयर शाक्य मतदाता रहेको वडा २१ ले पनि आइतबारबाट राहत वितरणको कामलाई तीब्रता दिएको छ ।
राहत वितरणको पहिलो दिन १ सय १० जनालाई वडा कार्यालयबाटै वितरण गरेको वडाध्यक्ष उदयचुडामणि बज्राजार्यले जानकारी दिनुभयो । वडा २१ को राहत वितरणको सुरुवात मेयर शाक्यले नै गर्नुभएको थियो । सो वडाले शनिबारसम्म २ सय १० जनाको विवरण संकलन गरेको छ । त्यसैगरी वडा १६ ले पनि शनिबारसम्म ३ हजार २ सयको विवरण संकलन गरेको छ भने ४ सय ८६ लाई राहत वितरण गरेको छ ।
वडा २६ मा पनि राहत माग गर्दै विवरण बुझाउनेको संख्या १ हजार ५ सय २० पुगेको वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिनुभएको छ । काठमाडौं बाहिर चल्ने लामो दुरीका गाडी यही वडामा भएको बसपार्कबाट छुट्ने भएकोले महानगरकै धेरै आवागमन हुने यस वडामा असंगठित क्षेत्रका श्रमिकको संख्या पनि उत्तिकै रहेको उहाँको भनाई छ । उहाँले राहत वितरणको पहिलो दिनमै २ सय ९७ जनालाई राहत दिइयो उहाँले जानकारी दिनुभयो । उहाँले आजसम्म ५ सय ६० ले राहत पाएको जानकारी दिनुभयो । उहाँले सामाजिक दुरी कायम राखेर वडाबाटै राहत वितरण गरेको उहाँले जानकारी दिनुभयो । अन्य वडाले पनि राहत वितरणको कार्यक्रमलाई तीब्रता दिएको बताउनु भएको छ ।