काठमाडौं । चन्द्रमाको रङ अकस्मात् बदलिएको छ । चन्द्रमाको रङ अन्य दिनको तुलनामा मंगलबार राति फरक भएको हो । चन्द्रमामा मंगलबार राति बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको छ । चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको लाग अनुसन्धानको विषय बनेको छ ।
खगोलविद् ज्योतिषले यसलाई दुर्लभ घटना मानेका छन् । शनि, वृहस्पति र मंगल एकै राशी अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको अनुमान छ । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका फलित ज्योतिष विषयका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय यो अनिष्टको संकेत पनि हुन सक्ने ठान्नु हुन्छ । ‘यो राम्रो योग होइन’ उहाँले भन्नुभयो, ‘अहिले कोरोना भाइरसको संक्रमण विश्वव्यापी फैलिएको छ । यस्तो योग दुर्लभप्रायः हुन्छ ।’
वेदको ६ अंगमध्येको ज्योतिषको सूक्ष्म अध्ययन अनुसन्धान गर्ने पनि एक अंग हो । त्यसले भविष्यका घटनाको पहिले नै थाहा पाउन सकिन्छ तर पछिल्लो समय नेपालमा यसको अध्ययन अनुसन्धान केवल औपचारिकतामा मात्र सीमित छ । सूक्ष्म रुपमा हुनन सकेको यसको अध्येताको स्वीकारोक्ति छ ।
ज्योतिषविद् डा खिलानाथ बस्ताकोटी शनि, वृहस्पति र मङ्गल एकै राशिमा हुने योग भएका बेला विगतमा विश्वव्यापीरूपमा ठूला घटना भएको सुनाउनुहुन्छ ।२०४६ मा यस्तै योग भएका बेला रसिया टुक्रिएको र नेपालमा जनआन्दोलन भई प्रजातन्त्र पुनःस्थापना भएको उहाँले स्मरण गराउनुभयो । रणबहादुर शाह राजा भएका बेला पनि यस्तै योगका बेलामा विश्वव्यापीरूपमा बिफर रोगको महामारी फैलिएको थियो । चन्द्रमामा मंगलबार देखिएको दृश्य भने वायु प्रदूषण नभई स्वच्छताका कारण पनि देखिएको हुनसक्ने भएकाले यस विषयमा दूरबीनलगायत यन्त्रका आधारमा अध्ययन गरेर मात्र निष्कर्ष निकाल्नुपर्ने उहाँको भनाइ छ ।
वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिषका सहप्राध्यापक जयन्त आचार्य भने चैत शुक्ल पूर्णिमामा चन्द्रमा अन्य पूर्णिमामा भन्दा नजिक देखिने र वायुमण्डल समेत स्वच्छ भएकाले मंगलबार राति आकाशमा फरक दृश्य देखिएको बताउनुहुन्छ । प्रत्येक महिनाको पूर्णिमाका दिन राति आकाशमा पूर्ण चन्द्र देखिन्छ । आज बिहान ८ः५२ सम्म पूर्णिमा तिथि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पूर्णिमा व्रत मंगलबार र हनुमान जयन्ती पूर्णिमा आज मनाइने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सुनाउनुभयो ।