आनन्द गुरुङकाठमाडौं । विभिन्न मुलुकबाट नेपाल आएका पर्यटक लकडाउनको कारण जहाँको त्यही रोकिएका छन् । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुक लकडाउन घोषण भए लगत्तै पर्यटकहरु बसेकै ठाउँका रोकिएका हुन् ।
पर्यटकीय जिल्ला मनाङ, मुस्ताङ, रसुवा र सोलुखुम्बुको विभिन्न होटलमा यतिखेर पर्यटकहरु जहाँको त्यही बसिरहेका छन् । पर्यटकहरु पोखरा र चितवनको सौराहमा पनि रोकिएका छन् ।
विश्वकै तेस्रो गन्तव्य मानिएकाे अन्नपूर्ण पदमार्गकाे विभिन्न हाेटलमा पनि पर्यटक रोकिएका छन् । अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा स्पेन, अर्जेटिना र रुसबाट आएका ९ पर्यटक रहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनुभयो । उनीहरुलाई आफ्नो देश फर्कन आग्रह गरिएको तर तत्काल जान नचाहेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
अन्नपूर्ण पदमार्गमा पर्ने मुस्ताङमा पनि बेलायत, जर्मन र कोरिया लगायतका मुलुकबाट आएका २६ रोकिएका छन् । उनीहरुलाई पनि स्थानीय प्रशासनले आफ्नो देशमा फर्कन आग्रह गरेको तर तत्काल जान नमानेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार उनीहरुलाई प्रशासनको निगरानीमै राखिएको छ ।
सगरमाथा क्षेत्र घुम्न आएका स्वीजरल्याण्ड, हंगेरी, अष्ट्रेलिया, फ्रान्स, हंगेरी र क्यानाडा लगायत मुलुकका पर्यटक १४ त्यही बसेका छन् । नाम्चे, सल्लेरी, लुक्ला र आमाडब्लम र सगरमाथा आधार शिविरका केही पर्यटकलाई भने आ आफ्नै देश पठाइसकिएको छ । विभिन्न मुलुकबाट सोलु आएका ५ सय ६७ पर्यटकलाई विशेष व्यवस्था गरेर आफ्नो मुलुक पठाइएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो ।