शिब बोहोराबाग्लुङ । कोरोना भाइरसको परीक्षण बिहीबारदेखि बागलुङमा पनि शुरु भएको छ । स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधबार बागलुङ आएसँगै आजबाट बागलुङमै कोरोना भाइरसको परीक्षण हुने निर्णय भएको हो ।
नेपाल सरकारले बागलुङ जिल्लामा कोरोनाको उच्च जोखिम बढेपछि कोरोनाको दुर्त परीक्षण (र्यापिड टेष्ट) बाटै बागलुङमा कोरोना परीक्षण गर्ने निर्णय भएको चौथो दिन अर्थात बुधबार साँझमात्रै स्वास्थ्य मन्त्रालयको टोली बागलुङ आइपुगेको थियो ।
मन्त्रालयले पठाएको वरिष्ठ मेडिकल ल्याब टेक्निसयन धनप्रसाद पौडेल नेतृत्वको टोली बुधवार साँझ मात्रै र्यापिड टेष्ट किटबाट कोरोना परीक्षणका लागि धौलागिरी अञ्चल अस्पताल आएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ । टोलीमा प्राविधक किशोर पाण्डे सहभागी हुनुहुन्छ ।
स्वास्थ्य मन्त्रालयको टोली जिल्लामा एक हजार जनाको दुर्त परीक्षण र्यापिड टेष्ट गर्ने किटसहित आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी सँगै २ थान भेण्टीलेटर, एकसय थान पर्शनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई), एक हजार थान मास्क र एक हजार थान र्यापिड टेष्टका लागि प्रयोग हुने किटलगायतका समाग्री समेत पठाएको छ । सामाग्री अस्पताललाई हस्तान्तरण गरिनेछ ।
टोलीले आज र्यापिड टेष्ट किट परीक्षणबारे ल्याबमा कार्यरत स्वास्थ्यकर्मीलाई जानकारी दिए पश्चात परीक्षण शुरु गर्ने तयारी रहेको अस्पतालले जनाएको छ । अस्पतालले मन्त्रालयको टोली, जिल्ला स्वास्थ्य कार्यालय र अञ्चल अस्पतालको समन्वयमा र्यापिड टेष्ट हुनेछ । मन्त्रालयको टोलीले बागलुङका झण्डै एक दर्जन ल्याव टेक्निसियनलाई र्यापिड टेष्ट परीक्षण गर्ने विधि सिकाएर काठमाडौँ फर्कनेछ । र्यापिड टेष्टमा पोजेटिभ देखिएको अवस्था पुन परीक्षणका लागि ल्यावमा पठाइनेछ । र्यापिड टेष्टबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने छ ।
बागलुङमा दुईजना कोरोना भाइरसका संक्रमितहरु रहेका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सरकारले जिल्लामा रहेका दुई संक्रमित, तीनका परिवार, सम्पर्क सम्बन्धमा रहेका र अन्य विदेशबाट आएका शंकास्पद गरी एक हजारको कोरोना परीक्षण गर्ने गरी बागलुङमा र्यापिड टेष्ट गर्ने निर्णय गरिएको थियो