सुखिलाल चौधरीउदयपुर । उदयपुरका स्थानिय तहको क्वारेन्टाइनमा रहेकालाई घर पठाउने वा राख्ने विषयमा स्थानीय सरकार अहिले अन्यौलमा छन् । उदयपुरमा आठ स्थानिय तहमध्ये छ वटा स्थानिय तहमा ७५ जना क्वारेन्टाइनमा रहेका छन् ।
कटारी नगरपालिकामा ३ महिलासहित २६ जना, रौतामाई गाउँपालिकामा ११ जना, त्रियुगा नगरपालिकामा ८ जना, चौदण्डीगढी नगरपालिकामा ६ जना, बेलका नगरपालिकामा १४ जना, लिम्चुङबुङ गाउँपालिकामा ९ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै लिम्चुङबुङ गाउँपालिकामा ४ जना कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनीहरु अहिले होम क्वारेन्टाइनमा बसिरहेका छन् ।
स्थानिय स्तरको क्वारेन्टाइनमा रहेका भारतलगायत तेस्रो मुलुकबाट आएका व्यक्तिमा अहिलेसम्म कोरोना संक्रमण भएको त्यस्तो कुनै लक्षण देखा परेको छैन । क्वारेन्टाइनमा अनिवार्य दुई हप्ता बस्नु पर्ने सरकारको निर्देशन क्वारेन्टाइनमा बस्नेहरुले पालना गरिरहेका छन् । तर पनि उनीहरुले क्वारेन्टाइनबाट उन्मुक्ति पाएका छैनन् ।
लिम्चुङबुङ गाउँपालिका बाराहा शिर्वानी माविमा रहेका १२ जनामध्ये कोरोना संक्रमित युवतीसँग आएका एक जनासहित चार जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पालिकाको क्वारेन्टाइनबाट होम क्वारेन्टाइनमा बस्न लगाएको गाउपालिका अध्यक्ष मेजर कुमार राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो, ‘कैलालीमा क्वारेन्टाइनमा रहेर घर फर्किएकालाई पनि कोरोना संक्रमण देखिपछि हामीले पनि कोरोना रिपोर्ट नेगेटिभ आएपनि अझै सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौँ ।’
यस्तै व्यथा रौतामाई गाउँपालिकामा पनि भारतलगायत तेस्रो मुलुकबाट फर्केका ११ जनामध्ये केहीको दुई हप्ता क्वारेन्टाइनमा पुग्न लागेको । क्वारेन्टाइनमा रहेकाको कोरोना संक्रमणको त्यस्तो कुनै लक्षण अहिलेसम्म देखा परेको छैन । उनीहरुको कोरोना परीक्षण भएको छैन् । क्वारेन्टाइनमा रहेकाहरुको दुई हप्ता समयावधि पुगेपछि पुनः राख्ने वा घर पठाउने भन्ने विषयमा स्थानिय सरकार आँफै अन्यौल रहेको रौतामाई गाउँपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले बताउनुभयो । अध्यक्ष खड्काले भन्नुभयो, ‘जिल्ला स्वास्थ्य कार्यालयलाई क्वारेन्टाइनमा रहेकाको स्वाब परीक्षण गरिदिनु पर्यो भन्दा सुन्दैन् । जिल्ला विपद समितिलाई जनाकारी गराउँदा क्वारेन्टाइनमा राख्नु भन्छ ।’ अध्यक्ष खड्काले थप्नुभयो, ‘संक्रमित मुलकुबाट आएका व्यक्तिलाई अझै क्वारेन्टाइनमा पुनः राख्ने वा घर पठाउने हामी आँफै अन्यौल छौँ ।, घर पठाउँ, कोरोना परीक्षण विना कसरी पठाउँ । क्वारेन्टाइनमा पुनः राखौं कति दिनसम्म राख ।’
सरकारले चैत्र महिनाभित्र भारतलगायत तेस्रो मुलुकबाट आएकाको अनिवार्य कोरोना परीक्षण गर्ने भनेर निर्देशन दिएको छ । तर त्रियुगा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेको आठ जनाको अहिलेसम्म पनि स्वाब परीक्षण भएको छैन् । विदेशबाट आएकाको स्वाब परीक्षण नहुँदा उनीहरु संक्रमित हो वा होइन भन्न सक्ने अवस्था नरहेको मेयर बलदेव चौधरीले बताउनुभयो ।
यस्तै चौदण्डीगढी नगरपालिका हडियाको क्वारेन्टाइनमा २ महिलासहित ६ जना रहेका छन् । उनीहरुको पनि स्वाब परीक्षण भएको छैन् । चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईका अनुसार क्वारेन्टाइनमा बसेको समायवधि पुगेपछि विदेशबाट आएकालाई घर पठाउने वा पुनः क्वारेन्टाइनमा राख्ने विषयमा अझै अन्यौल छ ।
यस्तै कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ पनि क्वारेन्टाइनमा रहेकालाई घर पठाउने वा पुनः क्वारेन्टाइनमा राख्ने विषयमा कुनै निर्देशन नआएको बताउनुहुन्छ ।
यस विषयमा जिल्ला जनस्वास्थ्य उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीसँग सम्पर्क गर्दा क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षणको तयारी गरेको बताउनुभयो । सम्भवत शुक्रबार नजिकको पालिकाहरु रौतामाई गाउँपालिकाको मुर्कुची, त्रियुगा नगरपालिका मोतिगडा र चौदण्डीगढी नगरपालिकाको हडियाको क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वाब परीक्षण गरिने सुवेदीले जानकारी दिनुभयो । ‘अन्य पालिकाको हकमा चैत्र ३० गते वा वैशाख ४ गतेमध्ये कुन दिन स्वाब परीक्षण गर्ने त्यस विषयमा छलफल हुँदैछ,’ सुवेदीले भन्नुभयो, ‘प्रदेशबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले स्वाब परीक्षण गर्ने छ ।’ स्वाब परीक्षण पछि मात्रै क्वारेन्टाइनमा राख्ने वा घर पठाउने त्यस विषयमा जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गर्ने उहाँले बताउनुभयो ।
यस्तै उदयपुरमा १३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ भने सेनाको क्याम्प बेलस्रोतमा रहेको २६ जनाको स्वाब परीक्षण गरेर विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।