अनिल यादवनवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतमा गुणस्तरहिन समाग्री वितरण गरेको छ । नगरपालिकाले बिहीबारदेखि बाडेको राहत समाग्री गुणस्तरहिन भएको भन्दै लिइएका सबै सामाग्री स्थानियले शुक्रबार नगरपालिका गेट अगाडि फालेका छन् ।रामग्राम नगरपालिका वडा नं. ११ मा बाँडिएका राहत समाग्री खानै नसकिने भएपछि नगरपालिका गेट अगाडि स्थानियले फालेका हुन् । स्थानिय धनिराम यादवले कुहिएको र कमतौल भएको चामल नगरपालिकाका मेयरले नै खानुपर्छ भन्दै आवेग व्यक्त गरेका छन् । स्थानियले त्यसको विषयमा गुनासो गर्दा सोना मन्सुली चामल भएको नागरपालिकाले दाबी गरेको छ तर त्यो नगरपालिकाले गलत भनेको यादवको भनाइ छ । यसको विषयमा जिल्ला प्रशासनलाई जानकारी गराउँदा गैरजिम्मेवार भएर कुरा गरेको यादवको गुनासो छ ।
नगरपालिकाले दुई किसिमको प्यकेज बनाएको थियो जसमा ५ जनाकोे परिवारलाई १० केजी चामल, १ केजी दाल, आधा लिटर तेल, आधा केजी सोयाविन र दुई वटा सावुन रहेको छ भने २ जनाको परिवारलाई ५ केजी चामल र अन्य समाग्री ५ जनाको परिवारअनुसार नै रहेको छ । यसरी प्याकिङ्ग गरिएको प्याकेजमा चामलमा आधा केजी चामल कम भेटिएको बताइएको छ । नगरपालिकाले राहत वितरणको लागि कार्यपालिकामा बसेको बैठकमा सोना मन्सुली चामल वितरण गर्ने निर्णय भएको तर राहत समाग्री किन्ने समयमा मुख्य मुख्य व्यक्ति मात्रै गएकाले आफूहरुलाई त्यस बारे थाहा नभएको वडा नं. ११ का वडाअध्यक्ष बम बहादुर थारुले बताउनुभयो ।
नगरपालिकाले २ सय ५० क्वीन्टल चामल परासीस्थित राजेश राइस मिलबाट खरिद गरेको हो । १० लाखमा खरिद गरिएको चामलको मल्य प्रति केजी ४० रुपैयाँ परेको प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद रेग्मीले बताउनुभएको छ । यस्तै नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले चामल सोना मन्सुली नै ल्याउन सप्लायरलाई भनिएको तर कसरी गुणस्तरहिन र कम तौल भएको भन्ने बारे नगरपालिकाले छानविन गर्ने बताउनुभएको छ ।
यस्तै केहि दिन अगाडि नगरपालिकाले किटनाशक औषधि नगरभित्र छरेको थियो । त्यो किटनाशक औषधि पनि म्याद सकिएको भनेर स्थानियले व्यापक विरोध गरेका थिए । नगरपालिको पटक पटकको गल्तीले गैरजिम्मेवार भुमिका खेलिरहेको स्थानियको भनाइ छ । रामग्राममा कुल १८ वटा वडाहरुमा २३ सय जनालाई राहत वितरण गर्ने निर्णय भएको छ । जसमा वडा नं. ४ ले आज वडा कार्यालयको बैठकको निर्णयबाट सो राहत समाग्री फिर्ता गरेको छ भने अन्य वडाहरुबाट फिर्ता आउने कार्य जारी रहेको छ ।
जिल्ला प्रशासनद्धारा छानविन समिति
यस्तै विहानै देखि जिल्लामा चर्चाको विषय बनेको र जिल्ला प्रशासनमा फोनमार्फत प्रत्यक्ष गुनासो बढेकाले ५ सदस्यीय गुणस्तर र नापतौल समिति गठन गरिएको छ । राहतबारे चौतर्फि आलोचना आएपछि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले प्रशासकीय अधिकृत सागर गौतमको संयोजकत्वमा समिति गठन गर्नुभएको छ । समितिमा घरेलु तथा साना उद्योगका प्रमुख, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र उद्योग वाणिज्य संघका प्रतिनिधि छन । समितिले आजै गुणस्तर र नाप तौल गर्न खाद्यान्न सामाग्री नाप तौल तथा गुणस्तर कार्यालय भैरहवा पठाउने छ ।