प्रकाश गौतम रुकुम (पश्चिम) । आठविसकोट नगरपालिकामा १२ वार्ड क्षमताको कोरोना विषेश अस्पतालको निर्माण कार्य अहिले धमाधम भइरहेको छ । १० दिनमा सम्पन्न गर्ने गरी शुरु गरिएको अस्पतालको निर्माण कार्य पाँच दिनमा ६० प्रतिशत पूरा भइसकेको प्रोजेक्ट म्यानेजर भिमराज केसीले जानकारी दिनुभयो ।
अस्पताल निर्माण लागि आवश्यक पर्ने थप सामग्री शनिबार आइपुगेको छ । पहिले ल्याएको १७ हजार इट्टा नगुग्ने भएकाले हिजो फेरि थप २८ हजार ९ सय इट्टा, १०० पिस पलाइबेट आइपुगेको प्रोजेक्ट म्यानेजर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार इलेक्ट्रिसिएन बेट र एसीका लागि आइतबार काठमाडौँ गाडी पठाइने छ । दैनिक ४० जना कामदारले राती र दिनमा गरी २ चरणमा काम गरिरहेका छन् । कोरोना भाइरस संक्रमित व्यक्तिको उपचार गर्नका लागि १२ श्ययाको आइसोलेसन वार्ड निर्माण भइरहेको हो ।
दश दिनमै पूरा गर्ने गरी सुविधा सम्पन्न वार्ड बनाउन थालिएपछि स्थानियबासी खुसी भएका छन् । कोरोना फैलिन नदिन विभिन्न प्रयासहरु भइरहेको र केही गरी कोरोना संक्रमित भेटिहाले र फैलिहालेमा उपचार गर्न सहज होस भनि अस्पताल निर्माण गर्न थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताउनुभयो ।
भवन मात्रै ६९ लाख ४५ हजारमा बन्ने गरी डिजाइन स्टिमेट बनेको छ । त्यसमा उपकरण खरिद र जडानको खर्च जोडिएको छैन् । जसमा नगरपालिका, नगरबासी, उद्योगी, व्यापारी, संघसंस्था, राजनीतिक दल, जनप्रतिनिधि, प्रहरी, कर्मचारीको आर्थिक तथा श्रम सहयोग पनि रहेको नगर प्रमुख केसिले जानकारी दिनुभयो । यसका साथै अस्पतालका लागि बेड, काठ, बालुवालगायतका सामग्री पनि सर्वसाधारणले नै उपलब्ध गराइरहेका छन् ।बिरामी भर्ना हुने ६ वटा कोठामा अट्याच बाथरुम, तातोपानीको व्यवस्था, स्वास्थ्यकर्मीको छुट्टै वार्ड, छुट्टै निवास निर्माण हुनेछ । ६ बेडको नर्मल वार्ड पनि हुने छ । यो सँगसँगै अस्पतालको छेउमा हेलिप्याड पनि बन्ने नगरपालिकाका स्वास्थ्य संयोजक मणिराज शाहले बताउनुभयो ।एउटा अस्पतालमा हुने न्यूनतम स्ट्यान्डर्ड कायम गरेर अस्पताल बन्दै छ । कोरोना सजिलै फैलने भएकाले पनि यो आइसोलेसन अस्पतालमा रहेका बिरामी र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर अस्पताल निर्माण भइरहेको शाहको भनाइ छ ।