काठमाडौं । यतिबेला विश्व नै कोराना भाइरस (कोभिड १९)विरुद्ध लडिरहेको छ । विश्वका शक्तिशाली मुलुक समेत आँखाले देख्न नसकिने भाइरसको सामु निरिह साबित भएका छन् । एक मुलुकले अर्को मुलुकलाई आरोप प्रत्यारोप गर्नुबाहेक औषधि तथा भ्याक्सिन पत्ता लगाउन सकेका छैनन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस २ सय ८ देशमा फैलिँदा समेत यसको औषधि पत्ता नलाग्नु र नियन्त्रणमा नआउनु विश्वमा खतराको घण्टी बज्नु हो । हाम्रा आनीबानी र व्यवहारमाथि सुक्ष्म जीवहरुको रजाइँ हो । हामी कमजोर भएको साबित हुनु हो । विश्वमा विकास र प्रविधि जति झाँगिदै गएको छ उति नै खतरनाक रोगहरुको उत्पत्ति भइरहेको छ ।
छातीरोग विशेषज्ञ एवम् पूर्व स्वास्थ्य सचिव दीर्घसिंह बमका अनुसार वातावरण अनुकुल भाइरसहरुपनि बलियो र खतरनाक भएर उब्जिरहेका हुन्छन् । मौसमले पनि उनीहरुको क्षमतामा परिवर्तन गरिरहेको हुन्छ । विश्वमा जसरी दिनप्रतिदिन नयाँ अविष्कार भइरहेका छन्, सोही अनुरुप नयाँ विकिरण समेत पैदा भएका छन् । जसको दोष शक्तिशाली मुलुकलाई जान्छ । नेपालजस्तो विकासन्नोमेख राष्ट्रहरु त्यसको चपेटामा पर्छन । डा. बम भन्नुहुन्छ, यस्ता भाइरसहरु क्षणिक रुपका लागि उत्पन्न हुन्छन्, जब मानिस तथा आफू अनुकुल सजीव वस्तुमा प्रवेश गर्छन तब मात्रै सक्रिय हुन्छन् । यस्तै रुपमा अहिले कोरोनालाई लिन सकिन्छ ।
विश्वमा अहिले २२ हजार भन्दा बढि चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार संक्रमित चिकित्सकको संख्यामा वृद्धि हुने देखिन्छ । कति चिकित्सकले कोरोनाको संक्रमणका कारण मृत्युवरण समेत गरेका छन् । यो अनुपातलाई हेर्दा कोरोनाको जोखिम जो कोहीलाई छ, जतिबेला पनि हामी संक्रमणको शिकार बन्न सक्छौँ । अरु सामान्य रोगको जस्तो नभइ यसको प्रकृति जटिल छ । एकजनालाई मात्रै संक्रमण देखियो भने संक्रमितसँग उठबस गर्ने सबैलाई खतरा हुन्छ । चीन, इटलीलगायतका मुलुकमा हजारौँ बिरामीलाई निको पारेका चिकित्सक कोरानाविरुद्ध लड्न नसक्दा आफै मृत्युको मुखमा पुगेका छन् । कतिपयको मृत्यु भइसकेको छ ।
सबै मुलुकको अवस्थिति हेर्दा नेपालमा जोखिम कम छैन । आइतबारमात्रै नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतीय नागरिक हुन् । उनीहरु १३ दिनदेखि पर्साको वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका थिए । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भएपनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।लकडाउन खुलेपछि घर फर्कन भनी उनीहरुले १५ अप्रिलका लागि टिकट काटेका छन् । घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैँ नारायणी अस्पतालमा पुगेका थिए ।
एकपछि अर्कोमा भेटिँदै गएको कोरोना संक्रमणले नेपालभित्र अन्य मुलुकबाट प्रवेश गरेका सबै व्यक्तिहरुको पहिचान गरी चेकजाँच गर्नु अनिवार्य भएको छ । एक सचेत नागरिकको हैसियतले स्वयम् व्यक्तिले नै सरकारलाई सहयोग गर्न आफू र आफ्नो परिवारलाई जोगाउन स्वास्थ्य परीक्षण अनिवार्य देखिएको छ । विशेष गरी विदेशबाट स्वदेश फर्किएकाहरुको स्वास्थ परीक्षण र त्यसपछि क्रमशः उनीहरुसँग घुलमिल भएकाहरुको स्वास्थ्य जाँच गर्नुपर्ने देखिन्छ । मानव सभ्यताको उत्पत्ति भएदेखि अहिलेसम्मको स्थितिसम्म आइपुग्दा विश्वले व्यहोरेको यो ठूलो क्षतिको सामना गर्नुबाहेक कसैसँग यसको विकल्प छैन । हाम्रोजस्तो मुलुकमा यसको उत्तम विकल्प होम क्वारेन्टाइन नै हो ।
मुलुकमा भोकमरी, हत्या हिंसा, चोरी डकैतीको भयले जनतामा त्रास छ । सरकारले यो परिस्थितिको सामान्य ढंगले सेफ ल्यान्डिङ गर्न नसके कहि अर्को विपत्ति सिर्जना हुन्छ की भन्ने चिन्ता बढ्दै गएको छ । मुलुकका विभिन्न भु–भागमा बसेका मानिसहरु विशेष गरी ज्याला मजदुरी गरेर खाने वर्ग अहिले भोकमरीको चपेटामा परिरहेका छन् । जंगलमा तरुल, कन्दमुल, गिठ्ठा खाएर बाँचेका राउटे समुदाय मानव समाजमा घुलमिल हुँदै गर्दा अहिले उनीहरुको चुल्हो बल्न छाडेको छ । एकातिर कोरोनाको भय, अर्को तर्फ भाेकमरी, यसले समाजलाई आतंकित तुल्याएको छ । हाम्रा नजर ती पेटसम्म नपुगेपनि, पेट रित्तिँदै छ ।
सीमामा रहेका नेपालीहरु बढी मारमा परेका छन् । निजी कम्पनी, संस्थामा काम गर्ने वर्ग समस्यामा छ । एक हप्ताको लागि राहत पाएपनि अर्को हप्ता के खाने चिन्ता थपिएको छ । राहत पाउन नागरिकताको फोटोकपी कहाँ गएर प्रिन्ट गर्ने अर्को समस्या छ । पछिल्लो समय सामाजिक सञ्जालमा कन्यादान गरेजस्तै देखिने तस्बिरले समाजको चित्र उदाङ्गो पारेको छ ।