काठमाडौं । विक्रम संवतको नयाँ वर्ष २ हजार ७७ आजदेखि शुरु भएको छ । नयाँ वर्षको स्वागतमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरिंदैछ । नेपालमा हरेक वर्ष वैशाख १ गते नयाँ वर्ष मनाउने गरिन्छ ।
यस अवसरमा समाजमा धार्मिक, साँस्कृतिक तथा सामाजिक कार्यक्रमको आयोजना गरी आपसमा नयाँ वर्षको शुभकामना व्यक्त गर्ने चलन छ । समाजमा स्थापित संघ संस्थाहरुबाट पनि शुभकामनापत्र तथा भित्तेपात्रो प्रकाशित गरी सबैमा सुखसमृद्धि र प्रगतिको कामना गर्ने गरिन्छ । कतिले नयाँ वर्षसँगै नयाँ कामको पनि थालनी गर्दछन् ।
नेपाली समाजमा प्रचलित सौर्यमानको आधारमा बार,गते र चन्द्रमानको आधारमा तिथि, पर्व निर्धारण गरिएको नेपाली पञ्चाङ्गपात्रो यसै दिनदेखि परिवर्तन गरिन्छ । सूर्यसंक्रमण भई मेष राशिको उच्च स्थानमा जाने मेषसंक्रान्ति वा वैशाखसंंक्रान्तिदेखि विक्रम संवतको नयाँ वर्ष शुरु हुन्छ ।सूर्य क्रान्तिका दृष्टिले महत्वपूर्ण मानिने साउनमा पर्ने कर्कटसंक्रान्ति,कात्तिकमा पर्ने तुलासंक्रान्ति,माघमा पर्ने मकरसंक्रान्ति र वैशाखमा पर्ने मेषसंक्रान्तिलाई नेपाली समाजमा विशेष पर्व मानेर पवित्र जलाशयमा स्नान गरी पूजापाठ र दानपुण्य गरिन्छ । मेषसंक्रान्तिका दिन देशका विभिन्न नदी दोभान,त्रिवेणी तथा पवित्र जलाशयहरुमा स्नानदान गर्ने विधान छ ।
काठमाडौ उपत्यकाको उत्तरमा पर्ने शिवपुरी पर्वतको काखमा अवस्थित वाग्द्वारमा गई जलस्नान गरी टोखा सपनतीर्थसम्मको यात्रा गर्ने परम्परा छ । साथै काठमाडौ उपत्यकाको दक्षिणपश्चिममा पर्ने चम्पादेवी,पश्चिमोत्तरमा पर्ने नागार्जुन जामाचो लेकमा पनि आज मेला भर्ने चलन छ । सूर्यगणनाअनुसार वैशाख संक्रान्तिका दिन भक्तपुरमा बिस्केटजात्राको लिंगो ढालेर नयाँ वर्षको स्वागत गर्ने परम्परा भएता पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरस कोभिड–१९को महामारीका कारण जारी लकडाउनले गर्दा नयाँ वर्षको मेला प्रभावित भएको छ ।
नेपालको तराईमा बसोवास गर्ने थारु समुदायमा वैशाख १ लाई वर्षको शिर महिना मानेर शिरुवा पर्व मनाउने गरिन्छ । साथै सुदूर पश्चिम क्षेत्रमा आजै विशुपर्व मनाई विरुडा वा क्वाँटी खाने चलन छ । यता सिरहामा रहेको सहलेश फूलबारीको रुखमा सहलेश सुनाखरी फुलेपछि मिथिलाञ्चलभरि नयाँ वर्षको स्वागतमा हर्षखुशी व्यक्त गरिन्छ ।