प्रकाश गौतमरुकुम । जिल्लाको आठबिसकोट नगरपालिकामा अति विपन्न घर परिवारलाई राहत वितरण शुरु गरिएको छ । विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरस संक्रमणको त्रासले जारी लकडाउनका कारण प्रत्यक्ष मारमा परेका र दैनिक मजदुरीबाट जिविकोपार्जन गर्दै आएका श्रमिक तथा असहाय परिवारलाई राहत वितरण गर्न लागिएको हो । आइतबारदेखी शुरु गरिएको खाद्यान्न वितरण कार्यक्रम नगरपालिकाका सबै वडामा गरिने भएकाे छ ।
वडानम्बर ९ बाट वितरण शुरु गरिएको राहत ७ सय २३ विपन्न घर परिवारलाई वितरण गरिने नगर प्रमुख गोर्ख बहादुर केसीले बताउनुभयो । केसीका अनुसार प्रति घर परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ लिटर तेल, २ किलो चिनी, २ प्याकेट नुन र ४ याकेट साबुन वितरण गर्न थालिएको छ । नगर प्रमुख केसीले बाहिरी जिल्लाबाट नगरपालिकामा मजदुरी गर्न आएकाहरुलाई पनि खाद्यान्न वितरण गरिने जानकारी दिनुभयो । नगरमा मजदुरीका लागी आएका र लकडाउका कारण घर जान नपाएका ६० जना श्रमिकलाई पनि राहत स्वरुप खाद्यान्न हस्तान्तरण गरिँदैछ । सोमबारसम्म यस्ता व्यक्तिको पहिचान सकेर राहत दिने योजना रहेको बताइएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ध्रुव प्रसाद लम्सालका अनुसार राहत पाउने अति विपन्न परिवार सबैभन्दा बढी वडानम्बर ११ मा रहेका छन् । यहाँका १ सय १ जना विपन्न परिवारलाई राहत वितरण गर्न लागिएको कार्यकारी अधिकृत लम्सालको भनाइ छ । उहाँका अनुसार सबैभन्दा कम वडानम्बर १ का ३१ घर परिवारले खाद्यान्न सामग्री पाउने छन् ।
साबिकको स्याँलाखदी गाविस वडानम्बर १, २ र ३ मा भने राहत सामग्री ढुवानी गर्न कठिन देखिएको छ । अहिलेसम्म पनि झारमारे लेखमा हिउँ जमेका कारण त्यहाँ खाद्यान्न सामग्री ढुवानी गर्न समस्या भएको वडा नम्बर १ का प्रशासन सहायक चक्र बहादुर डिसीले जानकारी दिए ।
आइतबार वडानम्बर ९ बाट राहत वितरण शुरु भएको र ५७ घरपरिवारलाई खाद्यान्न उपलब्ध हुने अध्यक्ष तारकबहादुर शाहीले बताएका छन् । नगरले वडामार्फत राहत वितरण थालेको हो । अन्य वडाले पनि छिट्टै क्रमश वितरण गर्ने तयारी गरिरहेका छन् । ७ सय २३ परिवारलाई प्रति प्याकेज २ हजार २ सय ९५ रुपैयाँका दरले राहत उपलब्ध गराउँदा १६ लाख ५९ हजार २ सय ८५ रुपैयाँ खर्च हुने नगर प्रमुख केसीको भनाइ छ ।