काठमाडौं । नयाँ वर्ष २०७७ को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेताले देशविदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ मा शुभकामना सन्देश दिनुहुँदै आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्ने बताउनुभएको छ ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सबैले प्रयास गर्नुपर्ने उल्लेख गर्नुभएको छ । राष्ट्रपतिले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवं नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि देश विदेशमा रहेका नेपालीमा नयाँ वर्षको शुभकामना व्यक्त गर्नभएको छ।
प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको हो ।
सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षकै अवसरमा शुभकामना दिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षमा कोरोना भाइरसविरुद्धको संघर्षमा सफलता मिलोस् भन्नुभएको छ । दाहालले नयाँ वर्षले मानव जातिका लागि अन्तर्रा्ष्ट्रिय र राष्ट्रिय एकताको आधार तयार पार्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबैजना एकजुट भएर लड्न आवश्यक रहेको बताउनुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै देउवाले कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई सघाइरहेको उल्लेख गर्नुभएको छ । पू
र्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा(. बाबुराम भट्टराईले पनि नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको छ ।