सुखिलाल चौधरीउदयपुर । त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय लुकेर बसेको पाइएको छ । उनीहरु लकडाउनपछि चोरबाटो हुँदै आएका स्थानियले बताएका छन् । उनीहरुसँग विराटनगर जोगवनीका चार नेपाली पनि छन् ।
दुई दिनअघि वीरगञ्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि उदयपुर मस्जिदमा पनि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताउनुभयो । १२ भारतीयको परिचयपत्र रहेको र अन्य ४ जना नेपाली रहेको पाइएका छन् । उनीहरूले मस्जिदमा सामाजिक दूरी कायम गरेको बताए पनि स्थानियले घुलमिल गरिरहेको दाबी गरेका छन् ।
स्थानियले नै मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलाई सूचना दिएका थिए । तर कसैले आफूहरुको गुनासो नसुनेको एक स्थानियले बताए ।
स्थानियले त्यस मस्जिदमा अनुगमन गर्न पटक पटक जानकारी गराउँदा पनि प्रशासन मौन रहेको बताइएको छ । एक स्थानियले भने, ‘हप्ता दिन अघि नै त्यस मस्जिदमा अनुगमन गर्न आग्रह गरेपनि जिल्ला प्रशासन कार्यालयलाई भन भन्छ, जिल्ला प्रशासनले प्रहरीलाई देखाउँछ अनि प्रहरीले स्थानिय निकायलाई भन्छ र स्थानिय नियकाले वडाध्यक्षलाई भन भन्दै चासो दिइएको थिएन ।’ एक स्थानिले भुल्के निवासी मनिर मियाँ भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मरकज मस्जिदमा भएको धार्मिकसभामा गएको आशंका गरेपनि त्यसबारे प्रशासनलाई जानकारी गराउँदा पनि प्रशासनले खासै चासो नदिइएको बताए ।
ती सोह्रै जनाको स्वाब परीक्षण गर्न टोली परिचालन गरिएको अधिकारी भट्टराईले बताउनुभयो । प्रशासनका अनुसार १२ भारतीय विराटनगरबाट सप्तरी हुँदै त्यहाँ आएका थिए । उनीहरू सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३–५ गते भएको नेपाल इज्तिमा सहभागी हुँदै उदयपुर आएको जनाइएको छ । उदयपुरका एक सुरक्षाकर्मीका अनुसार गाईघाट, देउरी, जलजले, भुल्केलगायतका मस्जिदबाट करिब ३ सयको हाराहरीमा सप्तरीको बोदेबर्साइनमा भएको इज्तिमा सहभागी भएका थिए ।
स्वाब संकलनसँगै तिनीहरूको ‘ट्राभल हिस्ट्री’ पनि खोजिने अधिकारी भट्टराईले बताउनुभयो । उनका अनुसार १६ जनालाई मस्जिदमै सुरक्षा निकायको निगरानीमा राखिएको छ । गाईघाट, देउरी र जलजलेमा रहेका मस्जिदमा पनि अनुगमन गरिँदै छ ।