पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को दिनचर्या सधैँ राजनीतिक व्यस्ततामै बित्छ । बिहान सबेरैदेखि राति अबेरसम्म पार्टीकोसहित विभिन्न कार्यक्रम र मिटिङमा व्यस्त भई रहनुहुने अध्यक्ष दाहाल मुलुकमा लकडाउन शुरु भएपछि भने ललितपुरको खुमलटारस्थित निवासमा क्वारेन्टाइनमा बस्नुभएको छ ।
सधैँ राजनीतिक दौडधुप गरिरहनु हुने अध्यक्ष दाहाललाई लामोसमय निवासमै बस्नु पर्दा कस्तो अनुभूति भइरहेको छ ? कसरी बित्दैछ उहाँको दिन, प्रधानमन्त्री तथा पार्टीका अन्य नेतासँग क्वारेन्टाइनबाटै कसरी भइरहेको छ सम्पर्क र छलफल ? लामो क्वारेन्टाइनमा बस्दा के योजना बनाउनुभएको छ उहाँले ? प्रस्तुत छ, अध्यक्ष दाहालले यी लगायतका विषयमा जनता समाचार डट्कम लागि नरेश न्यौपानेसँग अनलाइन माध्यमबाट गर्नुभएको विशेष कुराकानी :
अध्यक्ष ज्यू, यहाँलाई जनता प्रसारण तथा प्रकाशन संस्थाको जनता समाचार डट्कममा हार्दिक स्वागत छ । सबैभन्दा पहिले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा नयाँ वर्ष– २०७७ को हार्दिक मंगलमय शुभकामना छ । कसरी समय बिताइरहनु भएको छ यो बन्दाबन्दीको अवस्थामा ? आफ्नो दैनिकी संक्षेपमा बताइदिनु हुन्छ कि ?मेरो तर्फबाट पनि सबैभन्दा पहिले जनता प्रसारण तथा प्रकाशन टीमका सबै सदस्यहरुलाई नयाँ वर्षको शुभकामना छ । साथै तपाईँहरुको लोकप्रिय सञ्चार माध्यममार्फत देश–विदेशमा रहनुभएका सबै नेपाली आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइ सबैमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । अहिले त हामी सबै र मेरो दैनिकी पनि फेरिएको छ । पार्टीको ज्यादै जरुरी कामबाहेक घरबाहिर निस्केको छैन । अस्ति एकछिन जस्तो भनौं न, पार्टीको सचिवालयको बैठक भएको थियो । बालुवाटार गएको थिएँ । त्यसबाहेक घरबाहिर खासै निस्केको छैन । बिहानै पाँच बजे उठ्ने बानी छ मेरो । राति जतिसुकै अबेलासम्म बसे पनि बिहानै पाँच बजे आँखा खुल्छन्, यो मेरो विद्यार्थी कालदेखिकै बानी हो । त्यसपछि नित्यकर्म लगायत व्यायामका लागि समय खर्चिन्छु । आठ बजेतिर हल्का खाजा खान्छु । चिया–सिया खाएपछि दिनको बाह्र बजेसम्म लेख–पढतिर लाग्छु । आजभोलि त्यति धेरै फोन आउँदैनन्, यसैले पढाई–लेखाईमा खासै व्यवधान हुँदैन । दिउँसोको खानापछि एकछिन्, त्यस्तै एक घण्टाजति आराम गर्छु । मलाई दिउँसोमा सुत्न त्यति मन पर्दैन ।दिउँसो केही समय परिवारका सदस्यसँग गफगाफ पनि गर्छु, खासगरी दिउँसोको चिया खाने बेलामा । दिउँसोको समयमा देशका विभिन्न भागका कमरेडहरुसँग आफैले फोन सम्पर्क गर्छु, सबै ठाउँको हालचाल बुझ्ने प्रयास गर्छु, कार्यकर्ता साथीहरुलाई यो विषम परिस्थितिमा मनोबल उच्च बनाउन सल्लाह दिन्छु । बन्दाबन्दीको बीचमा स्थानीय सरकारमार्फत कसरी जनताको सेवा भइरहेको छ भनेर अन्तरक्रिया पनि गर्ने गरेको छु । कार्यकर्ता साथीहरुले बताउनुभएका समस्या सरकारमा रहनुभएका सम्बन्धित मन्त्री कमरेडहरुलाई सुनाउँछु । आवश्यकता अनुसार एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीजीसँग पनि फोन गर्छु ।
बेलुकीको समयमा सबैभन्दा पहिले देशभित्रका टेलिभिजन च्यानलहरुमा एकसरो समय दिन्छु । त्यसपछि विभिन्न विदेशी टेलिभिजन हेर्छु । खासगरी दैनिकजसो बीबीसी, सीएनएन, सीजीटीएन र भारतीय टेलिभिजन च्यानल– दूरदर्शन एकसरो हेर्छु । बेलुकीको खाना खादै गर्दा पनि समाचार हेर्छु । यति गर्दा रातिको दश बजिसक्छ । त्यसपछि सुत्छु । सारांशमा भन्नुपर्दा यही नै हो मेरो अहिलेको दैनिकी ।
अहिले कुन–कुन पुस्तक पढिरहनु भएको छ , अनि के लेख्दै हुनुहुन्छ ? जनतालाई केही बताइदिनु हुन्छ कि ?अहिले कार्ल माक्सकाे पूँजी पढिरहेको छु, उहिले दोहोर्याएरै पढेको थिएँ विद्यार्थी कालमा, अहिले वर्तमान परिप्रेक्ष्यको सान्दर्भिकता नियाल्दै पढिरहेको छु । यसबीचमा एंगेल्सको परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति, लेनिनको राज्य र क्रान्ति फेरि एकपटक पढेँ । यसपछि पुष्पलाल र मदन भण्डारीका संकलित रचना फेरि एकपटक पढ्ने सोचेको छु । साथै मैले थोमसको ‘क्यापिटल’ र खन्नाको ‘भविष्य एसियाको हो’ भन्ने पुस्तक पनि पढिरहेको छु । जहाँसम्म लेखाइको विषय छ, अहिले आन्दोलनका भोगाइ लेख्दै छु, समीक्षा गर्ने प्रयास गरिरहेको छु तथा आफैले विगतमा लेखेका रचनालाई अध्यावधिक गर्ने प्रयास गरिरहेको छु ।
यो कोरोना महामारीको समस्या कहिलेसम्म जानसक्ला जस्तो लाग्छ तपाईंलाई ? के मानवजातिले यो महामारीमाथि विजय पाउन सक्ला ? तपाईं त सत्ताधारी पार्टीको अध्यक्ष ! के सोच्नु भएको छ यसबारेमा ? सरकारलाई के सुझाव दिनु भएको छ ?यो रोग मानवजातिमा आइलागेको नितान्त नयाँ रोग हो । अन्ततः यस विश्वव्याधिमाथि मान्छेले विजय पाएरै छाेड्ने छ । मानव इतिहासलाई हेर्ने हो भने विगतमा पनि ठूलाठूला महामारी आएका थिए भन्ने जानकारी हामीलाई छ । ती सबै महामारीमाथि सापेक्षिक विजय प्राप्त गरेरै मानव समाज अगाडि बढेको हो र यो क्रम जारी रहने छ । अब, जहाँसम्म यो कोरोना नामको महाव्याधिको विनाशक चरित्रको सामना कहिलेसम्म गर्नु पर्ने हो, या यो अहिले चलेको शब्द छ नि लकडाउन कहिलेसम्म नेपालले जारी राख्ने हो या विश्वका समस्याग्रस्त देशले यो लकडाउनलाई कहिलेसम्म निरन्तरता दिनु पर्ने बाध्यता रहनेछ भन्ने प्रश्न छन्, यसबारेमा अहिले नै ज्योतिषिले जस्तो भविष्यवाणी गर्न सकिदैन । यसबारेमा चिकित्सा क्षेत्रका विज्ञहरुले त केही भन्न सक्नुभएको छैन भने म एक राजनीतिकर्मीले कसरी यस विनाशक व्याधि कोरोनाको आयु तोक्न सक्छु र ? मैले पहिले नै भनिसकेँ, यस रोगको औषधि पत्ता लागेपछि यसको आम–विनाशक व्याधिमाथि हामीले अवश्य विजय पाउने छौँ तर एकपटक देखापरेको रोग कहिल्यै नफर्कने गरी समूल नष्ट भने नहुने रहेछ । जस्तो कि हाम्रो देशमा उहिल्यै औलो (मलेरिया) उन्मूलन भएको भनिएको थियो । बिफर, प्लेग जस्ता रोगउन्मूलन भए भनिएको थियो । तै पनि ती रोग फाट्टफुट्ट त देखा परिरहेकै छन् । यत्ति हो कि, औषधि पत्ता लागिसकेको हुँदा ती रोगहरू नियन्त्रणभित्र छन् ।
कम्युनिष्ट आन्दोलनलाई मैले मेरो जीवनकै अंग बनाएको छु । यस प्रक्रियामा मबाट अवश्य पनि थुप्रै कमजोरी भए होलान् तर मैले आफ्नो तर्फ निरन्तर इमान्दार प्रयत्न गरेको छु मेरो काम आइपर्ने विवाद मिलाउने हो, विवाद थप्दै जाने होइन
अहिलेको लकडाउनको अवधि आउने दिनका परिस्थितिहरुमा भर पर्नेछ । लकडाउनको बाध्यता कहिलेसम्म जाला भन्ने प्रश्नमा यति भन्न सक्छु कि जतिछिटो यसको फैलावटलाई सीमित घेराभित्र रोक्न सकिनेछ, या अहिले चिकित्सकहरुले भन्नु भएजस्तो यसको विस्तारको चक्रलाई सीमित गर्न सकिने छ, त्यति नै छिटो सीमित क्षेत्रमा लकडाउन खोल्दै, परिणाम हेर्दै, खतरा नदेखिएमा खोलिने क्षेत्रको दायरा बढाउँदै लैजानु पर्ने हुन्छ । अनन्तकालसम्म यो लकडाउन लम्ब्याउन भने सकिदैन किनभने हामीले उत्पादन नगरी त बाँच्न सक्दैनौं । किसानलाई खेतबारीमा काम गर्न आव्हान गर्न चाहन्छु । हिँउदे बाली स्याहार्ने समय छ । अहिले नै बर्खे मकै छर्ने बेला भइसक्यो । अब एक महिनापछि, जेठको शुरुवातमै सिँचाइ हुने ठाउँमा धानको बिउ राख्ने समय शुरु हुनेछ । यी सबै काममा हामी सबै लाग्नै पर्ने छ । म तपाईंको यो जनतासमाचार डट्कममार्फत सबै नेपाली जनता र खासगरी पार्टीका सबै कार्यकर्ताहरुलाई आव्हान गर्न चाहन्छु-कृषिको कामलाई प्राथमिकता दिनुहोस् । परिवारभित्रैका मानिसले सँगै काम गर्दा कुनै खतरा हुँदैन । वरपरका छिमेकीसँग पर्म आदान–प्रदान गर्न सकिन्छ, काम गर्दा निश्चित दुरी राख्ने सावधानी छोड्नु भएन । हरेक कम्युनिष्ट कार्यकर्ताको परीक्षा संकटको बेलामा हुन्छ । यसैले हाम्रा कार्यकर्ताले परस्परमा व्यक्तिगत दुरी कायम गर्दै जति सकिन्छ, किसानलाई बाली स्याहार्न र नयाँ बाली लगाउन सहयोग गर्नुहोस् भनी विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु ।
अहिलेको महाव्याधिमाथि सापेक्षिक विजय प्राप्त गर्नका लागि हाम्रोजस्तो सीमित साधन–स्रोत भएको देशले अधिकत्तम शक्ति लगाउँदा छिटो गर्न सक्ने भनेको धेरैभन्दा धेरै जनताको परीक्षण नै हो । यसैले अब हाम्रो राज्यको सम्पूर्ण शक्ति आम नागरिकको कोरोना परीक्षणमा लगाउनु पर्दछ । टेष्ट मात्रै गर्नका लागि ठूलो विशेषज्ञको आवश्यकता पर्दैन । भएजतिका सबै ल्याब टेक्निसियन र प्यारामेडिकल जनशक्ति लगाएर अब आमजनताको रोग परीक्षणमा राज्यका सबै सम्भव मेशिनरी लाग्नु पर्दछ । टेष्ट गर्ने जनशक्ति पुग्दैन भने छोटो समयको तालिम दिएर भएपनि जनशक्ति थप्नु पर्दछ । एकप्रकारले जनगणना लिएजस्तै घरघरै जानु पर्दछ । संक्रमितहरुको एकीन तथ्यांक आइसकेपछि अनि चिकित्सकले भन्नुभएजस्तो ग्रीन जोन, यलो जोन वा रेड जोन तोक्न सकिन्छ । कुनै पनि संक्रमित व्यक्ति नभेटिएको क्षेत्र (ग्रीन जोन)लाई आफ्नो क्षेत्रभित्र खुला गर्दा भयो, यलो जोनमा सावधानी अपनाएर खुला गर्नु पर्यो भने रेड जोनलाई कडा रुपमा लकडाउन मै राख्नु पर्याे। यही हो हामीले गर्न सक्ने उपाय । मैले सहकर्मी पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई यही सुझाव दिएको छु । यस सन्दर्भमा सरकारको जिम्मेदारी नै प्रमुख रहन्छ ।
साम्राज्यवाद सम्बन्धी लेनिनको विश्लेषणलाई हामी कम्युनिष्टले मात्र हैन, गैरकम्युनिष्ट खेमाका विद्वानहरुले पनि स्विकार्दछन् । हाम्रै देशका नेपाली कांग्रेसभित्रका प्रजातान्त्रिक समाजवादी कयौं नेताहरुले पनि लेनिनको विश्लेषणको उच्च प्रशंसा गर्नुभएको छ
अति विकसित मानिएका पूँजीवादी देशहरु पनि यो कोरोना महामारीका अगाडि हायलकायल भएको देख्दा कतिले यसलाई पूँजीवादी व्यवस्थाको असफलताको रुपमा चित्रित गरिरहेका छन् । विकसित देशहरुमा पनि सघन उपचारको लागि चाहिने सामान्य उपकरण– भेण्टीलेटरको समेत अभाव रहेको, यसै कारणले अस्पताल आएका विरामीमध्ये कसलाई बचाउन प्राथमिकता दिने र कसलाई बिना उपचार मृत्युवरण गर्न दिने भन्नेजस्तो अमानवीय विषयमा डाक्टरहरुले निर्णय लिनु परेको भन्ने समाचार आएका छन् । के पूँजीवाद अब पूर्णतः असफल भएको हो ?
हेर्नुस्, साम्राज्यवादी चरणमा प्रवेश गरेको समयदेखि नै पूँजीवाद संरचनात्मक हिसाबले नै घोर प्रतिक्रियावादमा पतन भएको हो । लेनिनले सन् १९१६ मा साम्राज्यवाद : पूँजीवादको उच्चत्तम अवस्था भन्ने पुस्तक लेखेर पूँजीवादको संरचनात्मक समस्यामा यथेष्ट प्रकाश पार्नु भएको हो । लेनिनले साम्राज्यवादलाई पूँजीवादको उच्चत्तम अवस्था भन्नुको अर्थ पूँजीवाद भर्खरै ढलिहाल्छ भन्ने अर्थमा थिएन । उहाँले भन्न खोज्नुभएको कुराको सार हो– पूँजीवाद अर्थराजनीतिक व्यवस्थाका हिसाबले साम्राज्यवादी चरणभन्दा अगाडि जान सक्दैन । विश्वब्यापीरुपमा क्रान्तिकारी शक्ति बलियो नहुन्जेल साम्राज्यवादका विभिन्न चक्र सञ्चालित हुनसक्छन्, साम्राज्यवादको गोलचक्कर चलिरहन सक्छ तर त्यसले दार्शनिक, वैचारिक, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा नयाँ कुरा दिन सक्दैन भन्नु नै लेनिनको साम्राज्यवाद सम्बन्धी थेसिसको सार हो भन्ने मलाई लाग्छ । यस कुरालाई म थप स्पष्ट गरौं– साम्राज्यवादको केन्द्र बेलायतबाट जर्मनी, जर्मनीबाट संयुक्त राज्य अमेरिका सिफ्ट हुन सक्छ तर त्यसले नयाँ कुरा दिन सक्दैन । प्राविधिक विषयमा साम्राज्यवादी पूँजीवादले प्रगति गर्ला, गर्दै रहला तर त्यसले नयाँ समाज व्यवस्था दिन सक्दैन भन्नु नै लेनिनको साम्राज्यवाद सम्बन्धी अचूक विश्लेषण हो । साम्राज्यवाद सम्बन्धी लेनिनको विश्लेषणलाई हामी कम्युनिष्टले मात्र हैन, गैरकम्युनिष्ट खेमाका विद्वानहरुले पनि स्विकार्दछन् । हाम्रै देशका नेपाली कांग्रेसभित्रका प्रजातान्त्रिक समाजवादी कयौं नेताहरुले पनि लेनिनको विश्लेषणको उच्च प्रशंसा गर्नुभएको छ । मित्र राष्ट्र भारतका पूर्व प्रधानमन्त्री स्व. जवाहरलाल नेहरुले पनि साम्राज्यवादको विश्लेषण गर्ने मामिलामा लेनिनका निश्कर्षलाई पछ्याउनु भएको छ ।
यसैले विश्व साम्राज्यवादी चरणको अहिलेको पूँजीवाद संरचनात्मक हिसाबले असफल भयो भन्ने कुरामा कुनै शंका छैन । मैले धेरै हिसाब–किताब गर्न त भ्याएको छैन तर मलाई कति थाहा छ भने एउटा अन्तरमहादेशीय क्षेप्यास्त्र बनाउने खर्चले संयुक्त राज्य अमेरिकाका सबै अस्पताललाई आवश्यक मात्राका भेन्टिलेटर उपलब्ध हुन सक्छ, मास्क, पञ्जा लगायतका निजी सुरक्षा कवच (पीपीई) सेट उपलब्ध हुन सक्छन् । विकसित देशहरुसँग सयौँको संख्यामा अन्तरमहादेशीय क्षेप्यास्त्र र परमाणु बमको भण्डार छ तर उपचारमा चाहिने जरुरी व्यक्तिगत सुरक्षा कवच छैनन् । विकसित देशहरु अहिले, भन्न पनि लाजै लाग्छ, पञ्जा र मास्कका लागि छटपटाइरहेका छन् । यही नै भूमण्डलीकृत पूँजीवाद भन्नुस् या साम्राज्यवादी पूँजीवाद भन्नुस्, त्यसको संरचनागत असफलता हो ।
के त्यसो भए अबको यो कोरोना ब्याधिले ल्याउने आर्थिक संकटका कारण पूँजीवाद गर्ल्यामगुर्लुम ढल्छ त ? के अब समाजवादी क्रान्ति विश्वव्यापीरुपमा अगाडि बढ्छ त ?
कुनै पनि देशमा पूँजीवादी ब्यवस्था ढलेर समाजवादी व्यवस्था आउनका लागि त्यहाँ क्रान्तिकारी कम्युनिष्ट शक्ति जबरजस्तरुपमा बलियोढंगले उपस्थित भएको अवस्था हुनु पर्दछ । विकसित देशहरुमा पूँजीवादमाथि संकट त आएको छ तर त्यहाँ संकटको वैचारिक विश्लेषण गरेर क्रान्ति हाँक्न सक्ने संगठनात्मक ल्याकत भएको क्रान्तिकारी शक्तिको अभाव छ । यसैले तमाम पूँजीवादी देशहरुमा तत्काल र एकैचोटी समाजवादी अभियान अगाडि बढिहाल्दैन । सन् १९९० को दशकमा तत्कालिन सोवियत संघ लगायत पूर्वी युरोपका देशहरुबाट कम्युनिष्ट सत्ता ढल्दा धेरैजसो अर्थशास्त्रीहरुको भनाइ हुने गरेको थियो– कम्युनिष्ट व्यवस्था उत्पादन बढाउन त सक्षम हुन्छन् तर समग्र ब्यवस्थापनमा उनीहरु कमजोर हुन्छन् । सोभियत संघ लगायतका देशबाट कम्युनिष्ट सत्ता ढल्नुमा एक प्रमुख कारण व्यवस्थापकीय क्षेत्रमा कम्युनिष्टहरुको असक्षमता नै हो । कारखानाबाट पर्याप्त पाउरोटी उत्पान हुन्छ तर व्यवस्थापकीय सुधार गर्न नसक्दा पाउरोटी किन्न पनि लाइन बस्नु पर्दछ । यसरी कम्युनिष्ट व्यवस्थाको कमजोरी चित्रण गर्ने गरिन्थ्यो । अहिले त पूँजीवादी प्रणालीको व्यवस्थापकीय क्षमता झनै कमजोर देखियो । यसैले अबका दिनमा पूँजीवादी प्रणालीका विरुद्ध व्यापक असन्तुष्टी भने देखिने छ । अचानक आइलागेको बेरोजगारीको समस्या तत्काल समाधान हुने छैन र करिब–करिब त्यहाँ बेरोजगारीको दुश्चक्रको शुरुवात हुने छ भन्ने मलाई लाग्छ ।
एकता टिकाएर लैजाने मात्रै हैन, अरु उचाईमा पुर्याइनेछ । यो पार्टीलाई नेपाली श्रमजीवी वर्गको भरपर्दो अग्रदस्ता बनाएरै छाड्ने छौं । कम्युनिष्ट आन्दोलनलाई मैले मेरो जीवनकै अंग बनाएको छु । यस प्रक्रियामा मबाट अवश्य पनि थुप्रै कमजोरी भए होलान् तर मैले आफ्नो तर्फ निरन्तर इमान्दार प्रयत्न गरेको छु । मैले आजसम्म कसैलाई पनि धोखा दिएको छैन । मैले कसैसँग गरिएका लिखित सम्झौता मात्रै हैन, मौखिक समझदारीप्रति पनि पूर्ण प्रतिवद्ध रहने गरेको छु । जुन ठूलो हिम्मत गरेर यो एकीकरण गरियो, यसको प्रतिफल आज अत्यधिक बहुमतसहितको कम्युनिष्ट सरकार नेपाली जनता र विश्वसामु प्रमाण छ । बरु, तपाईं र तपाईंजस्तै सञ्चारकर्मी साथीहरुको मनमा यसखाले प्रश्न किन उब्जिएको हो ?
यसैले अबको पूँजीवादलाई थप लोक कल्याणकारी हुन कर लाग्ने छ । तत्काल त हैन, भविष्यका दिनमा पूँजीवादी व्यवस्थाको विकल्प समाजवाद हो भन्ने कुरा विगतमा भन्दा बढी मात्रामा विश्व मानचित्रमा स्थापित हुने छ । औपचारिकतामा सीमित रहेका विकसित देशका कम्युनिष्ट पार्टीहरुभित्रको अवसरवाद समाप्त हुने छ, नयाँ युवा आउने छन् र क्रान्तिकारी प्रक्रिया अवश्य अगाडि बढ्ने छ तर यो काम तपाईंले प्रश्न गर्नुभएजस्तो रातारात भै हाल्दैन । तर सैद्धान्तिक रुपले समाजवादको नयाँ मोडेल विकास गर्ने तथा कम्युनिष्ट क्रान्तिको नयाँ लहरको आधार भने बन्नेछ । भविष्यको संभावनाको आकलन गर्दा भने मलाई लाग्छ, विकसित पूँजीवादी देशमा व्यापक जनआन्दोलन र चुनाव मार्फत पनि कम्युनिष्टहरुलाई सरकारमा पुग्ने मौका मिल्ने छ ।
मानिसहरु अहिलेको यो महामारीलाई मानवजातिले बेग्लैढंगले लडिररहेको तेश्रो विश्वयुद्धसँग तुलना गरिरहेका छन् । महाशक्ति राष्ट्रहरु वा कुनै राष्ट्रले आफ्नो संकट लुकाउनका लागि संसारमा युद्ध थोपर्न सक्ने कत्तिको सम्भावना देख्नु हुन्छ ?
विगतमा शक्तिशाली पूँजीवादी देशहरुले सैनिक शक्तिका हिसाबले तुलनात्मकरुपमा कमजोर तर प्राकृतिक साधन–श्रोतको प्रचुरता रहेका देशहरुमाथि नाजायज कब्जा गरेकै हुन् र त्यहाँको साधन/श्रोत लुटेर आफ्नो देशको समृद्धिलाई टिकाएका हुन् । यसो गरेर उनीहरुले आफ्नो देशभित्रको वर्गविरोधलाई कम गर्ने प्रयास गरेका हुन् तर अब तत्काल त्यसो गर्न संभव देखिन्न । कुनै पनि महाशक्ति राष्ट्रले अरु देशमा आक्रमण गर्नका लागि आफ्नो देशका मानिसहरुको भावनात्मक सहयोग लिएको हुनु पर्दछ । अहिले कोरोना कहरको संकट सामना गर्न नसकेर यदि कुनै शक्ति राष्ट्रले अर्को देशमा कब्जा गर्ने प्रयास गरेछ भने उ विश्व समुदायबाट बिल्कुलै एक्लिने त छ नै, आफ्नै देशभित्र पनि विद्रोहको सामना गर्नु पर्नेछ । यसैले, मूर्खतावश, कुनै शक्ति राष्ट्रले युद्धमा होमिने आँट गर्ने संभावना म अलिकति पनि देख्दिन, बरु विगतमा कब्जा गरिएका ठाउँबाट लज्जाजनकरुपमा फिर्ता हुनुपर्ने सम्भावना देखिन्छ ।
अब विषय बदलौं । नेकपाको एकता प्रक्रिया त बिचैमा रोकियो नि ? पार्टी एकीकरणको दुई वर्षपछि बल्लबल्ल बसेको केन्द्रीय समितिको बैठकको समापनमा तपाईंले नै आगामी पन्ध्र दिन भित्रमा एकीकरणका सबै काम सम्पन्न गर्ने निर्णय सुनाउनु भएको थियो । कोरोनाको कहर नआउँदै धेरैवटा पन्ध्र दिन सकिएका थिए । किन एकीकरणको काम सक्नु भएन ? सचिवालयबाट निर्णय गर्न सकिने केन्द्रीय विभागको गठन पनि गर्नु भएको छैन ?
हो हामीले केन्द्रीय कमिटीको बैठक सकिएपछिका पन्ध्र दिनभित्रमा एकीकरणका सबै बाँकी काम सक्ने भनेकै हो । भने अनुसार गर्न नसक्नुमा हाम्रो कमजोरी रहेकै हो । यसमा मैले नैतिक जिम्मेवारी त लिनै पर्छ तर आन्तरिक परिस्थिति अलि जटिल बनेको कुरा पनि बिर्सन मिल्दैन । अब यो लकडाउन केही खुकुलो हुनेवित्तिकै हामी एकीकरणको प्रक्रियालाई द्रुत गतिमा लैजाने छौं ।
के–कस्ता जटिलता आए भनेर बताइदिनु हुन्छ कि ?
मैले यसबारे अहिले केही थप टिप्पणी गर्न चाहन्न । मेरो काम आइपर्ने विवाद मिलाउने हो, विवाद थप्दै जाने होइन ।
अध्यक्ष ज्यू, यो पार्टीको एकता टिकाएर लैजान सक्नु हुन्छ त ? भित्री मनबाटै कत्तिको विश्वस्त हुनुहुन्छ ?
एकता टिकाएर लैजाने मात्रै हाेइन, अरु उचाईमा पुर्याइनेछ । यो पार्टीलाई नेपाली श्रमजीवी वर्गको भरपर्दो अग्रदस्ता बनाएरै छाेड्ने छौँ । कम्युनिष्ट आन्दोलनलाई मैले मेरो जीवनकै अंग बनाएको छु । यस प्रक्रियामा मबाट अवश्य पनि थुप्रै कमजोरी भए होलान् तर मैले आफ्नो तर्फ निरन्तर इमान्दार प्रयत्न गरेको छु । मैले आजसम्म कसैलाई पनि धोका दिएको छैन । मैले कसैसँग गरिएका लिखित सम्झौता मात्रै हाेइन, मौखिक समझदारीप्रति पनि पूर्ण प्रतिवद्ध रहने गरेको छु । जुन ठूलो हिम्मत गरेर यो एकीकरण गरियो, यसको प्रतिफल आज अत्यधिक बहुमतसहितको कम्युनिष्ट सरकार नेपाली जनता र विश्वसामु प्रमाण छ । बरु, तपाईं र तपाईंजस्तै सञ्चारकर्मी साथीहरुको मनमा यसखाले प्रश्न किन उब्जिएको हो ? यसको खुलासा तपाईं नै गरिदिनुस् न ।