प्रकाश गौतम रुकुम (पश्चिम) । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरुपमा क्षति भएको छ । नगरपालिकाको वडा नम्बर १२ तासीबाङमा बिहीबार दिउँसो आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।
स्थानिय अविर विष्ट र प्रताव विष्टको घरमा आगलागी भएको हो । आगलागीबाट अविरको २ तले खरले छाएको घर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट लत्ताकपडा, भाँडाकुडा, अन्नपात र नगत गरी करिब ३ लाख ६७ हजार ९ सय ४० रुपैँया बराबरको क्षति भएको छ । नागरिकता लगाएतका कागजातसँगै सिरानमुनी राखिएका २ लाख ६४ हजार ९ सय ४० रुपैयाँ पनि जलेर नष्ट भएका छन् ।
यसबीच आगलागी हुँदा सोही घरका ६० वर्षीय अपांग व्यक्ति लालसिंह विष्ट घाइते भएका छन् । उनको टाउको पछाडीको भागमा जलेको र बाँया हिपमा चोट लागेको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । घाइतेको आठविसकोट नगर अस्प्तालमा उपचरा भइरहेको बताइएको छ । घाइतेको शरिरको २ प्रतिशत भाग जलेको र अहिले अवस्था सामान्य रहेको आठविसकोट नगर अस्पताल श्रोतले जनाएको छ ।
एउटा घरबाट शुरु भएको आगो सल्कीएर अर्काे घर पनि पूर्ण रुपमा नष्ट भएको छ । खरले छाएको अर्को घरमा आगलागी हुँदा भने लत्ताकपडा, भाँडाकुडासहित अनुमानित १ लाख २० हजारको क्षति भएको प्रहरीले जनाएको छ । उक्त घरमा भने मानिसको बसोबास नभएको बताइएको छ ।
आगालागी भएको खबर पाउने वित्तिकै नगर प्रमुख गोर्ख बहादुर केसी, ईलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरीक्ष आचार्य लगायतको टोली घटना स्थल पुगेको थियो । नगरप्रमुखको टिम, प्रहरी र स्थानियको सहयोगमा करिब पौने २ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो ।
आठविसकोट नगरपालिकाले अविर विष्टको परिवारलाई तत्कालका लागि राहतस्वरुप खाद्यान्न उपलब्ध गराएको छ । घरमा भएको अन्नपात सबै नष्ट भएपछी खानपिनका लागि केही नभएकाले तत्काल ६० किलो चामल, ६ किलो दाल, ४ लिटर तेल, ४ किलो चिनी, ४ पोका नुन, साबुनलगायतका सामाग्री तत्कालै उपलब्ध गराइएको नगर प्रमुख केसीले बताउनुभयो ।
यस्तै वडा अध्यक्ष खम्बु कुसारीको नेतृत्वमा स्थानिय सबै मिलेर तत्कालै घर बनाइदिने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष तथा स्थानिय मिलेर घर बनाइदिने र घर छाउने टिन नगरपालिकाले व्यवस्थापन गर्ने नगर प्रमुख केसीको भनाइ छ ।
प्रहरीका अनुसार अनुसन्धान गर्दा ५ वर्षकी बालिकाले आगो लगाएको खुलेको छ । आगलागीबाट घाइते भएका वृद्धले चुरोट सल्काएर लाइटर बालिकालाई राख्न भनी दिएका बेला ती बालिकाले आगो लगाएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ ।