प्रकाश गौतमरुकुम (पश्चिम) । आगलागीमा हुँदा दुई घर पुर्णरुपमा जलेका छन् । जिल्ल्लाको आठविसकोट नगरपालिकामा आगलागी हुँदा दुई घरमा पुर्णरुपमा जलेका छन भने १४ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ ।
नगरपालिकाको वडा नम्बर १२ तासीबाङमा बिहिबार दिउँसो आगलागी भएको हो । स्थानीय अबिर विष्ट र प्रताब विष्टको घरमा आगलागी भएको हो । आगलागीबाट अबिरको २ तले खरले छाएको घर पूर्णरुपमा जलेको इलाका प्रहरी कार्यालय आठबिसकोटका इन्चार्ज प्रहरी निरिक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार आगलागीबाट घरमा रहेका लत्ताकपडा भाँडाकुँडा अन्नपात र नगद गरी करिब ३ लाख ६७ हजार ९ सय ४० रुपैयाँ बराबरको क्षति भएको छ । नागरिकता लगायतका अति जरुरी कागजात सहित २ लाख ६४ हजार ९ सय ४० रुपैयाँ नगद पनि जलेर नष्ट भएको आचार्यले बताउनुभयो ।
आगलागिबाट अबिरका ६० वर्षीय आफन्त लालसिंह विष्ट घाइते हुनु भएको छ । प्रहरीका अनुसार उहाँको टाउको पछाडीको भाग जलेको र बाँया हिपमा चोट लागेको छ ।
अविरको घरबाट शुरु भएको आगो फैलिएर नजिकै रहेको खरले छाएको अर्को घरमा समेत सरेको थियो । आगलागिबाट अर्को घरमा पनि लत्ताकपडा र भाँडाकुडासहित अनुमानित १ लाख २० हजार नोक्सान भएको प्रहरीले जनाएको छ । जलेको अर्को घरमा मानिसहरुको भने बसोबास थिएन ।
प्रहरीका अनुसार दिउँसो १२ बजेतिर घर आगलागी भएको खबर पाउने बित्तिकै नगर प्रमुख गोर्ख बहादुर केसी, इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरिक्षक आचार्य लगायतको टोली घटनास्थल पुगेको र २ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको थियो ।
आगलागीपछि नगरपालिकाले अविर विष्टको परिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराएको छ । प्रहरी अनुसन्धानबाट ५ वर्षीया बालिकाले आगो सल्काएको खुलेको छ । आगलागीबाट घाइते वृद्धले चुरोट सल्काएर दोश्रो व्यक्तिको लाइटर बालिकालाई पुर्याउन अह्राएपछि बालिकाले आगो लगाएको प्रहरीको भनाइ छ ।