रोजेन्द्र जोशी
डोटी । शुदूरपश्चिम एक भौगोलिक संरचनामा विकट र विविधताले भरिएको स्थान । जहाँ प्राकृतिक सौर्दयताका महत्व राख्ने स्थलहरु छन् । डोटीमा रहेको विश्व परिचित शैलेश्वरी मन्दिर, डडेलधुराको उग्रतारा मन्दिर, डोटीको लानाकेदारेश्वरस्थितको ठूला केदार धार्मिकस्थल, वैतडीको निङ्नासैनी, दार्चुलाको मालिकार्जुन, शैल्यशिखर लगायतका रहेका छन् । यहाँ अनगिन्ती धार्मिकस्थल रहेका छन्, जुन प्रचारको अवाभका छन् ।
त्यस्तै, उता डोटीको आदर्श गाउपालिकामा करिब ६ महिना अगाडि भेटिएको अनौठो गुफा अध्ययन, अनुसन्धान र प्रचार प्रसारको पर्खाईमा रहेको छ ।
साविकको कालिकास्थान गाविस वडा नं. २ को गिठागौणा भन्ने जंगलमा श्रावण ३० गते श्रीकृष्णजन्माष्टमीका दिन भेटिएको उक्त गुफा धार्मिक महत्वको गुफा रहेको स्थानीयले बताएका छन् । गुफा भेटिएको ६ महिना वितिसक्दा पनि हालसम्म गुफा कति लामो छ भनी एकिन गर्न सकिएको छैन । गुफा भित्र भगवान शिव, पार्वती, गणेश भगवानको आकृति भएका मुर्तिहरु रहेको गुफा व्यवस्थापन समितिका अध्यक्ष मान वहादुर खड्काले बताए । खड्काका अनुसार गुफाभित्र शिवलिंग छ सो लिंगमा माथि बाट नियमित रुपमा पानी आफै खसेको दृष्य हेर्दा स्वर्ग पुगेको आभाष हुने गरेको त्यहाँका स्थानीय बताउछन् ।
गुफाभित्र पस्ने मुख साँघुरो भए पनि गुफाको भित्री भाग चारैतिर फैलिएकाले गुफा भित्र एकै पटकमा सयौँ मानिसहरु बस्न सक्ने रहेको छ । गुफामा नियमित पुजापाठ गर्ने उदेश्यले शिवरात्रीको अवसरमा स्थानियहरुले सो गुफामा चण्डी, रुद्री र शान्ती पाठ लगाएका छन् ।
अध्ययन अनुसन्धान र प्रचारप्रसारको पर्खाईमा रहेको उक्त गुफाको दर्शन गर्न डोटी लगायत छिमेकी जिल्ला अछाम, बझांग, वैतडी, डडेल्धुराका भक्तजनहरु आउने गरेका छन् ।