प्रतिक पौडेलभैरहवा । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले देश लकडाउन गरेको छ । लकडाउनका कारण उद्योग, कलकारखाना, व्यापार व्यवसाय, यातायात, कृषिलगायतका सम्पूर्ण क्षेत्र प्रभावित छन्। लकडाउनबाट रुपन्देहीका माछापालक कृषक पनि प्रभावित भएका छन् ।
रुपन्देही माछा उत्पादनको लागि नेपालमै प्रमुख क्षेत्रमध्ये एक हो । रुपन्देहीको सियारी गाउँपालिका, मायादेवी गाउँपालिका, गैडहवा गाउँपालिका र सुद्धोधन गाउँपालिका नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य सुपर जोनअन्तर्गत पर्ने क्षेत्र हो ।
यस क्षेत्रका मत्स्य पालक किसानलाई लकडाउनका कारण माछाको स्थानिय र बाह्य बजार बन्द भएपछि बेच्ने बेला भएका माछा पनि पोखरी मै पालेर राख्नु पर्ने बाध्यता सिर्जना भएको छ । वैशाख र जेठ पोखरीमा भएका माछा बढ्ने सिजन भएको हुनाले अहिले यस क्षेत्रका किसान माछा बढेपछि बिक्री गर्न नपाएर पोखरीमै मर्ने अवस्था आउने त होइन भन्ने पिरमा छन् ।
मत्स्य सुपर जोन कार्यान्वयन ईकाइ रुपन्देहीका संयोजक गणेश शाहीका अनुसार लकडाउनले माछाको बजार ९० प्रतिशत घटेको छ । लकडाउनले उत्पादन भएका माछा बजार पुर्याउन सक्ने अवस्था नभएको र बजारबाट माछाको भुरा र दाना ल्याउने अवस्था नहुँदा समस्या भएको छ । यो सिजन भनेको माछाको प्रजनन् गर्ने र भुरा उत्पादन गर्ने हो । अहिले लकडाउनले भुरा र दाना दुबैको अभाव छ ।
दाना वितरक राम बहादुर शाहीकाअनुसार भारतबाट आउने कच्चा पर्दाथ अभाव हुँदा माछालाई खुलाउन चारो बजारमा अभाव भएको हो । किसानलाई अहिले सबैभन्दा ठूलो समस्या माछाका भुरा र दानाको छ । भुरा र दाना किन्न किसान एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था छैन् । कृषकको पोखरीमा माछा छ तर, घरमा माछालाई खुलाउने अन्न छैन ।
यस क्षेत्रका करिब १५ सय भन्दाबढि मत्स्य पालक किसान मर्कामा परेका छन् । रुपन्देहीमा मत्स्य पालनसँग करिब १० हजार मजदुर र व्यवसायी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका छन् । रुपन्देहीको मत्स्यपालन क्षेत्रसँग जोडिएका दैनिक ज्याला दारी गरेर खाने मजदुरहरु पनि मर्कामा परेका छन् ।
मत्स्यपालक किसान किशोर पाण्डेका अनुसार रुपन्देही जिल्लाबाट मात्रै दैनिक जिउँदो माछा ३५ देखि ४० क्विईन्टल रुपन्देहीका बजारमा र १० देखी १५ क्विन्टल बाहिरी जिल्लाका बजारमा जाने गरेकोमा लकडाउनले माछाको व्यवसाय पूरै बन्द भएको छ । यस क्षेत्रमा रहेका करिब १२ सय हेक्टर पोखरीमा वार्षीक ६ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।
रुपन्देहीमा उत्पादन भएका माछा देशभरका काठमाडौँ, पोखरालगायतका ठूला शहरमा निर्यात हुने गर्दछ । यस जिल्लामा मात्रै ७ हजारवटा भन्दाबढि माछा पोखरी छन् । लकडाउनका कारण दुई साताअघि देखि माछा व्यवसाय पुरै बन्द छ, भने माछाका लागि आवश्यक दानाको पनि अभाव देखिएको छ । रुपन्देही जिल्लामा करिब एक अर्बभन्दा बढीको माछा उत्पादन हुने गरेको छ । रुपन्देहीमा विशेष गरी रोहु, नैनी, ग्रास कपन, बिग्रेड जातका माछा उत्पादन हुने गर्दछ ।