काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले यस वर्ष आफ्नो स्थापना दिवस नमनाउने भएको छ । सम्पूर्ण विश्व नै कोरोना महामारीबाट आक्रान्त बनिरहेका बेला राजपाले स्थापना दिवस नमनाउने निर्णय गरेको हो । २०७४ बैशाख ७ गते तराई केन्द्रीत विभिन्न दलहरुको एकीकरण भई निर्माण भएको राजपाले आफ्नो चौथो स्थापना दिवस मनाउन नसकिने जनाएको हो ।
कोरोना महामारीलाई फैलन नदिन र लकडाउनको पालना गर्न सबै कार्यकर्तालाई आग्रह गर्दै संयोजक शरतसिंह भण्डारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यस महामारीबाट जोगिन सम्पूर्ण पार्टी पंक्तिलाई एकढिक्का भई दृढ संकल्पका साथ लकडाउनको पालना गर्दै आफू सुरक्षित रहँदै आफ्नो वडामा नागरिकलाई राहतलगायतका समस्या देखिए समन्वयकारी भुमिका निर्वाह गर्न समेत आग्रह गर्दछौं ।’
पार्टी स्थापना दिवसको अवसरमा राजपाले सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, मतदाता तथा आम जनसमुदायलाई शुभकामना दिँदै बधाईसमेत दिएको छ । २०७४ बैशाख ७ गते राजपाको गठन भएको थियो। तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ वटा दल मिलेर राजपा बनेको हो।
महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सदभावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) मिलेर राजपा गठन भएको थियो।
राजपा गठन भएको तीन वर्ष पुरा हुँदासमेत पार्टीको महाधिवेशन हुन सकेको छैन भने अहिले पनि अध्यक्ष मण्डलीय प्रणालीमा पार्टी सञ्चालन भइरहेको छ। महाधिवेशन आयोजना समिति गठन भइसकेको छ। करिब ३५ जिल्लामा अधिवेशन भएको छ भने ५ वटा जिल्लामा विवाद रहेको छ। लकडाउन पछि महाधिवेशनको तयारी तीब्र हुने राजपाले जनाएको छ।