सुखिलाल चौधरीउदयपुर । गाईघाटको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित जामे मस्जिदमा आएका भारतीय नागरिकसहित १२ जनामा कोरोना भेटिएपछि त्यहाँ प्रदेश सरकारले स्वाब परीक्षणका लागि नमूना संकलन थालेको छ ।
गाईघाट बजारबाट दक्षिणतर्फ २ किलोमिटरको दुरीमा रहेको भुल्केस्थित जामे मस्जितमा बस्दै आएका ११ भारतीय नागरिक १ नेपाली नागरिकसहित १२ जनामा शुक्रबार कोरोना संक्रमण देखिएको थियो । कोरोनाको संक्रमण भेटिएपछि सदरमुकाम गाईघाट आसपास अहिले त्रसित बनेको छ ।
त्रियुगा नगरपालिका–३ भुल्केमा शनिबार अपरान्हदेखि स्वाबको नमूना संकलन शुरु गरिएको हो । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्थानिय प्रशासनले भुल्के गाउँलाई सिल गरेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयवेन्द्र यादवको नेतृत्वमा आएको ६ सदस्यीय टोलीले भुल्केस्थित नेपाली सेनाको फुटबल ग्राउण्डमा क्याम्प बनाएर स्वाब संकलन शुरु गरेको हो ।
विराटनगरस्थित प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाखाका निर्देशक यादवकाअनुसार शनिबार २ महिलासहित ६९ जनाको नमूना संकलन गरिएको बताउनुभयो ।
उहाँले प्रयोगशालाबाट आफूसहित ६ जनाको टोली र जिल्ला अस्पताल गाईघाटका ल्याबका दुई जना प्राविधिक, त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखाका प्राविधिक मिलेर स्वाब संकलन गरिएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा कोरोना भाइरस संक्रमित व्यक्ति बसेको मस्जिद नजिकै बस्ने सबैको स्वाब संकलन गर्ने जानकारी दिनुभयो ।
![](https://45.77.241.73/wp-content/uploads/2020/04/reee.jpg)
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले पनि पहिलो चरणमा मुस्लिम टोलका जामे मस्जितमा आएका भारतीय धर्म गुरुहरुसँग सिधा सम्र्पकमा रहने मानिसको स्वाब संकलन गरिएको बताउनुभयो । संक्रमण फैलिएको मस्जिद वरपरका सबैको स्वाब संकलन गरी विराटनगरस्थित कोसी अस्पतालमा परीक्षणका लागि लैजाने उहाँले बताउनुभयो । उहाँले मस्जिद वरपरका सबैको स्वाब संकलन गर्दै जाने र संक्रमितसँगको सम्पर्कमा पुगेको व्यक्तिको ट्रयाकिङ गरी उनीहरुको पनि स्वाब नमूना लिइने जानकारी दिनुभयो ।
शुक्रबार भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपालीसहित १२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । त्यसपछि मस्जिद, टोल र आसपासका सबै गाउँमा सुरक्षाकर्मी तैनाथ गरेर कडा निगरानी जारी राखिएको छ । भुल्के गाउँमा कसैलाई पनि शनिबार बिहानदेखि बाहिर निस्कन दिइएको छैन ।
मस्जिदमा बसेका भारतीय धर्म प्रचारकमा कोरोना संक्रमण पुष्टि भएसँगै उदयपुरमा उच्च सतर्कता अपनाइएको छ । त्यहाँ रहेका १२ भारतीय मध्ये ११ र उनीहरुसँगै रहेका मोरङका एक जनामा कोरोना पोजेटिभ देखिएपछि त्रसित जिल्लाबासीलाई थप संक्रमणबाट रोक्न प्रशासनले उच्च सतर्कता अपनाएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबार साँझै संक्रमितसहित मस्जिदमा रहेका १६ जना सबैलाई आइसोलेसनमा राख्न विराटनगरस्थित प्रदेश कोरोना अस्पताल पठाइ सकेको छ । ४ दिनअघि द्रुत लक्षण परीक्षण (आरडिटी) मा सबैको रिपोर्ट नेगेटिभ आए पनि (पिसिआर) पुनर्यकिन गर्न स्वाब संकलन गरी परीक्षण गर्न पठाउँदा नतिजा पोजेटिभ आएपछि सबैलाई विराटनगर पठाइएको हो ।
२० देखि ४० वर्ष उमेरसम्मका उनीहरु चैत १ गतेदेखि मस्जिदमा बस्दै आएको प्रहरी बयानबाट खुलेको छ । प्रहरीले संकलन गरेको ‘ट्राभल हिस्ट्री’ मा मंसिर २५ गते जोगवनी नाका भएर छिरेका तथा मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न मस्जिदमा तीन महिना बसेपछि फागुन २५ उदयपुर छिरेको पाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताउनुभयो । भुल्के आउनुअघि उनीहरु चौदण्डीगढी नगरपालिका– ५ सुन्दरपुरस्थित शिवाई मस्जिदमा ७ दिन बसेको खुलेको उहाँले बताउनभुयो ।
शिवाईबाट चैत १ गते भुल्के मस्जिद आएका उनीहरु लकडाउन सुरु भएपछि रोकिएर अन्य मस्जिद जान नपाएको प्रहरीको भनाइ छ । मस्जिदमा भारतीयहरु बसेको जानकारी चैत १४ गते नै प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीलाई दिएपनि साता दिनअघि मात्र प्रहरी र स्वास्थ्यकर्मी टोली खटाएर आरडिटी र स्वाब परीक्षण गराएको थियो । प्रमुख जिल्ला अधिकारी पहाडीको हेलचेक्राईले गर्दा गाउँमा समस्या भयो, स्थानीयबासी राजेन्द्रबहादुर राउतले गुनासो गरे ।
मोरङका चारसहित मस्जिदमा बसेका उनीहरु विभिन्न मस्जिद र सामाजिक अगुवासँग भेटघाट र घुमफिर गरेको हुन सक्ने भन्दै सबैलाई ‘होम क्वारेन्टाइन’ मा बस्न प्रशासनले आग्रह गरेको छ । गाईघाटको डिएमगेटस्थित मस्जिद र देउरीका मस्जिदमा पनि उनीहरु आउजाउ गरेको स्थानीयबासीले जानकारी दिएका छन् । घुमफिरमा मस्जिदका पूजारी, व्यवस्थापन समिति र सामाजिक अगुवासँग उनीहरुको घुलमिल भएको स्थानियको भनाइ छ ।
कोरोना संक्रमण देखिएपछि ट्राभल हिस्ट्री टाँटेको अनुमान गरी प्रशासनले मस्जिद आसपास गाउँ शुक्रबार साँझै ‘सिल’ गरेको थियो । मंसिर २५ गते आएको भने पनि उनीहरु फागुन ३–५ गते सप्तरीमा सम्पन्न ‘अन्तराष्ट्रिय मुस्लिम भेला’मा सहभागी भएको वा भेलामा आएका भारतीयको सम्पर्कबाट रोग सरेको अनुमान गरिएको छ । एसपी मगरका अनुसार उनीहरुले सप्तरी भेलामा सहभागी नभएको तर त्यो अवधिमा सप्तरीकै कुनै मस्जिदमा रहेको बताएका छन् । उनीहरुले अस्वीकार गरेता पनि यसबीचमा नयाँ दिल्लीमा सम्पन्न धार्मिक सभामा उनीहरु स्वयं गएर फर्केको हुन सक्ने अनुमान पनि गरिएको छ ।