सुखिलाल चौधरी,उदयपुर । पछिल्लो समय उदयपुरमा कोरोना भाइरस संक्रमण फैलिइँदै गएको छ । मंगलबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) का ११ जना संक्रमित थपिएका छन् । सबै संक्रमित त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित भुल्केको नुरी मस्जिद आसपासका क्षेत्रका वासिन्दा हुन् । पछि देखिएको संक्रमितसँगै नेपालमा पनि कोरोना ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ ।
भुल्केको मस्जिदमा रहेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा कोरोना संक्रमण भएको वैशाख ५ गते पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भएको हो । भुल्केमा कोराेना संक्रमित फेला परेसँगै त्यो क्षेत्रलाई सिल गरिएको छ । भारतीय जमादीहरुको प्रत्यक्ष सम्पर्कमा आएका ६९ जनाको थ्रोट स्वाब नमूना संकलन गरेर विराटनगरको कोशी अस्पताल पठाइएको थियो, त्यसमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि पुष्टि गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । धरानमा पुनः परीक्षण गर्दा पनि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाली सेनाको छाउनी अस्पतालले २ सय ५२ जनाको नमूना संकलन गरेको थियो । त्यसमध्ये काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार तीन जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । २० जनाको रिपोर्ट आउन बाँकी छ ।
एकै परिवारमा ५जना संक्रमितमंगलबार कोरोना पुष्टि भएका ११ संक्रमित मध्ये दुई महिला हुने भने बाँकी पुरुष छन् । संक्रमितहरु छुट्टाछुट्टै ७ परिवारका छन् । एकै परिवारका ५ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।एकै परिवारका एक ४१ वर्षीय व्यक्तिसहित उनका १८ वर्ष छोरा कोरोना संक्रमित भएका छन् ।
यस्तै संक्रमितका ४१ वर्षीय ज्वाई, ज्वाईका १८ वर्षी जेठो छोरा र ३६ वर्षीया बहिनी संक्रमित भएका छन् । बहिनीज्वाई गाईघाटमा बस्दै आएका थिए ।लकडाउनमा मात्रै भुल्के गएको स्थानीयले बताएका छन् । ४१ वर्षीय संक्रमित भारतीय जमादीहरुसँग अत्यन्त नजिक थिए । लकडाउनको समयमा भारतीय जमातीहरुलाई उनैले खानपानको व्यवस्था गर्ने गरेको स्थानीयले बताएका छन् ।
यस्तै अर्का संक्रमित ५२ वर्षीय पुरुष दुबईबाट फागुन ११ गते घर .फर्केका हुन् । विदेशबाट आए पनि उनले कहि कोरोना जाँच गराएनन् । उनीलाई घर फर्किएको केही दिनदेखि नै ज्वरो आएको बासिन्दाले सुनाए ।
यस्तै अरु संक्रमितखरु २०, ३३, ४० र ५८ वर्षका छन् । उनीहरु सवै पुरुष हुन् । यस्तै उमेर नखुलेको एक महिला पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन् । उनीहरु छुट्टाछुट्टै परिवारका हुन् । संक्रमित सवै भुल्केका स्थानीयबासी हुन् । सबै संक्रमितको विराटनगरस्थित कोशी कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । यसअघिका संक्रमित १३ जना त्यही उपचाररत थिए, १० जनालाई मंगलबार लगिएको हो । थप एक संक्रमितलाई ल्याउने नल्याउने अझै प्रष्ट भएको छैन ।
के गर्थे संक्रमितहरु ?पछिल्लो चरणमा फेला परेको संक्रमित मध्ये २ जना वैदेशिक रोजगारबाट भर्खरै फर्केका हुन् । एक जना गाईघाटमा व्यापारव्यवसाय गर्दै आएका छन् । एक जना अटो चालकमा समेत कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये एक जना शिक्षक रहेको खुलेको छ ।संक्रमित मध्ये तीन जना विद्यार्थी हुन् । एक जना भारतको उत्तर प्रदेशमा उर्दू पढ्न गएका थिए ।
सिलाई (टेलर्स) पेशाका व्यक्ति पनि संक्रमित भएका छन् । उनले भुल्केकै सामुदायिक वनले भनेर ८ सय थान माक्स तयार गरे । तयार पारेका मध्ये ४ सय स्थानीयलाई आफै वितरण गरे । उनले सिलाई कार्यको अलवा गाइ, भैसी र बाख्रा खरिदबिक्री समेत गर्दै आएका छन् । अन्य संक्रमित भने कृर्षक हुन् ।
भुल्केमा कहाँबाट झुल्कियो कोरोना ?भुल्केमा कहाँबाट कोराना फैलियो भन्ने तर्क आ–आफ्नै छ । भुल्के बस्तीमा १२ भारतीय र चार नेपाली जमातीहरुबाट कोरोना फैलिएको आशंका गरिएको छ । कसै कसैले विदेशबाट भर्खरै आएकाहरुबाट कोरोना फैलिएको आशंका गरेको छ । जमातीहरुको डिसेम्बर १० तारिक अर्थात मंसिर २४ गतेको रेलको टिकट भेटिएको छ । उनी जोगवनी नाकाबाट प्रवेश गरी मोरङ, सुनसरी र सप्तरीको विभिन्न मस्जिदमा धार्मिक प्रवचन दिँदै भुल्के आइपुगेका हुन् ।
उनीहरु फागुन २५ गत सप्तरीको फत्तेपुर आइपुगेका थिए । त्यसपछि फागुन २९ गते उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईमा आए । सिवाईबाट चैत १ गते त्रियुगा नगरपालिका २ मोथियाही मस्जिद आए । त्यहाँबाट चैत ५ गते भुल्के आएका हुन् । उनीहरु नै उदयपुरको पहिलो कोरोना संक्रमित भएको पुष्टि भएको छ । यद्यपि उनीहरु यसअघि पनि भारत जाउँआउँ गर्थे ।
भुल्केका एक स्थानीयका अनुसार दुई महिनामा तीन–चार जना विदेशबाट आएका व्यक्तिहरु देखिन्छ । उनीहरुमध्ये एक जना संयुक्त राज्य इमिरेटस् स्थित दुबइँबाट फागुन १० गते आएको देखिन्छ । उनमा पहिलेदेखि नै ज्वरो आउने गरेको र स्थानीय औषधि पसलको औषधि सेवन गरेको उनकै भाईले जानकारी दिएका छन् ।
एक जना चैतको शुरुवातमै भारत दिल्लीबाट भुल्के आएकालाई पनि कोरोना संक्रमण देखिएको छ । उनी १० महिनाअघि नै दिल्लीको गार्मेन्टमा टेलर्सको काम गर्दै आएका थिए । भारतमा कोरोना संक्रमण फैलिएपछि भएपछि उनी घर फर्किएका हुन् ।भारतको उत्तर प्रदेशमा उर्दु पढन गएको विद्यार्थीमा पनि कोरोना पोजिटिभ देखिएको छ । उनी लकडाउन भन्दा केही दिनअघि घर आएका थिए ।
अर्कोतर्फ फागुन ३ देखि ५ गतेसम्म सप्तरीको बोदेबसाइन नगरपालिका ५ जाँजरमा भएको नेपाल इज्तिमा अन्तर्राष्ट्रिय सम्मेलनबाट फर्केकाहरुबाट पनि कोरोना फैलिएको हुन सक्ने अनुमान गरिएको छ । त्यो सम्मेलनमा उदयपुरबाट करिव पाँच सयको हाराहारीमा सहभागी भएको अनुमान गर्न सकिन्छ ।
दिल्लीस्थित बंगलेवाली रहेको मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको धार्मिकसभामा उदयपुरबाट ५ जना सहभागी भएको परराष्ट्र मन्त्रालयबाट पुष्टि भएको छ । जिल्लामा ४ जना क्वारेन्टाइनमा छन तर उनीहरुमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । नेपाल भारत आउजाउँ गर्नेबाट पनि संक्रमण फैलिएको आशंका गरिएको छ ।
अधिकांश बासिन्दाको नाताकुटुम्ब भारतमा पनि छन् । त्यसकारण कोरोना भारतबाट आएको हुन सक्ने आशंका गरिएको छ । टेलर्सको काम गर्ने संक्रमित गाई, भैसी, बाख्रा खरिदबिक्रीको शिलशिलामा सिरहा, सप्तरी, सुनसरीको साथै भारतको विहारसम्म पुग्थे । कोरोना उनीबाटै फैलिएको हुन सक्ने आशंका समेत गरिएको छ ।