सुखिलाल चौधरी,उदयपुर । नेपालमा पछिल्लो पटक कोरोना संक्रमित दिनहुँ थपिँदै गएका छन् । मुलुकमा संक्रमित संख्या ४५ पुगेको छ । त्यसमध्ये २७ जना उदयपुरस्थित त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केकै छन् । कोरोनाका लागि भुल्के हटस्पट बनेको छ । यहाँ कोरोना संक्रमण समुदाय स्तरमा पुगेको पाइएको छ ।
१२ जना जमातीमा देखिएको संक्रमण धेरै स्थानीयमा सरेको पाइएकाले कोरोना संक्रमण समुदायस्तरमा पुगेको मान्नुपर्ने जनस्वास्थ्यविद् डा. अनुप सुवेदी बताउनुहुन्छ । ‘आयातित कोरोना परिवारको एकाध सदस्यमा मात्र सरेको भए लोकल ट्रान्समिसन (स्थानीयस्तरमा संक्रमण) भन्न सकिन्यो’ उहाँले भन्नुभयो, त्यहाँ त फरक फरक परिवारको धेरै संक्रमित पाइएकाले कम्युनिटी लेभलको ट्रान्समिसन (समुदायस्तरको संक्रमण) मान्नुपर्छ ।’
वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार विदेशबाट आएका व्यक्तिमा मात्र देखिनु पहिलो चरण हो । उनीहरुको आफन्त तथा छिमेकीमा सर्नुलाई दोस्रो चरण भनिन्छ । त्यसैरी समुदायमा नै फैलिनु तेस्रो चरण हो । ‘नेपालमा तेस्रो चरण आउनु भनेको खतराको घण्टी हो’ उहाँले भन्नुभयो ।
जानकारी हुँदा हुदै पनि प्रशासन मौन बस्दा थपियो संक्रमितकोरोना श्वासप्रश्वासको कारणले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग हो । यो रोग कमजोर व्यक्तिमा बढी सर्ने गरेको पाइएको छ । लकडाउन भए लगत्तै प्रशासनलाई भारतीय जमातीहरुको बारेमा जानकारी गराउँदा पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय मौन बस्दा अरुमा संक्रमण देखिएको स्थानीय पत्रकार यदु ढकाल बतानुहुन्छ । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय, अनुसन्धान कार्यालय र प्रहरीलाई भारतीय जमातीका विषयमा पटक पटक जानकारी गराउँदा यसबारे खास्सै चासो लिएनन् । ‘समयमै परीक्षण गरेको भए अरु व्यक्ति कोरोना फैलिनबाट जोगिने थिए, तर भएन’ उहाँले सुनाउनु भयो ।
सबै नाका सिल, परीक्षण तीव्र बनाइँदैधेरै संख्यामा कोरोना संक्रमित भेटिएसँगै उदयपुर जिल्लालाई सिल गरेर सबै नाका बन्द गरिँदैछ । प्रदेश सुरक्षा समन्वय समितिको बैठकले लकडाउनलाई अझ कडा बनाउन निर्देशन दिएको छ । साथै संक्रमण देखिएको क्षेत्रबाट उत्पादित वस्तुलाई बाहिर लैजान नदिने निर्णय त्रियुगा नगरपालिकाले गरेको छ । भुल्के क्षेत्रमा बाक्लो बसोबास छ । तर अहिले संक्रमण देखिएको मस्जिदमा बाक्लो आउजाउ गर्ने मुस्लिम समुदायका हुन् । अरुमा संक्रमण देखिएको छैन । तर सम्भावित जोखिमलाई ध्यानमा राख्दै २१ सय जनाको ¥यापिड र २५० जनाको पीसीआर विधिबाट परीक्षण गर्ने निर्णयसमेत भएको छ ।
कोरोना प्रभाबित क्षेत्रका १५ घर थारु समुदाय, ५६ घर मुस्लिम समुदाय र ३ सय ५० घर पहाडी मूलका छन् । ४ सय २१ घर परिवार रहेको भुल्केलाई अहिले सिल गरिएको छ । कोरोना संक्रमित क्षेत्र भुल्के गाउँको २५ मिटर दूरीमा पश्चिम दक्षिणमा नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा छ । त्यहाँबाट कोही पनि बाहिर जान पाउँदैनन् । त्यहाँ जान पनि निशेध गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका (एसपी) बीरबहादुर बुढा मगरले बताउनुभयो ।
संक्रमितमा देखिएन लक्षण तर धमाधम भेटियो कोरोनाभुल्केका सबै संक्रमितमा त्यसको लक्षण देखिएको थिएन । संक्रमितहरु कसैमा पनि लक्षण नदेखिएको त्रियुगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख अवध नारायण चौधरीले बताउनुहुन्छ । ‘कुनै लक्षण देखिएको छैन तर नमुना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ’ उहाँले भन्नुभयो । स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार प्रत्येक स्वास्थ्य संस्था तथा क्वारेन्टाइनमा दुई दुई वटाको दरले व्यक्तिगत सुरक्षा ज्याकेट पिपिई) दिइएको छ । त्यहाँ अझै पिपिई अपुग छ । त्यहाँ ज्वरो चेक गर्ने थर्मोगन, सेनिटाइजर, सावुन पानीको व्यवस्था बाहेक कोरोना परीक्षण गर्ने आरडिटी किट तथा पिसिआर किट नभएको उहाँले जानकारी दिनुभयो ।
संघीय र प्रदेश सरकारको गएन ध्याननगरमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले संघीय तथा प्रदेश सरकार र सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ । तर अहिलेसम्म संघीय र प्रदेश सरकारको ध्यान नगएको मेयर बलदेव चौधरीले बताउनुभयो । नगरपालिकाले क्याम्प नै खडा गरेर करिव २५ हजारको कोरोना परीक्षण गर्न माग गरेको छ । तर त्यसमा केन्द्रबाट जवाफ नआएको मेयर चौधरीले दुखेसो सुनाउन भयो । नगरपालिकाले केन्द्र र प्रदेश सरकारलाई पत्र पठाएर संक्रमित क्षेत्र भुल्केको साथै वडाहरु १, २, ६ र १२ का २५ हजार सर्वसाधरणको स्वाब परीक्षण गरिदिन अनुरोध गरेको छ । ‘प्रदेश र केन्द्र सरकार सुतेर बसेको अवस्था छ’ उहाँले भन्नुभयो, ‘कोरोना चेक जाँच गर्नुपर्ने सामग्री बजारमा सहजै उपलब्ध छैन । पिपिई, थर्मोगन लगायतको सामग्री भेटिएपनि चार गुणा महंगो छ । नगरपालिकाले मात्रै गर्न सक्ने अवस्था छैन । संघीय र प्रदेश सरकारले पनि सक्दैन भने सकिदैन भन्नु पर्यो । होइन भने कोरोना परीक्षण हुनुपर्छ ।’
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले सक्दो प्रयास गरिरहेको छ । जनता वहुमुखी क्याम्पसमा २५ वेड तयार भएको छ । तर त्यतिले मात्र पुग्ने अवस्था छैन । मेयर चौधरीले क्वारेन्टाइनको क्षमता विस्तारका लागि सामाजिक संघसंस्थालाई अपिल गरेको उल्लेख गर्नुभयो । ‘बिरामीलाई राख्न कोठा, कपडा, झुल, त्रिपाल लगायतका सामग्री चाहिन्छ’ उहाँले भन्नुभयो, ‘जुन हामीबाट सम्भव नभएकाले सहयोग मागेका छौँ ।’ यसबाहेक बस्तीमा औषधि छिट्ने, बस्तीलाई सिल गर्ने, नाका बन्द गर्ने, बजार पसल ठप्प पार्ने, सर्वसाधरण तथा सवारी साधनको आवतजावतमा कडाइ गर्ने, सचेतनामुलक प्रचार प्रसारलाई तीव्रता दिने काम भइरहेको मेयर चौधरीले बताउनुभयो ।