काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले समाजवादको लक्ष्यतर्फ उन्मुख हुँदै गएको बताउनु भएको छ । वरिष्ठ नेता खनालले नेकपा स्थपना दिवसको अवसरमा सन्देश दिँदै मुलुकमा अहिलेसम्म भएका परिवर्तन कम्युनिष्ट आन्दोलनको असाधारण उपलब्धी भएको उल्लेख गनुभएको छ ।
‘हामीले करिव ५८ वर्ष लगाएर जनवादी क्रान्ति सम्पन्न गरेका छौं, १० वर्ष लगाएर हामीले देशको संविधान निर्माण गरेका छौं’ उहाँको सन्देशमा उल्लेख छ, ‘संविधान बमोजिम हामीले नेपाल कम्युनिष्ट पार्टी को नेतृत्वमा प्रथम निर्वाचनमार्पmत देशमा केन्द्रीय, प्रदेश र स्थानीय सरकारहरुको गठन गरेका छौं । यसै बिचमा नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला पार्टीहरुलाई एकीकृत गरेका छौं । नेपाल कम्युनिष्ट पार्टीलाई सबभन्दा ठूलो पार्टीका रुपमा स्थापित गरेका छौं र यो पार्टीको नेतृत्वमा समाजवादको लक्ष्यतिर उन्मुख भएर अघि बढिरहेका छौं । यी नेपाली कम्युनिष्ट आन्दोलनका असाधारण उपलब्धि हुन् । यी उपलब्धिमार्पmत राजनीतिक स्थिरता कायम भएको छ र मुलुक बिकास निर्माण, प्रगति र समृद्धि तिर अघि बढिरहेको छ ।’
पूर्व प्रधानमन्त्री खनालले नेकपाले उपलब्धि रक्षा गर्दै मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने प्रष्ट्याउनु भएको छ । ‘यी सबै कुरालाई अघि बढाउने मुख्य नेतृत्व केन्द्र भनेको हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी नै हो’ सन्देशमा भनिएको छ, ‘यो पार्टीलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपले सुदृढ र एकतावद्ध गरेर तथा पार्टीलाई नीति, विधि र पद्धति संगत ढंगले अघि बढाएर मात्र उपरोक्त उपलब्धिलाई निरन्तरता दिन सकिन्छ । तर पार्टीमा अराजकताबादी र नोकरशाही प्रवृति बढ्न थाले र मुलुकलाई अस्थिरता तिर उन्मुख बनाउने राजनीतिक प्रवृत्ति बढ्न थाले भने हामीले प्राप्त गरेका उपलब्धि नै गुम्ने समेत खतरा पैदा हुन्छ ।’
वरिष्ठ नेता खनालले ‘अस्थिरतावादी प्रवृत्तिविरुद्ध एकतावद्ध हुदैं कोरोना भाईरसको महामारीकाविरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता’ रहेको उल्लेख गर्नुभएको छ । ‘महामारी विरुद्ध सफलता पूर्वक संघर्ष गर्न सक्छौं र राष्ट्रलाई तथा मानव जातिलाई बचाउन सक्छौं’ सन्देशमा भनिएको छ, त्यसैले कमरेडहरु पार्टी स्थापना दिवसको उपलक्ष्यमा हामीहरु अझ बढी एकतावद्ध बनौ, ७१ बर्षका उपलब्धिको संरक्षण गरौ, पार्टी एकीकरणका कामलाई दृढता पूर्वक टुंगो लगाऔं, पार्टीका कार्य दिशा नीति र सिद्धान्तका आधारमा पार्टी कामलाई विस्तार गरौं, जनवर्गीय संगठनको एकता र सुदृढीकरणलाई गहिरो बनाऔं र कुनै पनि प्रकारका अस्थिरतावादी प्रवृतिविरुद्ध सिंगो पार्टीलाई एकतावद्ध बनाउदैं र महामारीविरुद्ध संघर्ष गर्दै अग्रगति र प्रगतितिर अघि बढौं ।’