सुखिलाल चौधरीउदयपुर । बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन् । रौतामाइ गाउँपालिका वडानम्बर ३ लाफागाउँका स्थानीयलाई बाघले आक्रमण गरेको हो । भोर्लाबासका ३६ वर्षीय गुणराज राई र ३८ वर्षीय कमल नेपाली बाघको आक्रमणमा परी घाइते भएको वडा सदस्य सर्वजीत राईले जानकारी दिए ।
वडा सदस्य राईका अनुसार भोर्लाबास जंगलमा घाँस दाउराका लागि गएका उनीहरुको बाघसँग जम्काभेट हुँदा बाघले चिथोरेर घाइते बनाएको हो । आक्रमणबाट घाइते राईको हातको नाडीमा गहिरो चोट लागेको छ भने नेपालीको ढाडमा चोट लागेको छ । दुवैलाई बाघले नङ्ग्राले चिथोरेर घाउ बनाएको हो ।
‘हामी दुईजना जंगलमा सँगै थियौं, एक्कासी अगाडि बाघ देखियो’ ‘एक्कासी बाघले घाँटी ताकेर झम्ट्यो, छल्न खोज्दा नाडीमा चोट लाग्यो । कमल लडे र उसको ढाडमा नङ्ग्राले चोट लाग्यो’ राइले वडासदस्यसँग भने ।
घटना ४ दिनअघिको भए पनि लकडाउनका कारण उनीहरुको उपचार गर्न बाहिर लैजान नसकिएको वडा सदस्य सर्वजीत राईले बताए । घरेलु उपचार गरे पनि घाउ दिनदिनै बढ्दै गएको गाउँलेको भनाइ छ ।
गाउँपालिकाले उपचार गर्न सदरमुकाम लैजान भने पनि हिंडाएर अस्पताल पुग्न समस्या हुने देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले उपचारका लागि लैजान एम्बुलेन्सको व्यवस्था गरिदिने आश्वासन दिएपनि उपलब्ध भएको छैन् ।
लकडाउनका कारण मानिसको आउजाउ ठप्प भएपछि बाघ जंगलबाट गाउँ छिर्ने गरेको गाउँले बताउँछन् । बाघले दिनदहाडै स्थानीयको घरपालुवा सुँगुर, बाख्रा, खसी र गाई भैंसीका पाडा र बाछा मार्न थालेकोछ ।