काठमाडौं । मुलुकमा बिहीबार नयाँ दल दर्ता भएको छ । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नेपाल दर्ता भएको हो । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकरण भइ जनता समाजवादी पार्टी नेपाल’ बनेको हो ।
राजपा र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा एकता गर्ने सहमति भएको थियो । सहमतिको भोलि पल्टै बिहिबार बिहान ११ बजेपछि निर्वाद्धन आयोगमा ‘जनता समाजवादी पार्टी नेपाल’ को निवेदन दर्ता भएको हो । दल दर्ता गर्न राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, सरदसिंह भण्डारी, समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लागयतका नेताहरु कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुग्नु भएको थियो ।
दल दर्ताका लागि निवेदन दिएपछि पत्रकारसँग कुरा गर्दै नेता यादवले पार्टी एकीकरण भएको जानकारी आयोगलाई दिइएको बताउनुभयो । पार्टीप्रति असन्तुष्ट भनिएका इस्तियाक राई र रेणु यादवले समेत पार्टीको काम गरिरहेको उहाँले बताउनुभयो । यादवले नयाँ पार्टीको पदाधिकारी गठन गर्ने कार्य समेत छिटै टुंगिने जानकारी दिनुभयो ।
त्यस्तै राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पुरा गर्ने बताउनुभयो । उहाँले एकवर्ष देखिको प्रक्रियालाई टुङ्गोमा पु¥याएको बताउनुभयो । महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी रक्षाका लागि राजपा र समाजवादी पार्टीलाई फुटाउन कसरत गरिरहेकाले आरोप लगाउँदै आफूहरु त्यसबाट जोगिन सफल बताउनुभयो ।
‘समाजवादी पार्टी र राजपा भनेको एकीकृत भइरहेको अवस्थामा एकतापद्ध भएर शक्ति निर्माण गर्नुपर्ने अवस्थामा कहाँ फुटाउने कुरा गरेको प्रधानमन्त्रीले’ उहाँले भन्नुभयो, ‘यो सरकारले अनि हामी चाहिं त्यो एकता प्रक्रियालाई टुङ्ग्याइदिनु पर्छ भनेर हिजो राति बसेर दुई वटै पार्टीका उपलब्ध नेताहरु बसेर एकता प्रकृयालाई टुङ्ग्याएका छौं । राजपा र समाजवादी पार्टी, जनता समावजादी पार्टी नेपालको नाउँमा हामी एकिकृत भएका छौं । र त्यो जानकारी हामी निर्वाचन आयोगलाई दिन आएका छौं ।’ उहाँले सरकारले नै लकतन्त्रमाथि आक्रमण गरेको बताउनुभयो । लोकतन्त्र विरोधि, तानासाही र एकदलिय तानासाहलाई निरंकुश लादने गरी विधेयक ल्याइएको र त्यसलाई तत्काल फिर्ता गर्न सरकारलाई चेतावनी समेत दिनुभयो ।
पार्टी एकीकरण पछि बनेको नयाँ पार्टीको झन्डा यसअघि समाजवादीले प्रयोग गर्दे आएको नै हुने भएको छ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता रहने सहमति पनि दुई पार्टीबिच भएको छ । यस्तै नेताहरुको कार्यविभाजन पनि छिटै सहमतिमा टुंगो लगाउने नेताहरुले बताएका छन् । नयाँ दल दर्ताका लागि निवेदन दिइएपनि कानुनी मान्यता पाउन बढीमा ४५ दिन लाग्नेछ ।