तीर्थ न्यौपाने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष के.पी ओलीले विहीबार दिउँसो १२ बजे पार्टी मुख्यालयमा भएको संसदीय दलको बैठकमा सांसदहरुलाई बैठक तथा बिशेष समारोहमा आउँदा सधै साडी र दौरा सुरुवाल लगाउन निर्देशन दिए । त्यसको केहीबेरमा अध्यक्ष ओली मुलुकको प्रधानमन्त्री नियुक्त भए । ओली प्रधानमन्त्री बनेपछि एमालेका सांसदहरु सबै प्रफुल्ल बने ।
दिउँसो साढे ४ बजे राष्ट्रपति कार्यालय सितल निवासमा नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण कार्यक्रम तय गरिएको थियो । वरिष्ठ नेताद्य माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु ओलीसँगसँगै सितल निवास पुगेका थिए । प्रधानमन्त्री ओली निकट भनेर चिनिएका नेता तथा सांसदहरु शपथ कार्यक्रममा प्रायः दौरा सुरुवालमै ठाँठिएर पुगेका थिए, त्यसरी गएकाहरु मध्ये केहीमा मन्त्री बन्ने आश समेत थियो । तर अन्य केही सांसदहरु भने अनौपचारिक पोशाकमै पुगेका थिए ।
प्रधानमन्त्री ओलीको शपथ भन्दा केही घण्टाअघि कुनै टेलिभिजनमा थिए, लालबाबु पण्डित । टेलिभिजनमै रहेको बेला उनलाई अकस्मात् कसैको फोन आयो । मोरङ ६ बाट प्रतिनिधिसभा सदस्य बनेका पण्डितलाई फोनबाट भनियो ‘तपाईलाई मन्त्री बनाइदैछ, छिटो राष्ट्रपति कार्यालय आउनुस् ।’ सामान्य दाैरा सुरुवालमै रहेका पण्डितले आफूसँग घनिष्ट रहेका गाडीवाल साथीलार्इ सित्तल निवास पुर्याइदिन आग्रह गरे । अन्तत उनी साथीको गाडीमा सितल निवासतिर हानिए । सितल निवास पुग्नु अगावै उनको मोबाइलमा २० भन्दा बढी घण्टी बजिसकेको थियो । सितल निवास पुगेपछि उनलाई शपथकाे लागि तयार हुन भनियो । अनि उनी शपथको लागि प्रधानमन्त्रीसँगै मञ्चमा गए । त्यसबेलाले ठानिरहेका थिए ‘मलार्इ कुनै बिना बिभागीय मन्त्री बनाउने होला’ । तर उनलाई जनसंख्या तथा वातावरण मन्त्री भनेर बोलाइयो र त्यही अनुसारको शपथ खुवाइयो । शपथपछि मन्त्री लालबाबुले प्रधानमन्त्री ओलीसँग भने ‘म त छक्क परे’ । पण्डितलाई ओलीले यसरी मन्त्री बोलाउलान् भन्ने एक रति पनि विश्वास थिएन ।
अघिल्लो पटक सुशील कोइराला नेतृत्व सरकारमा सामान्य प्रशासन मन्त्री हुँदा उनी निकै चर्चामा आए । सुशीलको पालामा उनले गरेको कामको सर्वत्र प्रशंसा भए पनि त्यस लगत्तै ओली प्रधानमन्त्री हुँदा भने उनी मन्त्रीमण्डलमा परेनन्। मन्त्रीबाट छुटकारा पाए पछि उनी पार्टीको कुनै जिम्मवारी माग्ने उदेश्यले प्रधानमन्त्री ओली कहाँ पुगे । अनि भने प्रधानमन्त्री ज्यू मलाई कुनै जिम्मेवारी दिनुस् ।’ पण्डितको कुरा सुनेपछि प्रधानमन्त्री ओली एकछिन घोत्लिए, अनि टेबुल छेउमा रहेको पार्टीकाे विधानसहित २, ३ वटा पुस्तक हातमा थमाउँदै भने ‘मन्त्री भएदेखि केही पढ्न भ्याउनु भएको छैन होला, अहिले पार्टीको नियम, नियमावलीहरु पनि केही परिमार्जन भएका छन्, लौ पढ्नुस् ।‘
प्रधानमन्त्री ओलीको स्वभाव र शैलीबाट पण्डित अचम्म परे । अनि ओलीले दिएका तिनै दस्तावेज र किताब हातमा च्यापेर तिनकुनेस्थित कोठामा फर्किए । त्यसबेला देखि उनलाई ओलीको स्वाभाव पटक्कै मन परेको थिएन । उनी ओलीप्रति विश्वस्त पनि थिएनन । निकट हुन पनि चाहेनन् तर विहीबारको घटनापछि भने उनी दंग परेका छन् । अब भने प्रधानमन्त्री ओलीप्रति पूर्ण रुपमा विश्वस्त भएका छन् ।
विहीबार पण्डितलाई मात्र होइन, अर्का सांसद थममाया थापालाई पनि त्यस्तै भयो । म्याग्दीबाट प्रतिनिधिसभा सदस्य भएकी थापा प्रधानमन्त्रीको शपथ हेर्न राष्ट्रपति कार्यालय सितल निवास पुगेकी थिइन् । कार्यक्रममा उनी खास्टाे ओढेर बसेकी थिइन् । सितल निवास पुगेको केहीबेरमा त्यहाँका कर्मचारीले उनलाई पूर्वमन्त्रीहरू बस्ने रोहवरमा बसाए । त्यसको केहीरमा मन्त्रीको शपथको लागि तयार रहन जानकारी गराइयो । अकस्मात् शपथको लागि बोलाइएपछि उनले सांसद निरु पालको कोट मागिन , अनि त्यही कोट लगाएर शपथ लिन मञ्चमा गइन् । उनलाई महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भनेर बोलाइयो र त्यही अनुसारकाे शपथ गराइयो ।
उनीहरु माधव नेपाल पक्षका भनेर चिनिदै आएका थिए । त्यही कारणले मन्त्री हुने संभावना नै देखेका थिएनन् । तर अकस्मात् मन्त्री बनाएर पण्डित र थापालाई प्रधानमन्त्री ओलीले सरप्राइज थिए । त्यो सरप्राइजले उनीहरू मात्र हाेइन, माधव नेपाल पक्षका धेरै अचम्म परेका छन् । त्यही कार्यक्रममा दौरा सुरुवालमा सजिएर उपप्रधानमन्त्रीका लागि तम्तयार भएका महासचिव ईश्वर पोखरेल र मन्त्रीको आशमा चिटिक्क परेर गएका साँसद रवीन्द्र अधिकारी भने लुरङलुरुङ फर्किए । त्यो प्रधानमन्त्री ओलीको अर्को सरप्राइज बन्यो ।
त्यस्तै पश्चिमतिर रहेका सचिव प्रदीप ज्ञवालीलाई पनि विहीबारै ‘ काठमाडौ आउनु’ भनिएको थियो । अध्यक्षले बोलाएपछि मन्त्रीकै लागि होला भनेर सचिव ज्ञवालीले तत्कालै काठमाडौं फर्कने योजना बनाए तर भैरहवाबाट जहाज नउडेपछि उनी विहीबर काठमाडौ आउन सकेनन् । ज्ञवाली गाडीबाटै काठमाडौतिर फकिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो शपथसँगै एमालेबाट २ जनालाई मन्त्री बनाए पनि माओवादी केन्द्रबाट भने अहिलेसम्म एक जना पनि परेनन् । माओवादीबाट मन्त्रीमण्डलमा को को जाने भन्ने निर्णय भइनसकेको हुनाले पहिलो शपथमा सहभागी नभएको बताइएको छ ।