प्रकाश गौतम रुकुम (पश्चिम) । रुकुम पश्चिमका स्थानीय तहले लकडाउनका करण विभिन्न ठाउँमा अलपत्र परेका मजदुरको उद्धार कार्य शुरु गरेको छ । जिल्लाभन्दा बाहिर रहेर काम गरिरहेका मदजुरहरु लकडाउनले अलपत्र परेपछि स्थानीय तहले उद्धार गर्न शुरु गरेको हो ।
जिल्लाका ६ वटा स्थानीय तहले झन्डै एक हजार मजदुरको उद्धार गर्न लागेका छन् । लकडाउनका कारण काठमाडौँमै अलपत्र परेका रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका ४३ जना विद्यार्थी र श्रमिकहरु बुधबार गाउँ आइपुगेका छन् । पूर्व गृहमन्त्री एव प्रतिनिधी सभा सदस्य जनार्दन शर्मा प्रभाकरको पहलमा र आठविसकोट नगरपालिकाको समन्वयमा उनीहरुलाई बुधबार बेलुका राडीसम्म ल्याइएको हो । उनीहरु बुधबार बेलुकी बसमा नगरपालिका पुगेका हुन् ।
यसैबीच मजदुरीका लागि गोरखा गएका र लकडाउनका कारण घर आउन नपाइएका १ सय २० जना श्रमिक दुई वटा गाडिमा दाङ्ग आइपुगेका र साँझसम्म नगरपालिका आइपुग्ने नगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक गोरख बहादुर कामीले जानकारी दिनुभयो ।
चौरजहारी नगरपालिकाको पहलमा पनि बिहीबार २ वटा गाडी विभिन्न जिल्लामा अलपत्र परेका मजदुरको उद्धार गर्ने गरी पठाइएको छ । एउटा गाडी दाङ्ग लपही हुँदै नेपालगञ्जको लागि पठाइएको छ भने अर्काे गाडी काठमाडौँ पठाइएको सुचना प्रविधि अधिकृत रविन ओलीले बताउनुभयो । उहाँका अनुसार ३ वटा गाडिमा उतै काठमाडौँबाट १८५ जना मजदुर बिहिबार र शुक्रबार बिहान नगरपालिकामा आइपुगेका छन् ।
मुसिकोट नगरपालिकाले एक सय ७ जना मजदुरको काठमाडौंबाट उद्धार गर्दैछ । जसका लागि नगरपालिकाले बिहीबार नै दुईवटा गाडी काठमाडौँ पठाएको छ । अलपत्र परेका अन्य मजदुर सम्पर्कमा आएमा उनीहरूको समेत उद्धार गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले जानकारी दिनुभयो ।
जिल्लाको सानीभेरी गाउँपालिकाले मजदुरको उद्धारका लागि बुधबार पाँचवटा गाडी विभिन्न जिल्लामा पठाएको थियो जसमध्ये २ वटा गाडी आइपुगेका छन् । प्रारम्भिक तथ्याङ्क अनुसार २ सय १२ जना मजदुरमध्ये ६५ जना मजदुर गाँउपालिकामा आइपुगका छन् । अध्ययनका लागि गएका विद्यार्थीको डाटा संकलनको काम पनि साँभ सम्म सकियो भने घर आउन चाहने विद्यार्थीका लागि शनिबार गाडी पठाउने तयारी भइरहेकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपालसिंह विष्टले जानकारी दिनुभयो ।
बाँफीकोट गाउँपालिकाले एक सय ३५ जना अलपत्र मजदुरको उद्धार गरिरहेको जानकारी गराएको छ । पहिलो चरणमा गाउँपालिकाले बिहीबार दुईवटा गाडी काठमाडौँ, धादिङ, चितवन र कपिलवस्तुमा अलपत्र परेका मजदुरको उद्धारका लागि पठाएको थियो र त्यहाँबाट पनि फर्किसकेका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताउनुभयो ।
जिल्लाको त्रिवेणी गाउँपालिकाले पनि मजदुरको उद्धारका लागि बिहीबार गाडी पठाएको छ । सम्पर्कमा आएका ७५ जना मजदुरको रामेछाप, काठमाडौँ, दाङलगायतका जिल्लामा गाडी पठाइएको प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले जानकारी दिनुभयो ।