कविता खड्का भोजपुर । भोजपुरका कोरोना संक्रमण फेला परेका युवक विभिन्न ठाउँमा घुमफिर गरेको खुलेको छ संक्रमित युवा गएको फागुन ३० गते साउदी अरबबाट काठमाडौँ आएका थिए । उनी त्यहाँबाट चैत ११ गते हतुवागढी आइपुगेका हुन् ।
त्यसबीचमा उनी चतराबाट बसमा चढेर परिवारसहित धरानस्थित मामाघरमा समेत पुगे , अनि केही दिन त्यही बसे । धरान बस्दा उनी समान किन्नको लागि विभिन्न पटक त्यहाँको बजार चहारे । चतरामा उनको डेरा थियो । उनी ८ दिन सुनसरी रहे । सुनसरी बस्दा इटहरी साथीहरुसँग घुमे । त्यसपछि उनी उदयपुरको मैनामैनीस्थित ससुरालीतर्फ लागे । उनी ससुरालीमा २ दिन बसे । ससुरालीबाट चैत ११ गते मोटरसाइकल चढेर आफ्नो गाउँसम्म आएका हुन् ।
उनी भलिबलका सौखिन छन् । यसबीचमा उनी विभिन्न ठाउँमा भएको भलिबल प्रतियोगितामा सामेल भएको समेत खुलेको छ । गाउँमा रहँदा उनी विभिन्न ठाउँको भोजमा समेत सहभागी भएको पाइएको हतुवागढी गाउँपालिकाका प्रवक्ता कुमार विष्टले जानकारी दिनुभएको छ । गाउँमा बस्दा मलामी गएको समेत खुलेको छ । विदेशबाट आएको लामो समयसम्म उनी केही प्रवाह नगरी बसे ।
गाउँ फर्केको धेरै दिनपछि विदेशबाट आएका सबैको स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने सूचना पाएपछि बल्ल गाउँपालिकामा सम्पर्क गरेका हुन् । उनी विदेशबाट आएका अन्य १० जनासँगै सम्पर्कमा आएका हुन् । विदेशबाट आएकालाई आरडिटीको लागि वैशाख ९ गते गाउँपालिकाको स्वास्थ्य केन्द्रमा बाेलाइएको थियो । त्यसपछि बल्ल उनी विदेशबाट आएका अरुसँगै विहानै गाउँपालिकाले बोलाएको ठाउँमा पुगेका हुन् ।
त्यसदिन गाउँपालिकाको स्वास्थ्य केन्द्रमा ११ जनाको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आयो । त्यसपछि फेरि आरडिटी चेक गरियो । तर दुवै पटक रिपोर्ट पोजेटिभ आयो । त्यसपछि उनको स्वाव संकलन गरेर विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाएको थियो । त्यहाँ परीक्षण गरेपछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
उनलाई कोरोना लागे पनि लक्षण भने देखिएको थिएन । कोरोना संक्रमण भए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ । उनीमा कोरोना संक्रमण देखिएपछि उनको संगतमा रहेका २० जनाको पनि पिसिआर गर्ने तयारी भइरहेको गाउँपालिका प्रवक्ता बिष्टले जानकारी दिनुभएको छ ।