काठमाडौं । नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा सादगी नेता मनमोहन अधिकारीको आज २१ औं स्मृति दिवस । कोरोना कहर र लकडाउनको कारण स्मृति दिवस औपचारिक कार्यक्रम गरी मनाउने अवस्था छैन् । तर विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत मनमोहन अधिकारीलाई सम्झिएका छन् । अधिकारीले मुलुक र कम्युनिष्ट आन्दोलनमा गर्नुभएको योगदान स्मरण गरिरहेका छन् ।
गरिब, निमुखा नेपालीको ह्रदयमा बस्न सफल, इमान र निष्ठाका पर्याय बन्नु भएकाे छ , मनमोहन अधिकारी । 'मेरो सम्पूर्ण जीवन राष्ट्रलाई' भन्दै जिन्दगी राजनीतिमै व्यतित गर्नुभएका अधिकारीको २०५६ सालको संसदीय निर्वाचनको क्रममा वैशाख १३ गते निधन भएको थियो । नेकपा एमालेकाे नौ महिने शासनकालमा अधिकारी आफ्नो गाउँ आफै बनाऔं, वृद्धभत्ता जस्ता लोकप्रिय र जनप्रिय कार्यक्रमबाट जनजनको मनमा स्थापित हुनुभएको थियो ।
२०४६ सालको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहनुभएका अधिकारी त्यसबेला नेकपा (मार्क्सवादी) को अध्यक्ष हुनुहुन्थ्यो । बहुदलीय व्यवस्थाको आगमनसँगै नेकपा (माले) र मार्क्सवादीबीच एकता भयो । अधिकारी एकतापछि बनेको नेकपा (एमाले) को अध्यक्ष बन्नुभयो ।
२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उहाँ प्रधानमन्त्री हुनुभयो । उहाँको नेतृत्वमा सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो, जुन नेपालको इतिहासमा ९ महिने सरकारको रूपमा चिनिन्छ ।
जीवनशैली र योगदानराजधानीको लाजिम्पाटमा जन्मनुभएका मनमोहन अधिकारी भारत बसाइका क्रममा कम्युनिस्ट आन्दोलनमा जोडिनुभयो । सन् १९३८ मा वाराणसी अध्ययन गर्नको लागि पठाइएका अधिकारीले भारत छोडो आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । भारत छोडो आन्दोलनमा सक्रियताका कारण ब्रिटिश सरकारले गिरफ्तार गरेर जेल पठाएपछि अधिकारीको अध्ययन बिचैमा रोकिन पुग्यो ।
भारतमा रहँदा भारतीय कम्युनिस्ट पार्टीमा सामेल हुनुभएका अधिकारी नेपाल फर्केपछि विराटनगरको एक कारखानामा काम गर्न थाल्नुभयाे र ट्रेड यूनियनको नेता बन्नुभयाे । सन् १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नेमध्येका एक मनमोहन बंगलादेशको स्वतन्त्रता आन्दोलनको क्रममा पनि पक्राऊ पर्नुभयो ।
सादगी जीवनशैलीका पर्याय मनमोहन कम्युनिष्ट नेता मात्रै नभइ एक प्रजातान्त्रिक योद्धा हुनुहुन्थ्यो । विश्वको इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री भएपनि मनमोहनको जीवनशैली आम मानिसभन्दा पृथक थिएन । नेपालको इतिहासमा सबैले सधैं सम्झिने गरेको २०५१ को ९ महिने सरकारका दीर्घकालीन परिणामले नेपालीजनमा मनमोहनप्रतिको श्रद्दा कहिल्यै नमेटिने गरी बसेको छ ।
नेपाली कम्युनिष्ट आन्दाेलनका अग्रणी व्यक्तित्व अधिकारीको भूमिका २०४६ को जनआन्दोलनमा पनि अनुकरणीय रहेको छ । तत्कालिन समयमा नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण पछि बनेको नेकपा एमालेको संस्थापक अध्यक्ष बन्नुभयो। अधिकारीले राजनीतिमा जीवनभर सादा जीवन र उच्च विचार अंगीकार गर्नुभयो र आफ्नो जीवन राष्ट्रलाई सुम्पनु भयो ।