सर्लाही । जिल्लाको उत्तरी भेगमा शुक्रबार साँझ हावाहुरीसहित परेको असिना पानीले किसानका बाख्रा र कुखुरा मरेका छन् । जंगलका गाई–बाख्रा चराउन गएका गोठाला असिनाको चुटाईबाट घाइते भएका छन् ।
असिनाले लालबन्दी नगरपालिका वडा नम्बर १२, १३, १४, १५ र १६ मा केरा, मकै, आँप, तरकारी खेती लगायत विभिन्न बालीमा क्षति पुर्याएको छ । असिनाले खपडा तथा टाली, एलबेस्टरले छाएका घरको छानोमा समेत क्षति पुर्याएको छ । हावाहुरीका कारण दर्जनौँ घरका छाना उडाएको छ । केहीको घरगोठ नै भत्काएको छ । असिनाले ईश्वरपुर नगरपालिका वडा नम्ब्र १२ मा समेत क्षति पुर्याएको त्यहाँका बासिन्दाले जनाएका छन् ।
हावाहुरी र असिनापानीमा परेर लालबन्दी नगरपालिका–११ मा घाइते भएका छन् । असिनाले चुट्दा खेतमा काम गरिरहेका ६० वर्षीया जेसुनमाया घिसिङ र घरको जस्ता खसेर लाग्दा ७० वर्षीय लालबहादुर ब्लोन घाइते हुनुभएको वडाध्यक्ष दीपककुमार लामाले जानकारी दिनुभयो । घाइते जेसुनमायाको स्थानीय मेडिकलमा उपचार भइरहेको वडाध्यक्ष लामाले बताउनुभएको छ ।
असिनाको कारण केही ठाउँमा बिजुलीका पोल ढलेका छन् । पोल ढल्दा विद्युत् प्रसारण अवरुद्ध भएको छ । बसबरिया गाउँपालिकामा समेत असिनाले क्षति पुर्याएको वडा नम्बर १ का अध्यक्ष शिवकुमार यादवले जानकारी दिनुभयो ।
‘लकडाउनको समय छ । खानेकुरा साँच्नुपर्ने बेला हुर्कंदै गरेको बाली र फलेको तरकारीमा असिनाले क्षति पुर्यायो’, उहाँले भन्नुभयो, ‘आँप, मकै र तरकारी बालीमा क्षति पुर्याएपछि यस भेगका किसान चिन्तित बनेका छन् ।’ असिनाले बसबरिया गाउँपालिकामा बाली नाेक्सान गरेकाे वडाध्यक्ष यादवले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार असिना पानीले किसानका आँप, मकैबाली र तरकारीमा ठूलो क्षति पुर्याएको छ । आँप, मकैबाली र तरकारीमा क्षति पुर्याएपछि किसान चिन्तित भएका छन् ।