काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि तिब्बतले नेपाललाई अनुदानमा दिएको ्८ करोड ३१ लाख बराबरको स्वास्थ्य सामग्री तातोपानीबाट भित्रिएको छ । तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्री्ले स्वास्थ्य सामग्री आइसकेको जानकारी दिनुभएको छ ।
भन्सार प्रमुख खत्रीका अनुसार एन–९५ पिसिआर मेसिन दुई थान, टेष्टिङ किट २० हजार थान, मास्क ७२ हजार पाँच सय थान, डिस्पोजेबल मास्क १२ हजार थान, स्यानिटाइजर २६ हजार ७ सय ३२ लिटर, पञ्जा तीन हजार नौ सय थान र पिपिई २१ हजार २६० थान नेपाल भित्रिएको छ । एक हजार थान प्रोटेक्टिभ चश्मा, २० हजार ८ सय थान डिस्पोजेबल शु–कभर, ५ हजार ८ सय थान फेससेइल्ड र ४३० थान मेडिकल वेड म्याट्रिक्स पनि आएका छन् ।
१० हजार थान एन–९५ मास्क, दश हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पिसिआर मेशिन, दश हजार थान टेष्टिङ किट र पचास थान वेट वाइपबाहेक अन्य स्वास्थ्य सामग्री निजी क्षेत्रले खरीद गरेका हुन् ।
चीनमा कोभिड –१९ को संक्रमण बढेपछि गएको माघ १३ गतेदेखि बन्द तातोपानी नाका चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सामान ल्याउन खोल्ने निर्णय गरेको थियो । नाका खोल्ने निर्णय भएको दुई सातापछि अर्थात् चैत २६ गते निजी क्षेत्रले खरीद गरेको स्वास्थ्य सामग्री नेपाल भित्रिएको थियो ।