काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरण सम्बन्धी कसुरमा संलग्नमाथि मुद्दाको जाहेरी लिन अस्वीकार गरेको आरोप लगाएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदद्वय महेश बस्नेत, तथा किसान श्रेष्ठ र पूर्व प्रहरी निरीक्षक सर्वेन्द्र खनालविरुद्ध मुद्दाको जाहेरी लिन प्रहरीले अस्वीकार गरेको आरोप जसपाले लगाएको हो ।
जसपाका सांसद सुरेन्द्र यादवले पार्टीका अन्य नेतासहित आफूलाई अपहरण गरेको भन्दै आइतबार महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिन पुग्नुभएको हाे। प्रहरीले जाहेरी नलिएपछि नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जाहेरी दर्ता नलिनुले राज्य नै अपराधीकरणमा गइसकेपछि नागरिकको जीवन रक्षा कसरी हुन्छ भन्ने गम्भीर प्रश्न उठेको बताउनुभयो । उहाँले देशमा घटेको ठूलो घटना जुन सरकारवादी मुद्दा बन्छ उक्त विषय दर्ता समेत हुन नसक्नुले आफ्नो भन्नु केही नरहेको बताउनुभयो ।
‘देशमा यति ठूलो घटना अहिलेको बहालवाला प्रतिनिधि सभा सदस्य सांसदलाई सरकार र देशका कार्यकारी प्रमुखको निकट रहेका मानिसहरु र पूर्व प्रहरी प्रमुखको संलग्नतामा जुन अपहरण जस्तो अत्यन्त जघन्य प्रकृतिको घटना घट्यो त्यो स्वतह नै हाम्रो कानुन अनुसार सरकाराविरुद्ध मुद्दा बन्छ र प्रथम दृष्टिमा नै स्वतः नै यति चर्चा परिचर्चा भइसकेपछि त्यसबारे कुनै जाहेरी नलिइकन राज्य आफैले यो विषयमा मुद्दा अगाडि बढाउन सक्छ’ उहाँले भन्नुभयो, ‘सामान्य तरिका त्यो हो । तर त्यस्तो हुन्थ्यो भने यो समस्या नै आउँदैनथ्यो । यो अहिले हामी प्रहरीलाई दोषारोपण गर्न चाहँदैनौं । उहाँहरुको बाध्यता छ । उहाँहरुलाई आदेश छ । त्यसैले उहाहरुले बुझ्दा बुझ्दै पनि कानुनको पालना गर्न सकिराख्नु भएको छैन । त्यसैले यो घटना अझ गम्भिर बनेर गएको छ ।’र्
अपहरणमा परेका भनिएका सांसद यादवले घटना भएरपछि नजिकको प्रहरी चौकीमा गएर जानकारी गराउनुपर्ने भएपनि आफूहरु जाहेरी दिन आउँदा दर्ता नगरिएको बताउनुभयो । प्रहरी परिसरले यादवको घटना महोत्तरीमा भएको भन्दै महोत्तरी प्रहरी कार्यालयमा जाहेरी दिन वा कानुनले दिएका अन्य उपाय अवलम्बन गर्न आग्रह गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनुभयो ।
समाजवादी पार्टी फुटाउने योजनासहित गत बुधबार नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्व आइजिपी खनालले समाजवादी पार्टीका सांसद यादवलाई काठमाडौं ल्याएका थिए । काठमाडौंमा उनलाई मेरियट होटलमा राखिएको थियो । बिहीबार बिहान उनी होटलबाट फुत्किएर पार्टी सम्पर्कमा पुगेका थिए । यादव सँगै जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारी पनि टेकु पुग्नुभएको थियो ।