काठमाडौं । सरकारले निजी प्रयोगशालाबाट पनि कोरोना भाइरस (कोभिड—१९) परीक्षण गर्ने बाटो खोलेको छ । परीक्षण सम्बन्धी मापदण्ड निर्देशिका जारी गर्दै सरकारले कोभिड—१९ परीक्षण निजी प्रयोगशालाले पनि गर्न सक्ने बाटो खोलेको हो ।
सरकारले बनाएको मापदण्ड अनुसार प्रयोशाला निर्माण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट छुट्टै अनुमति लिएर निजी प्रयोगाशालाले परीक्षण गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबारदेखि पिसिआर परीक्षण शुरु भएको छ । यो सँगै नेपालमा विभिन्न १६ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । यसैगरी प्रदेश नम्बर १ ले कोरोना परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।
नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ । अहिले सबैभन्दा बढी वीरगञ्जमा ३१ जना उपचाररत छन् । यसैरी वीरगञ्जमा ३ तथा भरतपुर र कैलालीमा १—१ जना उपचाररत छन् । अहिलेसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले केही ठाउँमा मात्र कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताउनुभयो । कोरोनालाई दोस्रो चरणमा नै सिमित राख्न लक डाउनको पूर्ण पालना र क्वारेन्टाइनमा व्यवस्थापनमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।
सोमबारसम्म ५३ हजार ५ सय ३४ जनाको नमूना परीक्षण भएको छ । पिसिआर विधिबाट १० हजार ४ सय ७१ र आरडिटी विधिबाट ४३ हजार ८३ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ जनाको नमूना परीक्षण गरिएको छ ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा आरडिटी परीक्षण भएको छ । त्यहाँ ११ हजार ९ सय ६१ वटा परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर १ मा ४ हजार ५ सय ४५, प्रदेश नम्बर २ मा ५ हजार २ सय ८ र बागमती प्रदेशमा ७ हजार ६ सय २६ वटा परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार ९ सय २४, प्रदेश नम्बर ५ मा ३ हजार ४ सय ७१ र कर्णाली प्रदेशमा ५ हजार १ सय २८ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
अहिले २० हजार १ सय ९५ जना देशभरी क्वारेन्टाइनमा छन् । उपत्यकामा ८ र बाहिर ९८ सहित १ सय ६ जना आइसोलेसनमा उपचाररत छन् ।