खोटाङ । काठमाडौंबाट उद्धार गरी ल्याइएकाहरु क्वारेन्टाइनमा बस्न नमानेपछि पक्राउ गरिएको छ । होम क्वारेन्टाइनमा बस्ने सर्तमा जिल्ला ल्याएपछि सर्त पूरा नगरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्त गरेर घर ल्याइएकामा सर्त पूरा नगर्ने तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय हलेसीले जानकारी दिएको छ ।
घरबाट निस्केर डुलिरहने, मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्दै हिँडेको अवस्थामा वडा–४ बडहरेका २० वर्षीय एक युवकलाई गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेलले बताउनुभयो ।
गत शनिबार वडा नम्बर–८ धितुङका दुई युवतीले पनि होम क्वारेन्टाइन उलङ्घन गरेकामा पक्राउ परेका थिए । पक्राउ परेका १७ वर्षीया र २१ वर्षीया दुई युवतीलाई वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा १६ दिनका लागि राखिएको छ ।
बन्दाबन्दीका कारण काठमाडौँबाट घर फर्कन नपाएकालाई नगरपालिकाले गत बिहीबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर एक हजार २६७ जनालाई घर फर्काएको थियो ।
ती नगरवासीलाई १४ दिनसम्म होम क्वारेन्टाइन बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका दश बुँदे कबुलियतनामा गराएर ल्याइएको नगरप्रमुख इवन राईले बताउनुभयो ।