काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा विसका देवकोटाले बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतको दिल्लीबाट आएका ३१, ४३ र ४६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएकाे जानकारी दिनुभयो ।
प्रवक्ता देवकोटाका अनुसार बाराका २ र पर्साका १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको नारायणी अस्पतालमा उपचाररत भइरहेको छ ।सिमराको क्वारेन्टाइनमा रहेको उनीहरुको बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । अहिले विराटनगरमा ३१, वीरगञ्जमा ८ तथा धनगढी र भरतपुरमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । १६ जना संक्रमित व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म देशभरी पिसिआर विधिबाट ११ हजार ५ सय २४ जनाको नमूना परीक्षण गरिएको छ । आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा २ हजार ३ सय ६७ परीक्षण भएका छन् ।
प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश नम्बर २ मा ५ हजार २ सय ९८, बागमती प्रदेशमा ८ हजार २ सय १७ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । यस्तै गण्डकी प्रदेशमा ५ हजार ३ सय ४३, प्रदेश नम्बर ५ मा ३ हजार ६ सय ७१, कर्णाली प्रदेशमा ५ हजार २ सय ६९ र सुदूरपश्चिममा १२ हजार ९ सय ८६ आरडिटी परीक्षण भएका छन् ।
अहिले २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी प्रदेश नम्बर ५ मा १२ हजार ५ सय १५ जना क्वारेन्टाइनमा छन् । काठमाडौं उपत्यकामा ४ र बाहिर ८३ गरी ८७ जना आइसोलेसनमा उपचाररत छन् ।